लगानीकर्तालाई निराश बनाउँदै बाणिज्य बैंक, एभरेस्ट र चार्टर्ड बाहेकको लाभांश क्षमता धरासायी « Arthapath.com
१५ माघ २०८०, सोमबार

लगानीकर्तालाई निराश बनाउँदै बाणिज्य बैंक, एभरेस्ट र चार्टर्ड बाहेकको लाभांश क्षमता धरासायी



पुस मसान्तको तथ्यांक अनुसार २० वटा बाणिज्य बैंकमा लगानीकर्ताले ३ खर्ब ७८ अर्ब ६४ करोडभन्दा धेरै लगानी गरेका छन् । अहिले ब्याजदर निकै तल आएको बेलामा पनि तिनै बाणिज्य बैंकले १ वर्षे मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याज दिइरहेका छन् । यदि यो चुक्ता पूँजि बराबरको रकम लगानीकर्ताले तिनै बैंकमा निक्षेप राखेको भए पनि अर्को साल २६ अर्ब ५० करोडभन्दा धेरै ब्याज पाउने थिए ।

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको आँकडाले अधिकांश बाणिज्य बैंकले आगामी पुसमा लगानीकर्तालाई निराश बनाउन सक्ने देखिएको छ । पुस मसान्तको आँकडा अनुसार २० मध्ये ८ बाणिज्य बैंकले धेरथोर वितरणयोग्य नाफा आर्जन गरेका छन् । तर एभरेस्ट र स्ट्याण्डर्ड चार्टर्ड बाहेक कुनै पनि बैंकको वितरणयोग्य नाफा उनीहरुको चुक्तापूँजीको ५ प्रतिशत वा त्योभन्दा बढी हुन सकेको छैन ।

यस बीच एभरेस्टले चुक्ता पूँजीको २०.४४ प्रतिशत र चार्टर्डले १२ प्रतिशत वितरणयोग्य नाफ आर्जन गरेको देखिएको छ । तेस्रो नम्बरमा रहेको नेपाल एसबीआईको नाफा पूँजीको अनुपातमा ४.९ प्रतिशत छ । सानिमा बैंकले ४.८ प्रतिशत र नबिलले ४ प्रतिशतमात्रै लाभांश क्षमता बनाएका छन् । कृषि विकास बैंकले पनि पूँजीको झण्डै ४ प्रतिशत नै वितरणयोग्य मुनाफा कमाएको छ ।

राष्ट्रिय बाणिज्य बैंक र प्राइम कमर्शियल बैंक पनि नाफाको अंकमा धनात्मक त छन्, तर उनीहरुको विद्यमान नाफाले उल्लेख्य रुपमा लाभांश बाँड्न पर्याप्त छैन । यस बाहेकका सबै बैंकहरुको वितरणयोग्य नाफाको हिसाब ऋणात्मक बनेको छ । अव बाँकी ६ महिनामा उनीहरुले ठूलो मात्रामा निष्कृय कर्जा उठाउन सके भनेमात्रै यो परिदृष्य उल्टिने छ । अन्यथा आगामी वर्ष अधिकांश बैंकका सेयर धनिहरु रित्तोहात बस्नुपर्ने भएको छ ।

यी अनुपातहरु पनि पुस मसान्तमा कायम भएको चुक्ता पूँजीको आधारमा तयार पारिएको हो । आगामी असारसम्म कुनै बैंकले कुनै पनि तरिकाले सेयर संख्या बढाए वा चुक्ता पूँजी बृद्धि भयो भने लाभांशको आँकडामा झनै प्रतिकुल प्रभाव पर्ने छ ।

विद्यमान आँकडाहरुले हिमालयन बैंक सबैभन्दा असहज अवस्थामा रहेको देखिन्छ । हिमालयनको वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोडभन्दा धेरै ऋणात्मक छ । यो भनेको चुक्ता पूँजीको २०.८९ प्रतिशत हो । केही समय अघिमात्रै सिभिल बैंकलाई प्राप्ति गरेको हिमालयनले ठूलो परिमाणमा प्रोभिजन राख्नु परेको छ ।

त्यसपछिको खराब हालतमा कुमारी बैंक देखिन्छ । उसको पनि लाभांश बाँड्न पाउने नाफा चुक्ता पूँजीको १४.३८ प्रतिशत ऋणात्मक बनेको छ । अर्थात् यी दुई बैंकहरु ठूलो घाटामा गएका छन् । पूँजीको करीब ८ प्रतिशत ऋणात्मक रहेको प्रभू बैंक तेस्रो स्थानमा छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा र एनएमबी पनि ५ प्रतिशतभन्दा बढीको घाटामा छन् । एनआईसी एसिया, नेपाल बैंक, ग्लोबल आईएमई र लक्ष्मी सनराइज पनि साढे ३ देखि ४ प्रतिशतको घाटामा देखिएका छन् । सिटिजन्स, माछापुच्छ्रे र सिद्धार्थ बैंक भने १.५ देखि २.५ प्रतिशतको साँघुरो घाटामा देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्