प्रतिकूलताका बीच पनि ग्राहकको विश्वास जोगाएको एनआईसी एशिया बैंक, यी सूचकमा सुदृढ बन्दै

काठमाडौं । गत आर्थिक वर्ष एनआईसी एशिया बैंकका लागि त्यति सुखद रहेन । अराजक समूहबाट ‘बैंक डुब्दै छ’ भन्ने भ्रामक सूचना प्रवाह भयो । बैंक तथा वित्तीय संस्थाविरुद्ध खरो रूपमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक डुब्न लागेको अभिव्यक्ति दिए ।
ऋणीहरूलाई ऋण नतिर्न उक्साइरहेका प्रसाईंको कुरालाई विश्वास गर्नेको ठूलो झुण्ड नै थियो । समग्र बैंकिङ क्षेत्रलाई नै तरंगित पार्दै आएका प्रसाईंले एनआईसीको नामै किटान गरेर ‘डुब्दै छ’ भनेपछि बैंकमाथि चौतर्फी दबाब बढ्यो ।
बैंकबाट निक्षेप निकल्नेको लाइन नै लाग्ने अवस्था सिर्जित भयो । अवस्था प्रतिकूल बनेपछि राष्ट्र बैंक गुहार्ने अवस्थामा बैंक पुग्यो । बैंकबाट महिनामै रकम बाहिरिएको खबरहरू प्रकाशित हुन थाले ।
बैंकविरुद्धका अफवाहहरू यसरी फैलिए कि, आम सर्वसाधारणलाई बैंक साँच्चै डुब्दै छ कि ? भन्ने भ्रम हुन पुग्यो । यस बीचमा बैंकलाई प्रष्टीकरण दिँदैमा हैरान हुने अवस्था आयो । राष्ट्र बैंकले पनि बैंकलाई प्रतिकूल अवस्थाबाट फिर्ता ल्याउन अहम भूमिका निर्वाह गर्यो । र पछि अवस्था सामान्य हुँदै गयो । बैंकले विगत २६ वर्षदेखि कमाएको शाख र विश्वासलाई गुम्न दिएन ।

निक्षेप संकलनमा अब्बल
यति कठीन र प्रतिकूल अवस्थाका बीच पनि बैंकले ग्राहक तथा सेवा ग्राहीको विश्वासलाई जोगाएको छ । यो कुरा बैंकले गत आर्थिक वर्षमा संकलन भएको निक्षेपले देखाउँछ ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले निक्षेप संकलन १३.८६ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ३ खर्ब ५४ अर्ब ५१ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ खर्ब ११ अर्ब ३६ करोड ७९ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
बैंकले कर्जा विस्तारमा समेत ठूलो उपलब्धि हात पारेको छ । धेरै बैंकले थप ऋण लगानी गर्न नसकेको अवस्थामा पनि एनआईसी एसियाकोे कर्जा प्रवाह ३.९५ प्रतिशतले बढेको देखिन्छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ खर्ब ७२ अर्ब ९ करोड ९३ लाख ४२ रुपैयाँ लगानी गरेको देखिन्छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ६१ अर्ब ७७ करोड २० लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
यद्यपि, प्रतिकूल अवस्थाको सामना गर्नुपर्दा बैंकको नाफा, ब्याज आम्दानी र प्रतिसेयर आम्दानीमा लगायत सूचकमा केही कमी आएको देख्न सकिन्छ ।

तर अहिले पनि बैंकको आयतन बढिरहेकै छ । ठूला बाणिज्य बैंकहरु आपसमा गाभिएर बनेका विशालकाय संस्थासँग कुममा कुम जोडेर प्रतिस्पर्धा गरिरहेको छ । आज पनि एनआईसी एसिया देशकै पाचौँ ठूलो बाणिज्य बैंक हो ।
‘बिग मर्जर’बाट आएका कुमारी, लक्ष्मी सनराइज, प्रभू, हिमालयनजस्ता बैंकहरुले अहिले पनि एनआईसी एसियाको स्तरमा जनताको निक्षेप हात पार्न सकेका छैनन् । कर्जा विस्तारमा पनि शीर्ष ५ बैंकको सूचीमा एनआईसी कायमै छ ।
सम्पत्तीको आकार मापन गर्ने हो भने पनि एनआईसी एसिया देशको छैटौँ ठूलो बैंक हो । ऊसँग अहिले ४ खर्ब ११ अर्ब २२ करोड ३९ लाखको सम्पत्ती छ । यो भनेको नेपाल एसबीआई र माछापुच्छ्रे बैंकको कुल सम्पत्तीभन्दा पनि बढी हो ।
पूँजीका हिसाबले १२ औँ स्थानमा रहेको यो बैंकले आफ्नो सामथ्र्यले भ्याउनेसम्म कारोबार गरिरहेको छ । गत असार मसान्तको आँकडा हेर्ने हो भने एनआईसी एसियाले आफ्नो कुल पूँजीको ९.३९ गुणा कर्जा प्रवाह गरेको छ । अरु कुनै पनि बैंकले पूँजीको ८ गुणा पुर्याउन सकेका छैनन् । यसले बैंकको उच्च इफिसियन्सीलाई दर्शाएको छ ।
बैंकहरुको कर्जा र कुल पूँजी अनुपात :

अर्को राम्रो पक्ष यसको कर्जा सुरक्षण हो । कृषि विकास, कुमारी, एनएमबी र सिद्धार्थपछि सबैभन्दा धेरै कर्जा सुरक्षण गर्ने बैंक यही हो । ठूलो आकारको कर्जा प्रवाह गर्ने बैंकहरुमध्ये एनआईसी एसिया त्यस्तो बैंक हो, जसले उच्चतम स्तरमा कर्जा सुरक्षण गरेको छ ।
बजारमा अनेक किसिमले आक्रमण हुँदा पनि एनआईसी एसियाको निष्कृय कर्जा औसतभन्दा कम छ । गत असार मसान्तको आँकडा अनुसार निष्कृय कर्जाको दर कम भएका ८ मध्ये एउटा बैंक यो हो । एनआईसीको निष्कृय कर्जा दर ३.४१ प्रतिशत छ । जबकी, बाणिज्य बैंकहरुको औसत निष्कृय कर्जा दर ३.५४ प्रतिशत रहेको छ ।
असार मसान्तमा एनआईसी एसियाको तरलता स्थिति पनि अन्य बैंकको तुलनामा सहज देखिएको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७.९८ प्रतिशत छ । जबकी, अरु बैंकको यस्तो अनुपात ६० देखि ८६ प्रतिशतसम्म छ । औसतमै ८०.५३ प्रतिशत रहेको यस्तो अनुपातमा सहज हालतमा रहनुले भविष्यमा पूँजीको उपलब्धता बढेपछि थप कर्जा विस्तार गर्ने बाटो खुल्ने छ ।