अब पैसा नतिरी रिवार्डबाटै रेस्टुरेन्टमा खानेदेखि हवाइ टिकटसम्म, सिद्धार्थ बैंकको फरक प्रयास

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ क्षेत्रमा फरक प्रयास थलेको छ । बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्ड्स’ योजना सञ्चालनमा ल्याएको हो ।
यस योजनाले निश्चित मात्रामा रिवार्ड प्वाइन्ट्स संकलन भइसकेपछि त्यही प्वाइन्ट्सबाटै खर्च गर्ने अवसर दिएको छ । नेपाली बैकिङ क्षेत्रमा यस प्रकारको रिवार्ड योजना भित्र्याउने पहिलो बैंक नै सिद्धार्थ बनेको छ ।
यस योजनाअन्तर्गत बैंकका ग्राहकले हरेक डिजिटल कारोबारमा ‘सिद्धार्थ रिवार्ड प्वाइन्ट्स’ प्राप्त गर्न सक्नेछन् । यो एक लोयल्टी कार्यक्रम हो ।
नेपालमा धेरै संस्थाहरूले ग्राहक संलग्नतालाई बढावा दिन र उनीहरुलाई पुरस्कृत गर्न यस्ता प्रयास गरिरहेका छन् । मनोरञ्जन र खाद्य क्षेत्रमा भने पहिलेदेखि नै यस्तो सुविधा उपलब्ध थियो । उदाहरणका लागि केही ‘सर्भिस चेन’हरुले आफ्ना ग्राहकलाई रिवार्ड दिइरहेका छन् ।
यसरी संकलित रिवार्ड प्वाइन्ट्सलाई खर्च गर्नसक्ने सुविधा सहितको योजना पहिलो पल्ट सिद्धार्थले लागू गरेको हो । सिद्धार्थ रिवार्ड आफैँमा नेपालको वित्तीय क्षेत्रमा ग्राहकलाई प्रबद्र्धन गर्ने एक नवीनतम अभ्यास हो ।
के हो ‘सिद्धार्थ रिवार्ड’ योजना ?
‘सिर्द्धार्थ रिवार्डस्, यसमा प्वाइन्ट छ’ भन्ने नाराका साथ बैंकले यो नयाँ योजना लागू गरेको छ । यसबाट डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने र आफ्ना ग्राहकहरुलाई सुविधा दिने बैंकको दाबी छ । यो योजनामा ग्राहकले प्रत्येक कारोबारमा कम्तिमा १ देखि बढीमा ५०० सम्म अंक (प्वाइन्ट) प्राप्त गर्न सक्नेछन् । यसका लागि प्रत्येक १०० रुपैयाँको कारोबारमा १ रिवार्ड प्वाइन्ट प्राप्त हुनेछ ।
उक्त योजनाअन्तर्गत ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा मोबाइल बैंकिङ जस्ता बैंकको डिजिटल प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने छ । यसरी हुने भुक्तानीमध्ये बैंक ट्रान्सफर लयायतमा भने अंक पाइने छैन ।
अंक बटुल्न ग्राहकले उपभोग्य वस्तु तथा सेवा खरीद गर्नुपर्ने छ । जस्तै, पसल तथ सुपरमार्केटमा सामान किन्दा, हवाइ टिकट किन्दा, फिल्म टिकट किन्दा, अस्पतालको बील तिर्दा वा यस्तै प्रकारका अन्य उपभोगमुखि गतिविधिको भुक्तानी डिजिटल माध्यमबाट गरेमा प्वाइन्ट्स प्राप्त हुने छ ।
बैंकले इन्टरनेटमा आधारित कारोबारमा मात्र नभइ कार्ड भुक्तानीमा पनि रिवार्ड दिने भनेको छ । यो नेपालमा अर्को अतिरिक्त सुविधा हो । अन्य सेवाप्रदायकले मोबाइल बैंकिङमा खर्च गर्न नमिल्ने खालको रिवार्ड प्वाइन्ट्स प्रदान गरिरहेको भए पनि कार्डबाट हुने भुक्तानीमा यस्तो सुविधा थिएन ।
यसरी कारोबार गर्दा प्राप्त गरेको रिवार्ड प्वाइन्ट्सलाई ग्राहकले भुक्तानीका निम्ति प्रयोग गर्न सक्नेछन् । यसरी आर्जन भएको पोइन्ट्सबाट हवाइ टिकट किन्न, होटलको बिल तिर्न, पसलहरूमा सपिङ गर्न, बीमा तथा इन्टरनेट बिल तिर्न, उपहार कार्ड आदिमा खर्च गर्न सकिने बैंकले जनाएको छ ।
यदी सिद्धार्थ बैंकको कुनै ग्राहकसँग आवस्यक रिवार्ड प्वाइन्ट जम्मा भइसकेको छ भने त्यसै अंकको भुक्तानी गरेर वस्तु तथा सेवा खरिद गर्न सक्ने छन् । यस निम्ति भुक्तानीका लागि नगद तिर्नु पर्दैन । यस्ता रिवार्ड प्वाइन्ट्सबाट मोबाइल टपअप, बिजुली, टिभी, बस टिकट र अन्य आवश्यक सेवाहरूको लागि सहजै भुक्तानी गर्न सकिन्छ ।
सिद्धार्थ रिवार्ड प्वाइन्टको म्याद दुई वर्ष हुनेछ । अर्थात् ग्राहकले प्राप्त गरेको रिवार्ड प्वाइन्ट्स २ वर्षसम्म चलाउन सक्नेछन् । ग्राहकले बैंकको वेबसाइटमा ‘सिद्धार्थ रिवार्ड प्वाइन्ट्स’मा गएर यसबारे थप जानकारी लिन सक्नेछन् ।
डिजिटल कारोबारलाई प्रवर्द्धन
बैंकले यस प्रकारको योजनाबाट नेपालमा डिजिटल कारोबारलाई उल्लेख्य बढाउन सघाउने बताएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा मासिक औसत ४५ खर्बको विद्युतीय कारोबार भएको देखिन्छ । कारोबार संख्याको आधारमा मापन गर्ने हो भने हरेक महिना औसत विभिन्न माध्यमबाट १८ करोड १८ लाखभन्दा धेरै पल्ट कारोबार भएको देखिन्छ ।
यसरी हेर्दा प्रतिकारोबार रकम ४४ हजारभन्दा बढी हुन्छ । तर आरटीजीएसजस्ता थोक कारोबार हुने प्रणालीबाट बढी रकमको कारोबार भएको देखिन्छ । खुद्रा कारोबारमा भुक्तानीका निम्ति प्रयोग हुने विद्युतीय माध्यमहरुको आँकडा भने निकै कम छ ।
केन्द्रिय बैंककै तथ्यांकले १ पटक एटीएम बूथबाट पैसा निकाल्दा औसतमा ८ हजार ३०० रुपैयाँ निकाल्ने गरेको देखिन्छ । क्यूआर भुक्तानीमा प्रतिकारोबार रू. ३३ सय, पोइन्ट अफ सेल (पीओएस) मा रू. ४७ सय, ईकमर्शमा रू. ६ हजार र मोबाइल बैंकिङमा प्रतिकारोबार रू. ६५ सय हाराहारीको भुक्तानी हुने गरेको छ ।
चार्टः विभिन्न विद्युतीय माध्यमबाट हुने कारोबारमा औसत भुक्तानी रकम (रू.)
सिद्धार्थको लोयल्टि योजनाले यस प्रकारको कारोबार रकमलाई बढोत्तरी गर्न सघाउने बैंकको अपेक्षा छ । नेपालमा विद्युतीय कारोबारको सचेतना ब्यापक मात्रामा बढेको भए पनि कारोबार रकममा भने सोचेजस्तो बृद्धि हुन नसकेको बैंकरले बताउँदै आएका छन् ।
कारोबार रकम बढाउन नसक्दासम्म यसले अर्थतन्त्रको गतिशीलता अभिबृद्धिमा पनि महत्वपूर्ण सहयोग गर्न सक्दैन । त्यसैले मानिसहरुलाई बढी खर्च गर्ने प्रबृत्तिको विकास गर्न बैंकले यो योजनामार्फत् उत्प्रेरित गर्ने बताएको छ ।
फरक अभ्यास
डिजिटल कारोबारमा रिवार्ड प्वाइन्ट दिने र सोही रिवार्ड प्वाइन्टलाई भुक्तानीका रूपमा स्वीकार गर्ने यो योजना नै नेपालको बैंकिङ क्षेत्रमा नयाँ अभ्यास भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले बताए ।
‘बैंकका लागि यो नयाँ सुरूवात भएको छ । दिगो विकासका लागि हामीले नयाँ प्रोडक्टहरू ल्याउँदै गरेका छौँ’, उनले भने, ‘अत्यधिक रूपमा प्रयोग भइरहेको डिजिटल भुक्तानीलाई कसरी प्रोत्साहन गर्न सकिन्छ ? हामीले त्यसलाई हेर्दै विद्युतीय भुक्तानीका निम्ति रिवार्डको योजना ल्याएका हौं ।’ कँडेलले उक्त योजनाका कारण नेपालमा डिजिटल कारोबार प्रोत्साहित हुने बताए ।
डिजिटल प्रडक्टमा गरेको खर्चलाई बैंकले खर्चका रूपमा नभएर लगानीको रूपमा हेरेको सिद्धार्थ बैंकका डेपुटी सीईओ रामेश्वर प्रसाद बस्याल बताउँछन् ।
‘बैंकले डिजिटल प्रडक्टमा गरेको खर्चलाई ‘खर्च’ भनेको छैन । यसलाई हामीले लगानी मानेका छौँ र बुझेका छौँ’, बस्यालले भने, ‘ग्राहकहरूले जति कारोबार गर्छन्, त्यति नै बढी रिवार्ड प्वाइन्टहरू पाउनेछन् ।’
सिद्धार्थ रिवार्ड्स बाट विश्वव्यापी रुपमा ९ सयभन्दा बढी एयरलाइन्स, एक सयभन्दा बढी देशहरूमा ५ लाख होटलहरू, ग्लोबल टूरहरू, र एक हजारभन्दा बढी एयरपोर्ट लाउन्जहरूमा भुक्तानीका लागि प्रयोग गर्न सकिने बैँकले जनाएको छ । त्यस्तै, ५० हजारभन्दा बढी उपहार कार्डहरू र डिजिटल भौचरहरूको चयनबाट छनोट गर्न सकिनेछ ।
यो योजनाले डिजिटल भुक्तानी बढावा दिने सरकारको लक्ष्यलाई पूरा गर्न सघाउन बैंकले जनाएको छ । यसले वित्तीय ग्राहकको हित रक्षा गर्नमा बैंकको प्रतिबद्धतालाई पनि दर्शाएको छ । पछिल्लो समय विश्वव्यापी बैंकिङ अभ्यासमा डिजिटल लेनदेनको हिस्सेदारी ब्यापक मात्रामा बढ्दै छ । फलस्वरुप यस्ता डिजिटल वित्तीय ग्राहकलाई प्रोत्साहित गर्न र पुरस्कृत गर्ने उद्देश्यले यस्ता खाले लोयल्टी कार्यक्रमहरू ल्याउन थालेका छन् ।
खासगरी डिजिटल च्यानलहरू अपनाउन प्रोत्साहित गर्ने काममा मात्र होइन, वित्तीय परिदृश्यमा बढ्दो प्रतिस्पर्धाबीच ग्राहकको सेवा सुविधा र सन्तुष्टी बढाउनका लागि पनि बैंक तथा वित्तीय संस्थाहरू यस्ता आकर्षक योजनाहरू ल्याइरहेका हुन्छन् ।
नेपालमा भने सुनौलो रङमा ब्राण्डिङ गरिरहेको बैंक यो दौडमा सबैभन्दा अगाडी देखिएको छ ।