३२ प्रतिशत बढ्यो कामना सेवा विकासको नाफा, वितरण योग्य नाफा साढे १७ करोड, इपिएस कति ? « Arthapath.com
४ माघ २०८०, बिहीबार

३२ प्रतिशत बढ्यो कामना सेवा विकासको नाफा, वितरण योग्य नाफा साढे १७ करोड, इपिएस कति ?



काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा दोहोरो अंकले वृद्धि भएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरणअनुसार चालु आवको पुस मसान्तसम्ममा बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३२.१९ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा बैंकले १९ करोड ५९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि नेट फि तथा कमिसन र संचालन नाफा बढेको छ, जसले गर्दा खुद नाफा वृद्धिमा टेवा पुगेको देखिन्छ ।

पुस मसान्तसम्ममा बैंकको नेट फि तथा कमिसन २५.६६ प्रतिशत बढेर १२ करोड ३२ लाख र संचालन नाफा ३२.२४ प्रतिशत बढेर २१ करोड १९ लाख ९७ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १७ करोड ४५ लाख २७ हजार रुपैयाँ पुगेकोछ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ कायम भएको छ । बैंकले जगेडा कोषमा पनि १ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ राखेको छ ।

बैंकको निक्षेप संकलन पनि ५.२८ प्रतिशत वृद्धि भई ५६ अर्ब २९ करोड ६४ लाख पुगेको छ । तर, कर्जा पवाह भने झिनो (०.३० प्रतिशत) वृद्धि भई ४३ अर्ब ९८ करोड २६ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको खराब कर्जा पनि सुधार भएको छ । गत वर्षको दोस्रो त्रैमासमा ३.७० प्रतिशत रहेको यस्तो कर्जा यो वर्षको सोही अवधिमा भने ३.४२ प्रतिशतमा झरेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि ३ रुपैयाँ ४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ पनि १५१ रुपैयाँ ६१ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्