बैंकहरुको ब्याज आम्दानी झण्डै १ खर्ब: ग्लोबल, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगाको सबैभन्दा धेरै, कुनको कति ?

काठमाडौं । वाणिज्य बैङ्कहरूले ६ महिनामा ९६ अर्ब बढी ब्याज उठाएका छन् । हाल सञ्चालनमा रहेका २० वटा बैङ्कहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समीक्षा अवधिमा बैङ्कहरूले ९६ अर्ब २९ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरेका हुन् । नाफा घटे पनि बैङ्कहरूको ब्याज आम्दानी भने वृद्धि भएको छ । चालु आवको ६ महिनामा गरेको ब्याज आम्दानी गत वर्षको तुलनामा भने १७.११ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा बैङ्कहरूले ८२ अर्ब २२ करोड १५ लाख रुपैयाँ आम्दानी गरेका थिए ।
विवरणअनुसार धेरै ब्याज आम्दानी ग्लोबल आइएमई बैङ्कले गरेको छ । ६ महिनामा ग्लोबलले ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ ब्याज आम्दानी गरेको हो । जुन गत आवको सोही अवधिको तुलनामा ३८ प्रतिशत हो ।
दोस्रो स्थानमा रहेको नबिल बैङ्कले पनि ८ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैङ्कको यो आम्दानी गत वर्षको तुलनामा भने ५.२३ प्रतिशत मात्रै बढी हो ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले ७ अर्ब ५४ करोड ३८ लाख, हिमालयन बैङ्कले ५ अर्ब ८२ करोड, राष्ट्रिय वाणिज्य बैङ्कले ५ अर्ब ७२ करोड २१ लाख, कुमारीले ५ अर्ब ६५ करोड ८३ लाख, एनआईसी एशियाले ५ अर्ब ५४ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
समीक्षा अवधिमा प्रभु बैङ्कले ४ अर्ब ७६ करोड ६८ लाख, नेपाल बैङ्कले ४ अर्ब ६३ करोड ४० लाख, सिद्धार्थको ४ अर्ब १० करोड ३८ लाख, कृषि विकासले ४ अर्ब ४८ करोड ७३ लाख, प्राइमले ३ अर्ब ८७ करोड ४३ लाख, एभरेष्टले ३ अर्ब ६२ करोड, एनएमबिले ३ अर्ब ७४ करोड २ लाख, सानिमाले ३ अर्ब १ करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।
यता, सिटिजन बैङ्कले २ अर्ब ८३ करोड ९८ लाख, माछापुच्छ्रेले २ अर्ब ६३ करोड ७४ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ६३ करोड १४ लाख र नेपाल एसबिआर्यले २ अर्ब ६५ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।