ब्याजदर सस्तिएसँगै कर्जा लिएर घर बनाउने बढे, बैंकहरुले बढाए व्यक्तिगत आवासीय कर्जा « Arthapath.com
९ असार २०८२, सोमबार

ब्याजदर सस्तिएसँगै कर्जा लिएर घर बनाउने बढे, बैंकहरुले बढाए व्यक्तिगत आवासीय कर्जा



काठमाडौं । बैङ्कहरूबाट ऋण लिएर घर बनाउने बढेका छन् । बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने व्यक्तिगत आवासीय घर कर्जा पछिल्लो समय उल्लेख्य बढेको छ । 

चालु आर्थिक वर्षको सात महिनामा बैङ्क तथा वित्तीय संस्थाले ३२ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा दिएका छन् । यो गत आवको माघ मसान्तसम्मको तुलनामा भने ३.५३ गुणा बढी हो ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार यस्तो कर्जा गत आवको सोही अवधिको तुलनामा २५३.४३ प्रतिशत बढी हो । गत आवको सात महिनामा बैङ्कहरूले ९ अर्ब २० करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । 

विशेषगरि पछिल्लो समय ब्याजदर घटेको छ । बैङ्कहरूमा पनि लगानीयोग्य रकम थुप्रिएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि घट्दै गएको हो ।

निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ, जसले कर्जाको ब्याजदर पनि सस्तिन थालेको हो । अहिले सहज रूपमा कर्जा प्रवाह हुन थालेपछि नै २ करोडसम्मको व्यक्तिगत घर कर्जा उल्लेख्य बढेको हो । 

गत वर्ष तरलता अभावमा बैङ्कहरूले घर जग्गामा लगानी विस्तार हुन सकिरहेको थिएन । गत वर्ष आर्थिक मन्दी, चर्को ब्याजदर, उच्च महँगीले कर्जा प्रवाह पनि हुन् सकेको थिए । तरलता अभावले कर्जा प्रवाहमा समेत कडाइ गरिएको थियो । तर, अहिले सहज अवस्था छ ।

राष्ट्र बैङ्कले पनि घर कर्जाको सीमा बढाइदिएको छ, व्यक्तिगत आवासीय घर कर्जाको सीमा २ करोडसम्म पुर्‍याएको छ । यसअघि यस्तो सीमा १ करोड ५० लाख रुपैयाँ मात्र थियो । यस्तो नीतिगत लचकताले पनि घर कर्जा बढ्न पुगेको हो । 

यता, बैङ्क तथा वित्तीय संस्थाहरूले नै घर कर्जा लगानी बढाउन कै लागि विभिन्न स्किम समेत ल्याएका छन् । विशेषगरि सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन एक किसिमको प्रतिस्पर्धा नै देखिन्छ । कतिपय बैङ्कहरूले एकल अङ्कको ब्याजदर मै घर कर्जा उपलब्ध गराइरहेका छन् ।

बैङ्कहरूले १० प्रतिशत कम बिन्दुकै फिक्स ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छन् । सस्तो ब्याजदरमा कर्जा लिएर घर बनाउन (खरिदबिक्री) आकर्षित भएको पाइन्छ । 

रियल स्टेट कर्जा प्रवाह ऋणात्मक 

व्यक्तिगत आवासीय घर कर्जा प्रवाह उल्लेख्य वृद्धि भए पनि रियल स्टेट कर्जा प्रवाहमा भने गिरावट आएको छ । चालु आवको ७ महिनामा यस्तो शीर्षकमा प्रवाह हुने कर्जा ऋणात्मक छ ।  

राष्ट्र बैङ्कका अनुसार कमर्सियल घरजग्गा र ठुलो प्रोपर्टी किनबेचमा कर्जा प्रवाह सुस्त देखिएको छ । गत वर्षको माघ मसान्तसम्ममा रियल स्टेट कर्जा ४ अर्ब १५ करोड ३९ लाख रुपैयाँ प्रवाह भएको थियो । तर, यो वर्षको सोही अवधिमा भने १ अर्ब ४५ करोड १३ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

पुरानो कर्जा असुली हुँदा यस्तो कर्जा ऋणात्मक भएको हो । बैङ्क तथा वित्तीय संस्थाहरू पनि नयाँ कर्जा प्रवाहलाई भन्दा पुरानो कर्जा असुलीमा केन्द्रित छन् । 

रियल स्टेट शीर्षकतर्फ सात महिनामा रेसिडेन्सियल रियल स्टेट (दुई करोडसम्मको व्यक्तिगत आवासीय कर्जाबाहेक) कर्जा २ अर्ब ४४ करोड ७६ लाख, कमर्सियल कम्प्लेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण कर्जा २७ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

यस्तै, कमर्सियल जग्गा खरिद तथा प्लटिङमा भने ३ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैङ्कले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्