ग्लोबल आइएमई, नबिल र एनआइएमबिका ऋणीले बुझाए धेरै ब्याज, कुन बैंकले कति उठाए ?

काठमाडौं । बैंकहरुले ऋणीहरुबाट एकै वर्ष थप पौने ६ खर्ब ब्याज उठाएका छन् । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
२० वटा बैंकहरुका ऋणीहरुले एक वर्षमा कुल ५ खर्ब ८८ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ ब्याज बैंकहरुलाई बुझाएका हुन् । जुन अघिल्लो आवको तुलनामा ३२ अर्ब २७क रोड ५० लाख रुपैयाँ अर्थात् ६.७६ प्रतिशत धेरै हो । अघिल्लो आवमा पनि बैंकहरुलेको ब्याज आम्दानी ५ खर्ब ५१ अर्ब ४९ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।
गत आवमा अधिकांश बैंकहरुको खुद ब्याज आम्दानी बढेको छ । तर, ७ वटा बैंकको भने घटेको देखिन्छ। गत वर्ष ६४ अर्ब १५ करोड ३० लाख बढी खुद नाफा कमाएका बैंकहरु ब्याज असुलीमा सक्रिय देखिएका छन् ।
गत आवमा सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमई बैंकका ऋणीले बुझाएका छन् । एक वर्षको अवधिमा बैंकका ऋणीहरुले ५१ अर्ब ४६ करोड १६ लाख रुपैयाँ ब्याज तिरेका छन् । यो अघिल्लो आवको तुलनामा ६.७४ प्रतिशत धेरै हो ।
नबिल बैंकका ऋणीले पनि गत आवमा ४६ अर्ब ३० करोड ३१ लाख रुपैयाँ ब्याज बुझाएका छन् । यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ऋणीले पनि एक वर्षमा ४३ अर्ब ६ करोड ५६ लाख रुपैयाँ ब्याज बुझाएका हुन् । यो अघिल्लो आवको तुलनामा २२.६० प्रतिशत बढी हो ।
यस्तै, कुमारी बैंकले पनि गत आवमा ३८ अर्ब ६८ करोड, एनआइसी एशियाले ३८ अर्ब ३७ करोड, हिमालयन बैंकले ३५ अर्ब ५७ करोड, लक्ष्मी सनराइजले ३५ अर्ब ५ करोड र प्रभु बैंकले ३२ अर्ब ३ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।
तर, गत आवमा माछापुच्छ्रे, स्ट्याण्डर्ड चार्टर्ड लगायतका ७ वटा बैंकको ब्याज आम्दानीमा भने गिरावट आएको छ। अघिल्लो आवको तुलनामा माछापुच्छ्रे बैंकको यस्तो आम्दानी १३.८२ प्रतिशत, स्ट्याण्डर्डको १३.०५ प्रतिशत, सिद्धार्थको ६.९६, सिटिजन्सको ४.७४, सानिमाको ४.१०, एनएमबिको २.९८ र राष्ट्रिय वाणिज्य बैंकको १.०७ प्रतिशत घटेको देखिन्छ ।
