पारदर्शी बैङ्किङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्यायोचित हुँदैन: अध्यक्ष पौड्याल « Arthapath.com
१२ फाल्गुन २०८०, शनिबार

पारदर्शी बैङ्किङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्यायोचित हुँदैन: अध्यक्ष पौड्याल



बनेपा । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष तथा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंकिङ सेक्टरमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेको बताए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘बैंकिङ क्षेत्र पारदर्शी छ । पारदर्शी रहेको बैंकिङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्योचित हुँदैन,’ उनले भने, ‘दक्षिण एसियामा नेपालको बैंकिङ क्षेत्र सबल छ । बेला–बेलामा आएका भूकम्प, नाकाबन्दी र कोभिडजस्ता समस्या पनि आए । त्यस्तो परिस्थितिमा केन्द्रीय बैंकले विभिन्न सहज गरिदिएको अवस्था थियो ।’

परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर परेका बेलामा गलत हल्ला फैलाएर बैंकिङ क्षेत्रमाथि प्रहार गर्नु कत्तिको उपयुक्त हुन्छ ? उनले प्रश्न गरे । यस्तो हल्ला चिर्न मिडिया र सरकारले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

उनले देशको अर्थतन्त्रलाई सहयोग गर्ने बैंकिङ क्षेत्रलाई प्रहार गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने बताए । ‘अर्थतन्त्रका इन्डिकेटर तब राम्रो हुन्छ जब सबै क्षेत्रको मनोबल बढ्छ,’ उनले भने, ‘केही व्यक्तिको बैंक डुब्न लागेर भनेर हल्ला गर्दा सर्वसाधारणले बैंकबाट निक्षेप निकालेको अवस्था छ । यस्ता हल्लाले समग्र क्षेत्रको मनोबल गिराउने काम भएको छ ।’


प्रतिक्रिया दिनुहोस्