कर्जा जोखिममा नेपाल बैंक कमजोर, तगडा देखिए स्ट्याण्डर्ड चार्टर्ड, प्राइम र माछापुच्छ्रे « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

कर्जा जोखिममा नेपाल बैंक कमजोर, तगडा देखिए स्ट्याण्डर्ड चार्टर्ड, प्राइम र माछापुच्छ्रे




काठमाडौं । पछिल्लो समय बैंकहरुको निष्कृय कर्जा (एनपीएल) बढेसँगै उच्च दरमा प्रोभिजन राख्नुपर्ने बाध्यता बनेको छ । सम्भावित कर्जा जोखिम बापतको व्यवस्थाका लागि अधिक रकम छुट्याउनु पर्दा बैंकहरुको नाफा र पूँजीकोष दुबै तिर यसले प्रभाव पारेको छ । अधिकांश बैंकहरु लाभांश बाँड्न नसक्ने वा असाध्यै कम लाभांश दिनुपर्ने बाध्यतामा पुगेका छन् ।

खासगरी ठूला कर्पोरेट कर्जा प्रदान गर्ने बैंकहरु अहिले बढी अप्ठेरोमा देखिएका छन् । उनीहरुले अधिकतम अनुपातमा प्रोभिजन रकम छुट्याउनु पर्ने बाध्यता छ । यदी निष्कृय कर्जालाई ढाकछोप वा एभर ग्रिनिङ गरिएको छैन भने कम प्रोभिजन हुनुलाई बैंकको वित्तीय स्वास्थ्यका हिसाबले राम्रो मान्नुपर्छ । भलै यसलाई कुल कर्जाको अनुपातमा कति प्रतिशत प्रोभिजन गरिएको छ भन्ने मानकले मूल्यांकन हुन्छ ।

यद्यपि, दोस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा २० वटा बाणिज्य बैंकहरुको प्रोभिजनको आँकडाले स्ट्याण्डर्ड चार्टर्ड, माछापुच्छ्रे र प्राइम बैंकलाई अरुभन्दा सहज अर्थात् राम्रो हालतमा रहेको देखाएको छ । यी सबै बैंकको प्रोभिजन रकम बाणिज्य बैंकका कुल प्रिमियममध्ये १ प्रतिशत वा त्योभन्दा पनि कम छ । उक्त सूचीमा सरकारी स्वामित्व भएको देशकै पहिलो बैंक अर्थात् नेपाल बैंक सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको देखिन्छ ।

पुस मसान्तमा नेपाल बैंकले २ अर्ब ७ करोड ७२ लाखभन्दा धेरै प्रोभिजन छुट्याएको छ । यो सबै २० वटा बाणिज्य बैंकको कुल प्रोभिजन रकमको तुलनामा ७.६ प्रतिशत हो । तर यसलाई कुल कर्जाको अनुपातमा हेर्ने भने अवस्था भिन्न छ । नेपाल बैंकले कुल कर्जाको १.११ प्रतिशत रकम प्रोभिजनका लागि छुट्याएको छ । यो अनुपात सिंगो बैंकिङ क्षेत्रकै सबैभन्दा उच्च हो ।

धेरै ठूला कर्पोरेट एक्सपोजर भएको उक्त बैंकको कर्जामध्ये ठूलो हिस्सा अहिले जोखिममा धकेलिएको छ । सरकारको बहुमत स्वामित्व भएको नेपाल बैंकलाई छाड्ने हो भने निजी क्षेत्रमा ग्लोबल आईएमई अहिले विषम परिस्थितिमा देखिएको छ । पुस मसान्तको विवरणका आधारमा ग्लोबल आईएमई थुप्रै सूचकांकका हिसाबले देशकै ठूलो बैंक हो ।

ठूला बैंक बढी जोखिममा

२० वट बाणिज्य बैंकले पुस मसान्तसम्म ४४ खर्ब ५३ अर्ब कर्जा प्रवाह गरेकोमा ग्लोबल एक्लैले ३ खर्ब ७८ अर्ब अर्थात् साढे ८ प्रतिशत कर्जा लगानी गरेको छ । त्यही बैंकले कुल कर्जाको १.०९ प्रतिशत अर्थात् ४ अर्ब १३ करोड ६० लाखभन्दा धेरै प्रोभिजनका लागि छुट्याउनु परेको छ । एक दर्जन बैंक तथा वित्तीय संस्था गाभेर विशालकाय स्वरुप धारण गरेको यो बैंक नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नियन्त्रणमा छ । अहिले थुप्रै बैंकहरुले कर्पोरेट कर्जालाई कटौति गर्दै लगेको बेलामा उसले ठूला कर्जाको आकार बढाउँदै गएको छ । यसले उसको कर्जा जोखिमलाई असाधारण रुपमा बढाएको छ ।

कुल प्रोभिजनको अंकमात्रै हेर्ने हो भने त ग्लोबल एक्लैले पुरा ‘इन्डस्ट्रि’मै १५ प्रतिशतभन्दा ठूलो हिस्सा ओगटेको छ । जमबी दोस्रो धेरै प्रोभिजन गर्ने नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको भागमा कुल प्रोभिजनको साढे १० प्रतिशतभन्दा कममात्रै परेको देखिन्छ । कर्जाको आकारका हिसाबले ग्लोबल आईएमई र नबिलले करीब साढे ८ प्रतिशत हाराहारी व्यवसाय ओगटेका छन् । तेस्रो ठूलो बैंक नेपाल इन्भेष्टमेण्ट मेगाले ७.२५ प्रतिशत हिस्सा ओगट्छ । यी तीन बैंकले पुरा बाणिज्य बैंकको करीब एक चौथाई आयतन कब्जा गरेका छन् ।

कुल कर्जा लगानीमा बैंकहरुको हिस्सेदारी :

कुल कर्जामा ७ प्रतिशतभन्दा ठूलो हिस्सेदारी भएका यी तीन बैंकहरु नेपालको प्रणालीगत रुपमै महत्वपूर्ण (सिस्टमेक्लि इम्पोर्टेन्ट) बैंक बनेका छन्, भलै राष्ट्र बैंकले यस प्रकारको कुनै वर्गीकरण गरेको छैन । यी तीन बैंकले मात्रै कुल प्रोभिजनमा झण्डै ३३ प्रतिशत अर्थात् एक तिहाई हिस्सा ओगटेका छन् । निक्षेपको आकारमा दोस्रो ठूलो बैंक भएर पनि नबिलले तुलनात्मक रुपमा आफूलाई बलियो बनाएको उक्त तथ्यांकमा देखिन्छ । उसले कुल कर्जाको ०.५३ प्रतिशत मात्रै प्रोभिजन गरेको छ ।

नेपाल बैंक त खराब हालतमा छ नै, लक्ष्मी सनराइज र कुमारी बैंकको अवस्था पनि नबिलभन्दा कमजोर देखिन्छ । राष्ट्र बैंकले जबरजस्ति मर्जरमा पठाइदिएका यी बैंकहरुलाई पहिले विग्रिएको व्यवसाय सल्टाउन अहिले पनि हम्मेहम्मे परेको छ । लक्ष्मी सनराइजले आफ्नो कुल कर्जाको १.०७ प्रतिशत प्रोभिजन गर्नु परेको छ, यो भनेको नेपाल बैंक र ग्लोबल आईएमई पछि सबैभन्दा उच्च अनुपातको जोखिम व्यवस्था हो । कुमारी बैंकले पनि कुल कर्जाको ०.९७ प्रतिशत प्रोभिजन गरेको छ । यी दुबै बैंकको प्रोभिजन रकम बैंकिङ क्षेत्र (बाणिज्य बैंक)को कुल प्रोभिजनमध्ये १०–१० प्रतिशत हाराहारी छ ।

पुस मसान्तमा २० वटा बाणिज्य बैंकले कर्जा जोखिमका लागि भनेर कुल २७ अर्ब ३७ करोड प्रोभिजन गरेका छन् । यसबीचमा बाणिज्य बैंकहरुले ४४ खर्ब ५३ अर्ब हाराहारी कर्जा लगानी गरेका थिए । यसरी कुल कर्जाको ०.६१ प्रतिशत हाराहारीमात्रै प्रोभिजन भएको देखिएको छ । उक्त औसस सीमालाई आधार मान्ने हो भने हिमालयन, नेपाल इन्भेष्टमेण्ट, कुमारी, लक्ष्मी सनराइज, ग्लोबल आईएमई र नेपाल बैंक सर्वाधिक प्रोभिजन छुट्याउने बैंकहरुमा पर्छन् ।

स्ट्याण्डर्ड चार्टर्ड, प्राइम, एनआईसी एसिया, राष्ट्रिय बाणिज्य बैंक र माछापुच्छ्रेसहित १४ बैंकहरु औसत सीमाभन्दा कम प्रोभिजनमा बसेका छन् ।

बैंकहरुको प्रोभिजन रकम र कुल प्रोभिजनमा उनीहरुको अनुपात :

नोटः यसअघि नेपाल बैंकको तथ्यांक गलत पर्न गएकोमा क्षमायाचना सहित सच्याइएको छ । –सम्पादक ।


प्रतिक्रिया दिनुहोस्