बैंक ब्याजदर घटेको घट्यै, २.३८ प्रतिशत बिन्दुले सस्तियो कर्जाको ब्याजदर « Arthapath.com
२७ असार २०८१, बिहीबार

बैंक ब्याजदर घटेको घट्यै, २.३८ प्रतिशत बिन्दुले सस्तियो कर्जाको ब्याजदर



काठमाडौं । बैंकहरुको कर्जाको ब्याजदर महिनैपिच्छे घट्दै गएको छ। एक महिनामै शून्य दशमलव १९ प्रतिशत बिन्दुले कर्जाको ब्याजदर सस्तिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षको अवधिमा भने कर्जाको ब्याजदर २.३८ प्रतिशत बिन्दुले घटेको छ । गत वर्षको जेठ महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १२.५३ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही अवधिमा भने घटेर १०.१५ प्रतिशत कायम भएको छ ।

गत बैशाख महिनामा पनि यस्तो ब्याजदर १०.३४ प्रतिशत कायम भएको थियो । बैंकहरुको कर्जाको ब्याजदर महिनैपिच्छे घटेको छ । गत चैत महिनामा पनि कर्जाको औसत ब्याजदर १०.५५ प्रतिशत रहेको थियो । चालु आवको सुरुवातदेखि नै कर्जाको ब्याजदर निरन्तर घट्दै आएको छ । गत साउनमा यस्तो ब्याजदर १२.२४ प्रतिशत रहेको थियो । यस्तै, भदौमा १२.२३ प्रतिशत, असोजमा १२.११ प्रतिशत, कात्तिकमा ११.९६, मंसिरमा ११.८५ प्रतिशत रहेको थियो । यस्तै, गत पुसमा ११.३९ प्रतिशत, माघमा ११.०८ प्रतिशत र फागुनमा ११.७८ प्रतिशत रहेको थियो ।

यस्तै, विकास बैंकको कर्जाको औसत ब्याजदर पनि घटेको देखिन्छ । गत वर्षको जेठ महिनामा औसत कर्जाको ब्याजदर १४.४७ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही महिनामा आइपुग्दा भने यस्तो ब्याजदर २.८४ प्रतिशत बिन्दुले घटेर ११.६३ प्रतिशत कायम भएको छ । यता, वित्त कम्पननीको कर्जा ब्याजदर पनि २.२१ प्रतिशत बिन्दुले घटेर १२.८५ प्रतिशत कायम भएको छ।

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । लगानीयोग्य रकम बढेता पनि कर्जाको माग भने सुस्त छ। यसरी कर्जाको माग बढ्न नसक्दा निक्षेपको ब्याजदर पनि लगातर घटीरहेको छ । निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ, जसले कर्जाको ब्याजदर पनि महिनैपिच्छे सस्तिँदै गएको हो ।

हाल वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.१७ प्रतिशत छ । यस्तो ब्याजदर गत वर्षको जेठ महिनामा ७.९९ प्रतिशत रहेको थियो । यस्तै, विकास बैंक र वित्त कम्पनीको निक्षेपको ब्याजदर पनि क्रमशः ७.०७ प्रतिशत र ८.२८ प्रतिशत कायम भएको छ ।

गत बैशाखमा पनि वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.३५ प्रतिशत रहेको थियो । यस्तै, चैत महिनामा ६.५३ प्रतिशत, फागुनमा ६.७४ प्रतिशत, माघमा ७.०१ प्रतिशत, पुसमा ७.३२, मंसिरमा ७.६२ प्रतिशत, कात्तिकमा ७.७६ प्रतिशत, असोजमा ७.९० प्रतिशत, भदौमा ८.०६ प्रतिशत र साउनमा ८ प्रतिशत रहेको थियो ।

निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ । लागत घट्दा बैंकहरुको आधार दर (बेस रेट) पनि घट्दै गएको छ । एक वर्षको अवधिमा आधार दर पनि २.०१ प्रतिशत बिन्दुले घटेको छ । जेठमा बैंकहरुको औसत आधार दर ८.१७ प्रतिशत कायम भएको छ। गत वर्षको सोही महिनामा भने १०.१८ प्रतिशत रहेको थियो ।
यस्तै, विकास बैंकको आधार दर ९.९६ प्रतिशत र वित्त कम्पनीको ११.४६ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्