व्यापाक मात्रामा सस्तियो कर्जाको ब्याजदर, एकैवर्ष २.३७ प्रतिशत बिन्दुले घट्यो

काठमाडौं । कर्जाका ब्याजदर व्यापाक मात्रामा घटेको छ। एकै वर्ष झन्डै साढे दुई प्रतिशत बिन्दुले घटेको हो ।
नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०-८१ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो यस्तो देखाएको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९–८० मा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर १२.३० रहेको थियो । तर, गत आवमा आइपुग्दा भने २.३७ प्रतिशत बिन्दुले घटेको छ । गत आवमा बैंकहरुको कर्जाको ब्याजदर ९.९३ प्रतिशत कायम भएको छ ।
गत आवमा विकास बैंकहरुको कर्जाको ब्याजदरमा पनि २.७० प्रतिशत बिन्दुले घटेको छ । अघिल्लो आवमा विकास बैंकको कर्जाको ब्याजदर १४.१० प्रतिशत रहेको थियो । तर, गत आवमा आइपुग्दा भने घटेर ११.३४ प्रतिशत कायम भएको छ । यता, वित्त कम्पनीको कर्जा ब्याजदर पनि २.२७ प्रतिशत घटेर १२.५५ प्रतिशत कायम भएको छ।
पछिल्लो समय बैंकहरुको कर्जाको ब्याजदर महिनैपिच्छे सस्तिएको छ । राष्ट्र बैंकका अनुसार गत जेठमा १०.१५ प्रतिशत, बैशाखमा १०.३४ प्रतिशत र चैत महिनामा पनि कर्जाको औसत ब्याजदर १०.५५ प्रतिशत रहेको थियो । गत आवको सुरुवातदेखि नै कर्जाको ब्याजदर निरन्तर घट्दै आएको छ । गत साउनमा यस्तो ब्याजदर १२.२४ प्रतिशत रहेको थियो । यस्तै, भदौमा १२.२३ प्रतिशत, असोजमा १२.११ प्रतिशत, कात्तिकमा ११.९६, मंसिरमा ११.८५ प्रतिशत, पुसमा ११.३९ प्रतिशत, माघमा ११.०८ प्रतिशत र फागुनमा ११.७८ प्रतिशत रहेको थियो ।
बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । निक्षेप बढेता पनि कर्जाको माग भने न्युन छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ । जसले कर्जाको ब्याजदर पनि निरन्तर घटीरहेको छ ।
पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकको निक्षेपको ब्याजदर पनि २.०९ प्रतिशत बिन्दु घटेको छ। अघिल्लो आवको अन्तमा बैंकहरुको निक्षेपको औसत ब्याजदर ७.८६ प्रतिशत रहेको थियो । तर, गत आवमा आइपुग्दा भने घटेर ५.७७ प्रतिशत कायम भएको छ । यता, विकास बैंकको निक्षेपको ब्याजदर पनि ९.१४ प्रतिशतबाट घटेर ६.६३ प्रतिशत र वित्त कम्पनीको ९.७९ प्रतिशतबाट घटेर ७.९३ प्रतिशतमा झरेको छ।
निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ । लागत घट्दा बैंकहरुको आधार दर (बेस रेट) पनि घट्दै गएको छ । हाल बैंकहरुको आधार दर एकल अंकको आइपुगेको छ । एक वर्षको अवधिमा वाणिज्य बैंकको आधार दर पनि २.०३ प्रतिशत बिन्दुले घटेर ८ प्रतिशतमा झरेको छ । यता, विकास बैंकको आधार दर पनि १२.१५ प्रतिशत बिन्दुबाट घटेर ९.७१ प्रतिशत र वित्त कम्पनीको १३.४१ प्रतिशतबाट ११.२१ प्रतिशतमा झरेको छ ।