३ प्रतिशत तल झर्यो अन्तर बैंक ब्याजदर, बैंकिङ्ग प्रणालीमा एकैदिन भित्रियो १७ अर्ब निक्षेप

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । बैंक तथा वित्तीय संस्थामा गत बिहीबार मात्रै सो बराबरको निक्षेप भित्रिएको हो ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ६३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । एकसाता अघि अर्थात् गत बुधवारसम्म भने ६३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
वाणिज्य बैंकमा मात्रै १६ अब रुपैयाँ निक्षेप संकलन भएको हो । योसँगै वाणिज्य बैंकहरुमा कुल निक्षेप ५६ खर्ब ६३ अर्ब रुपैयाँ कायम भएको छ। गत बुधवारसम्म भने बैंकहरुसँग ५६ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
असार मसान्तको चापले बैंकिङ्ग प्रणालीमा निक्षेप थपिने क्रम दैनिक बढेको छ । हाल दैनिक अरबौं रुपैयाँ निक्षेप भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष सकिन केही दिन बाँकी हुँदा बैंक तथा वित्तीय संस्थाहरु कर्जा असुलीमा लागेका छन् । असार मसान्तको चापले पनि निक्षेप संकलन बढेको ।
यसरी दैनिक बैंकहरुमा लगानीयोग्य पुँजी बढेता पनि कर्जा माग भने न्युन छ । दैनिक निक्षेप बढेपनि कर्जा प्रवाह भने ठप्प छ । समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बाणिज्य बैंकहरुले पनि हालसम्म कुल ४५ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । तर, गत बुधवारदेखि कर्जा प्रवाह नभएको देखिन्छ ।
बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर पनि घटेको छ । हाल यस्तो ब्याजदर ३ प्रतिशत तल झरेको छ । गत बुधवारसम्म ३ प्रतिशत रहेको यस्तो ब्याजदर एकैदिन शून्य दशमलव शून्य ५ प्रतिशत बिन्दुले घटेको हो । बिहीबारसरम आइपुग्दा अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत कायम भएको छ ।
यता, बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ८० प्रतिशत भन्दा तल आइपुगेको छ । राष्ट्र बैंकका अनुसार हाल सीडी रेसियो एकैदिन शून्य दशमलव २१ प्रतिशत बिन्दुले घटेको हो । हाल ७८.५९ प्रतिशत कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् । हाल बैंकहरु कर्जा प्रवाहका लागि एकदमै सहज अवस्था छन् । तर, कर्जाको माग नहुँदा बैंकमा अधिकत तरलता थुप्रिएको छ ।