१३ प्रतिशत बढ्यो निक्षेप संकलन, कर्जा प्रवाह कस्तो ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो यस्तो देखाएको हो ।
गत आवमा बैंक तथा वित्तीय संस्थाले करीब साढे ७ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ७ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । यो अघिल्लो आवको तुलनामा १३ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंक तथा वित्तीय संस्थाहरूले ६ खर्ब २७ अर्बको निक्षेप संकलन गरेका थिए ।
गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.२ प्रतिशत छ । तर, अघिल्लो असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत थियो ।
यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ । यो अघिल्लो आवभन्दा ५.८ प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो कर्जा १ खर्ब ७५ अर्ब रुपैयाँ थियो ।
समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ५.८ प्रतिशत बढेको छ । यस्तै, विकास बैंकहरूको ५ प्रतिशतले र वित्त कम्पनीहरूको ७.७ प्रतिशतले बढेको छ ।
गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह भएको देखिन्छ । यस्तै, १३.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
अघिल्लो असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६८.० प्रतिशत र ११.६ प्रतिशत रहेको थियो।
गत आवमा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशत बढेको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २२.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.६ प्रतिशत, मार्जिन प्रकृति कर्जा १८.१ प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा १२.६ प्रतिशत बढेको छ भने हायर पर्चेज कर्जा २२.० प्रतिशत, ओभरड्राफ्ट कर्जा ४६.३ प्रतिशतलेर डिमान्ड तथा चालु पुँजी कर्जा १७.६ प्रतिशत घटेको छ ।