व्यवसाय विस्तारमा थप एग्रेशिभ देखिए नबिल र प्राइम बैंक, एभरेष्ट र कृषि विकास पनि तगडा « Arthapath.com
८ असार २०८२, आईतबार

व्यवसाय विस्तारमा थप एग्रेशिभ देखिए नबिल र प्राइम बैंक, एभरेष्ट र कृषि विकास पनि तगडा



काठमाडौं । बैंकिङ्ग व्यवसायमा खास सुधार आउन नसकेको देखिएको छ । बैंकहरुको व्यवसाय वृद्धिदर एकल अंकमै सिमित छ । आर्थिक शिथिलताकै कारणमा बैंकहरुको व्यवसाय अपेक्षित रुपमा बढ्न सकिरहेको छैन । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत असारदेखि बैशाख मसान्तसम्म आइपुग्दा बैंकहरुको निक्षेप ७.५१ प्रतिशत बढेको छ । तर, कर्जा लगानी भने ४.७१ प्रतिशत मात्रै बढेको देखिन्छ । निक्षेप बढेपनि कर्जा विस्तार भने सुस्त देखिएको छ । बैंकिङ्ग प्रणालीमा निरन्तर निक्षेप बढीरहेको छ ।

१० महिनामा बैंकहरुको निक्षेप ३ खर्ब ८२ अर्ब १६ करोड रुपैयाँ बढेको छ । बैशाख मसान्तसम्ममा बैंकहरुको निक्षेप ५० खर्ब ८५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा भने बैंकहरुसँग ५४ खर्ब ६८ अर्ब ११ करोड रुपैयाँ निक्षेप रहेको थियो । यसरी निक्षेप बढेता पनि कर्जा लगानी पनि न्यून देखिएको छ । १० महिनामा बैंकहरुले कर्जा लगानी २ खर्ब ३ अर्ब ६९ करोड रुपैयाँ बढेको देखिन्छ । गत असारसम्म ४३ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले बैशाख अन्त्यसम्म आइपुग्दा भने ४५ खर्ब २१ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय ब्याजदर निरन्तर घट्दा पनि कर्जाको माग बढ्न नसकेको बैंकरहरु बताउँछन् । आर्थिक शिथिलता कायमै रहेकाले ब्याजदर घटाउँदा पनि कर्जाको माग नभएको उनीहरुको भनाई छ । कर्जाको डिमान्ड नहुँदा बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ ।

वाणिज्य बैंकहरुको निक्षेपको अवस्था, रकम अर्बमा

स्रोतः नेपाल बैंकर्स संघ

व्यवसाय विस्तारमा प्राइम र नबिल आक्रमक, एभरेष्ट र कृषि विकास बैंक तगडा

निक्षेप संकलन र कर्जा विस्तारमा प्राइम कमर्सियल बैंक आक्रामक देखिएको छ । साउनदेखि बैशाख मसान्तसम्म आइपुग्दा प्राइमले १६.८५ प्रतिशत कर्जा प्रवाह बढाएको छ । समिक्षा अवधिमा प्राइमको निक्षेप संकलन २८ अर्ब ३६ करोड ( १५.८७ प्रतिशत) बढेको छ । तर, कर्जा लगानी पनि २७ अर्ब ५० करोड बढाएको छ ।

व्यवसाय विस्तारमा नबिल बैंक पनि तगडा देखिएको छ । समिक्षा अवधिमा बैंकको निक्षेप संकलन १२.८४ प्रतिशत र कर्जा विस्तार पनि १२.३७ प्रतिशत बढेको छ । १० महिनामा बैंकले ५१ अर्ब ७१ करोड रुपैयाँ निक्षेप उठाएको छ भने ४२ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा विस्तारमा नबिल पहिलो नम्बरमा छ ।

यता, एभरेष्ट बैंकले पनि कर्जा लगानी ९.७६ प्रतिशत बढाएको छ । १० महिनामा बैंकले १६ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको हो । जबकि सो अवधिमा एभरेष्टको निक्षेप संकलन १५ अर्ब ३ करोड रहेको छ ।

निक्षेप बढाउनेको पहिलो सूचीमा भने राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । १० महिनामा बैंकको निक्षेप ६५ अर्ब ९ करोड बढेको छ । निक्षेप बढेता पनि बैंकको कर्जा लगानी विस्तार भने सुस्त देखिएको छ । समिक्षा अवधिमा बैंकले ५ अर्ब मात्रै कर्जा लगानी गरेको देखिन्छ । यस्तै, १० महिनामा २५ अर्ब ७१ करोड निक्षेप संकलन गरेको नेपाल एसबिआई बैंकको कर्जा लगानी पनि ६ अर्ब ४४ करोड मात्र छ ।

कर्जा लगानीमा बैंकहरुको अवस्था, रकम अर्बमा

स्रोतः नेपाल बैंकर्स संघ

कर्जा विस्तारमा कृषि विकास बैंक पनि अगाडि देखिएको छ । समिक्षा अवधिमा बैंकले १६ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सोही अवधिमा बैंकले २९ अर्ब २६ करोड निक्षेप संकलन गर्न सफल भएको छ । यस्तै, १० महिनामा एनआइसी एशिया बैंकले १६ अर्ब, ग्लोबल आइएमईले १४ अर्ब ११ करोड, नेपाल बैंकले १३ अर्ब ७६ करोड, सिटिजनले १२ अर्ब ८५ करोड, सानिमाले ११ अर्ब ८१ करोड र सिद्धार्थ बैंकले ११ अर्ब ७ करोड कर्जा लगानी गरेका छन् ।

समिक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्डको निक्षेप ८ अर्ब २५ करोड, प्रभुको १६ अर्ब ९ करोड र माछापुच्छ्रे बैंकको ६ अर्ब ९ करोड रुपैयाँ घटेको छ । निक्षेपसँगै यी बैंकहरुको कर्जा लगानी पनि क्रमशः ८ अर्ब ५२ करोड, ४ अर्ब ९ करोड र १ अर्ब २९ करोड घटेको छ ।


प्रतिक्रिया दिनुहोस्