ब्यापारीलाई ऋण दिने ग्लोबल र नबिल, उपभोक्ताको प्यारो एनआईसी ! « Arthapath.com
९ असार २०८२, सोमबार

ब्यापारीलाई ऋण दिने ग्लोबल र नबिल, उपभोक्ताको प्यारो एनआईसी !



काठमाडौं । राष्ट्रिय अर्थतन्त्रमा कृषि तथा वनपछि सबैभन्दा ठूलो हिस्सा थोक तथा खुद्रा ब्यापारको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रका विभिन्न १८ क्षेत्रमध्ये ब्यापारले मात्रै १५.४ प्रतिशत योगदान गरेको छ । यति ठूलो क्षेत्रमा बैंकहरुको कर्जा पनि बढी नै प्रवाह हुनु स्वाभाविक नै हो ।

नेपाल राष्ट्र बैंकले गत माघ मसान्तको आँकडालाई आधार मानेर सार्वजनिक गरेको तथ्यांकमा पनि थोक तथा खुद्रा ब्यापारमा बैंकहरुले अत्यधिक लगानी गरेको देखाएको छ । यस प्रकारको ब्यापारमा मात्रै बैंकहरुले आफ्नो कुल कर्जाको १४ देखि २६ प्रतिशतसम्म लगानी गरेको आँकडा राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

कुल कर्जाको अनुपातमा थोक तथा खुद्रा ब्यापारमा सबैभन्दा धेरै ऋण स्ट्याण्डर्ड चार्टर्ड, सिद्धार्थ, एभरेस्ट, एनएमबी, एनआईसी एसिया, ग्लोबल आईएमई र नबिलजस्ता बैंकले प्रवाह गरेका छन् । उनीहरुले कुल कर्जाको २२ देखि २६ प्रतिशत ऋण यस्तो ब्यापारमा लगानी गरेका छन् ।

तर अंकको आधारमा हेर्ने हो भने ग्लोबल आईएमई सबैभन्दा अगाडी आउँछ । उसले झण्डै ९१ अर्ब रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा प्रवाह गरेको छ । नबिलले ८४ अर्ब, एनआईसी एसियाले ७० अर्ब, नेपाल इन्भेष्टमेण्ट मेगाले ६६ अर्ब, राष्ट्रिय बाणिज्य बैंकले ५४ अर्ब र लक्ष्मी सनराइज बैंकले ५१ अर्बभन्दा बढी कर्जा त्यस क्षेत्रमा प्रवाह गरेका छन् ।

स्ट्याण्डर्डचार्टर्ड, प्राइम, सानिमा, नेपाल एसबीआई, माछापुच्छ«ेजस्ता बैंकहरुले भने कम कर्जा दिएको छन् । उनीहरुको कर्जा करीब २४ देखि २८ अर्बको बीचमा छ । यसले अहिले ब्यापारिक क्षेत्रमा आएको भुक्तानीको समस्याबाट ग्लोबल, नबिल र एनआईसी एसियाजस्ता ठूला बैंकहरु नै बढी प्रभावित हुने देखिएको छ ।

तर उपभोग कर्जाको हकमा भने एनआईसी एसियाले सबैलाई उछिनेको छ । उसले आफ्नो कुल कर्जाको ३६.४ प्रतिशत उपभोग्य कर्जामा प्रवाह गरेको छ । त्यो भनेको १ खर्ब ८ अर्ब ५६ करोड हाराहारी हो । जबकी यही समयमा उपभोग्य कर्जामा कमै ऋण दिएका अरु ६ वटा बाणिज्य बैंकको लगभग बराबर कर्जा एनआईसी एक्लैले प्रवाह गरेको छ ।

कुल ३० अर्बभन्दा कम कर्जा दिने सानिमा, स्ट्याण्डर्डचार्टर्ड, नेपाल एसबीआई, हिमालयन, प्राइम र कृषि विकास बैंकले मिलेर जम्मा १ खर्ब ८ अर्ब यस्तो कर्जा प्रवाह गरेका छन् । यो पनि एनआईसीको तुलनामा केही कम हो । उक्त आँकडामा सबैभन्दा कम उपभोग्य कर्जा प्रवाह गरेको माछापुच्छ्रे (१२ अर्ब)को आँकडालाई जोडिएको छैन ।

एनआईसीपछि ग्लोबल आईएमईले ७४ अर्ब, राष्ट्रिय बाणिज्यले ७० अर्ब, नबिलले ६४ अर्ब र कुमारीले ६० अर्बभन्दा बढी ऋण उपभोग्य कर्जामा प्रवाह गरेका छन् । उक्त तथ्यले सानो आकारका र उपभोक्तालाई लक्षित गरी ऋण दिनमा एनआईसी लगायत अन्य ठूला बैंकहरु नै अग्रसर रहेको देखाएको छ ।

अनुपातका आधारमा भने एनआईसीपछि नेपाल बैंकले आफ्नो कुल कर्जाको ३० प्रतिशतभन्दा बढी उपभोग्य कर्जामा प्रवाह गरेको देखिएको छ । त्यसपछि राष्ट्रिय बाणिज्य, सिटिजन्स, कुमारी, एभरेस्ट र ग्लोबल आईएमईले आफ्नो कुल कर्जामध्ये बढी हिस्सा यस्तो क्षेत्रमा प्रवाह गरेका छन् ।

यी दुबै शीर्षक अर्थात् थोक तथा खुद्रा ब्यापार र उपभोग कर्जालाई एकै ठाउँमा राख्ने हो भने नेपालको कर्जा प्रवाहको क्षेत्र कति संकुचित छ भन्ने देखिन्छ । एनआईसी एसियाले आफ्नो कुल कर्जाको ६० प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकले ५०.४ प्रतिशत ऋण यिनै क्षेत्रमा प्रवाह गरेका छन् ।

नेपाल बैंकले पनि झण्डै ५० प्रतिशत यिनै ब्यापार र उपभोगमा प्रवाह गरेको छ । सिटिजन्स, एभरेस्ट, ग्लोबल आईएमई, सिद्धार्थ, एनएमबी र स्ट्याण्डर्ड चार्टर्डले पनि कुल कर्जाको ४० प्रतिशतभन्दा बढी हिस्सा यिनै दुई क्षेत्रमा प्रवाह गरेको देखिएको छ ।

यसले पछिल्लो समय ब्यापारमा आएको सुस्तता, व्यक्तिगत आम्दानीमा देखिएको कमी र उपभोगमा आएको गिरावटको असर सबै बैंकलाई परिरहेको यो आँकडाले देखाएको छ । तर कतिपयको बुझाइमा अर्थतन्त्र लामो समय शिथिल रह्यो भने हिमालयन, प्राइमजस्ता अधिकतर कर्पोरेट कर्जा प्रवाह गर्ने बैंकहरुलाई बढी समस्या पर्नसक्ने संभावना कायमै छ ।


प्रतिक्रिया दिनुहोस्