घट्दै बैंकहरुको बेस रेट: सस्तिँदै कर्जाको ब्याजदर, अब कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ ब्याज ?
काठमाडौं । पछिल्लो समय बैंकहरुको आधार दर (बेस रेट) पनि निन्तर घटी रहेको छ । हाल बैंकहरुको बेस रेट एकल अंकमा आइपुगेको छ । गत माघ महिनाका लागि बैंकहरुले कायम गरेको बेस रेट फागुनमा भने थप घटेको देखिएको छ ।
हाल वाणिज्य बैंकहरुको औसत बेस रेट ९.३४ प्रतिशत कायम भएको छ । यो गत माघ महिनाको तुलनामा भने शून्य दशवलव २१ प्रतिशत घटेको छ । गत माघमा बैंकहरुको बेस रेट औसत ९.५५ प्रतिशत रहेको थियो । आधार दर घटेपछि कर्जाको ब्याजदर पनि सस्तिन थालेको छ । पछिल्लो समय बैंकहरुको प्रदान गर्ने निक्षेपको ब्याजदर पनि घट्दो ट्रेन्डमै छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि घट्दै गएको हो । निक्षेपको ब्याजदर घटेपछि बैंकहरुको लागतमा पनि घटेको छ, जसले कर्जाको ब्याजदर पनि सस्तिन थालेको हो ।
फागुन महिनामा तीन वटा बैंकहरुको मात्रै आधार दर १० प्रतिशत भन्दा माथि छ । तर, यी बाहेकका अन्य १७ वटा बैंकको आधार दर एकल अंकमै अर्थात् १० प्रतिशत भन्दा तल नै छ । गत माघको तुलनामा घटाए पनि हाल हिमालयन, कुमारी र प्राइम कमर्सियल बैंकको आधार दर १० प्रतिशत माथि छ । फागुनमा यी बैंकको आधार दर क्रमश: १०.१३ प्रतिशत, १०.३१ प्रतिशत र १०.३१ प्रतिशत छ । बेस रेटको आधारमा हाल यी बैंकहरुबाट ऋण लिँदा अन्यको तुलनामा महँगो पर्ने देखिन्छ ।
बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । यसका आधारमा अहिले १७ बैङ्कले सस्तो ब्याजमा ग्राहकलाई ऋण उपलब्ध गराउन सक्ने अवस्थामा देखिएका हुन् । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । हाल बैंकहरुबाट ऋण लिँदा औसतमा न्युनतम १२.५६ प्रतिशत र अधिकतम १५.३१ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने देखिन्छ । यद्यपि, बैङ्कहरूको आधार दर अनुसार फरक फरक हुनसक्छ ।
कुन बैंकको आधार दर कति ?