७ वटा बैंकले मात्रै घटाए खराब कर्जा: १ प्रतिशत कम हुनेमा एभरेष्ट बैंक मात्रै, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको औसत खराब कर्जा शून्य दशमलव ५३ प्रतिशत बिन्दुले बढेको छ । गत आर्थिक वर्ष २०८०-८१ मा बैंकहरुको खराब कर्जा ३.५३ प्रतिशत कायम भएको छ।
बैंकहरुले प्रकाशन गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ । हाल संचालनमा रहेकामध्ये ७ वटा बैंकहरुले मात्रै घटाएका छन् ।
अझै पनि आर्थिक शिथिलता कायमै रहेकाले खराब कर्जाको अनुपात घट्न सकेको छैन । आर्थिक गतिविधि बढ्न नसक्दा बैंकहरुको कर्जा असुल पनि हुन सकिरहेको छैन । अधिकांश क्षेत्रको व्यवसायीक आम्दानीमा समेत घटेको छ, ऋणीहरुको ऋण तिर्ने क्षमतामा पनि गिरावट आएको छ । यस्ता कारण पनि खराब कर्जा नियन्त्रण सुधार हुन सकिरहेको छैन ।
गत वर्ष एभरेष्ट, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल एसबिआईले मात्र खराब कर्जा घटाएका छन् । यी बाहेकका सबै बैंकहरुको खराब कर्जा अनुपात बढेको छ।
वित्तीय विवरण अनुसार गत वर्ष एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा न्यून रहेको छ । बैंकको खराब कर्जा अनुपात १ प्रतिशत भन्दा तल नै कायम छ । गत वर्ष बैंकको खराब कर्जा ०.७१ प्रतिशत मात्रै छ । अघिल्लो आवमा पनि बैंकसँग यस्तो कर्जाको अनुपात ०.७९ प्रतिशत रहेको थियो । यस्तै, सानिमा बैंकको खराब कर्जा पनि ०.७३ प्रतिशत, नेपाल एसबिआईको २ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको २.१४ प्रतिशत, सिद्धार्थ बैंकको २.२२ प्रतिशत कायम भएको छ ।
गत वर्ष ६ वटा बैंकहरुको खराब कर्जा ४ प्रतिशत माथि देखिएको छ भने ७ वटाको खराब कर्जा अनुपात २ प्रतिशत भन्दा माथि र ४ प्रतिशत कम छ।
विवरणअनुसार सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको ४.९५ प्रतिशत छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.९२ प्रतिशत, हिमालयन बैंकको ४.९१ प्रतिशत, प्रभुको ४.७८, लक्ष्मी सनराइजको ४.७२, प्राइमको ४.६७, ग्लोबल आइएमईको ४.३७ र सिटिजन्स बैंकको खराब कर्जा अनुपात ४.०७ प्रतिशत कायम भएको छ । यी बाहेकका अन्य ७ बैंकको खराब कर्जा ४ प्रतिशत तल छ ।
गत वर्ष एनएमबि बैंकको खराब कर्जा ३.२७ प्रतिशत, नेपाल बैंकको ३.२८ प्रतिशत, एनआइसी एशियाको ३.४१, कृषि विकासको ३.४४, माछापुच्छ्रेको ३.६३, राष्ट्रिय वाणिज्यको ३.६५ र नबिलको ३.८५ प्रतिशत कायम भएको छ।
