१३.३९ प्रतिशत बढाए बैंकहरुले नाफाः नबिलले कमायो सर्वाधिक, प्रभू, कुमारी, प्राइम र कृषिको चमत्कारिक ग्रोथ « Arthapath.com
७ असार २०८२, शनिबार

१३.३९ प्रतिशत बढाए बैंकहरुले नाफाः नबिलले कमायो सर्वाधिक, प्रभू, कुमारी, प्राइम र कृषिको चमत्कारिक ग्रोथ



काठमाडौं । वाणिज्य बैंकहरुले एकै वर्ष साढे ७ अर्ब नाफा बढाएका छन् । बैंकहरुले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

हाल संचालनमा रहेको वाणिज्य बैंकहरुले कुल ६४ अर्ब १५ करोड ३० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको तुलनामा १३.३९ प्रतिशत अर्थात् ७ अर्ब ५७ करोड ८६ लाख रुपैयाँ बढी हो । अघिल्लो आवमा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएका थिए । गत वर्ष ९ वटा बैंकको नाफामा गिरावट आएको छ। तर, ती बाहेकका बैंकहरुले भने बढाएका छन् ।

गत वर्ष पनि सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा नबिल बैंक नै छ । बैंकले एक वर्षमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने १०.२३ प्रतिशत धेरै हो ।

दोस्रो धेरै नाफा ग्लोबल आइएमई बैंकको छ। बैंकले गत वर्ष ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो नाफा अघिल्लो आवको तुलनामा भने १०.१३ प्रतिशत कमी हो ।

सर्वाधिक नाफा कमाउनेको तेस्रो सूचीमा भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ। बैंकले गत वर्ष कुल ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो आवको तुलनामा ३९.७१ प्रतिशत धेरै हो ।

नाफामा प्रभू बैंकको छलाङ देखिएको छ । सर्वाधिक नाफ बढाउनेको पहिलो सूचीमा प्रभू बैंक छ। बैंकले गत वर्ष कुल ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १४९९.०३ प्रतिशत बढी हो ।

सर्वाधिक नाफा बढाउनेको दोस्रो सूचीमा भने कुमारी बैंक छ । बैंकको खुद नाफा ३४५.६६ प्रतिशत बढेर २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ कायम भएको छ। यस्तै, प्राइम कमर्सियल बैंकको नाफा पनि २६७.१८ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ कायम भएको छ। यता, कृषि विकास बैंकको नाफामा पनि उछाल नै आएको छ । बैंकले खुद नाफा १६७.२३ प्रतिशत बढाएर ३ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, एभरेष्ट बैंकले पनि ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आवको तुलनामा १०.०७ प्रतिशत धेरै हो । यता, राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ३९ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ अर्ब ३० करोड ८९ लाख, लक्ष्मी सनराइजले ३ अर्ब ३ करोड ४५ लाख, सिद्धार्थ बैंकले ३ अर्ब १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

त्यसैगरि हिमालयन बैंकले २ अर्ब ८३ करोड ८० लाख, सानिमा बैंकले २ अर्ब ३८ करोड १९ लाख, एनएमबिले २ अर्ब ३३ करोड ६५ लाख, नेपाल एसबिआईले २ अर्ब १ करोड ३७ लाख, नेपाल बैंकले १ अर्ब ६५ करोड ६८ लाख, एनआइसी एशियाले १ अर्ब ३८ करोड १८ लाख, सिटिजन्सले १ अर्ब ३४ करोड २४ लाख र माछापुच्छ्रेले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

कसले कति कमाए नाफा ?

स्रोतः सम्वन्धित बैंकले प्रकाशन गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण, रकम हजारमा


प्रतिक्रिया दिनुहोस्