प्राथमिकताकै क्षेत्रमा लगानी गर्न बैंकहरुलाई किन सकस ?
कृषि, ऊर्जा र साना उद्यममा प्रवाह हुने ऋण सीमाभन्दा न्यून
काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरूले राष्ट्र बैंकले तोकेको प्राथमिकताका क्षेत्रमा लक्ष्यअनुसार लगानी गर्न सकेका छैनन् ।
अनुत्पादक क्षेत्रमा जाने लगानीलाई कम गर्न भन्दै राष्ट्र बैंकले आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीतिमार्फत २०८१ असार मसान्तसम्ममा तीनवटा प्राथमिकता प्राप्त क्षेत्र कुल कर्जाको ४० प्रतिशत लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।
अर्थतन्त्रलाई चलामान बनाउने,उत्पादनशील क्षेत्रको लगानी विस्तार गरी ग्रामिण भेगमा रोजगारी सिर्जना गर्ने उद्देश्यसहित राष्ट्र बैंकले प्राथमिकताका क्षेत्र अर्थात् कृषि, ऊर्जा र लघु, साना तथा मझौला उद्यममा कुल कर्जाको ४० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको हो ।
४० प्रतिशत कर्जामध्ये २०८० असार मसान्तसम्ममा कृषि क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने अनिवार्य व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
त्यस्तै,उर्जा क्षेत्रमा सन् २०८१ सम्ममा न्यूनतम १० प्रतिशत र लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (१ करोड रुपैयाँभन्दा कम रकम) १५ प्रतिशत कर्जा प्रवाह गरिसक्नुपर्ने व्यवस्था थियो ।
तर अधिकांश बैंकहरूले तोकिएका क्षेत्रमा लक्ष्यअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन् । ती क्षेत्रमा बैंकहरूले प्रवाह गरेको कर्जा निर्धारण गरेको सीमाभन्दा न्यून रहेको छ ।
गत आर्थिक वर्षको अन्त्य अर्थात् २०८१ असार मसान्तसम्म वाणिज्य बैंकहरुले २९.९५ प्रतिशत कर्जा मात्र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरेका छन् । यो निर्धारित सीमाभन्दा १० प्रतिशतले कम हो ।
उक्त अवधिसम्म हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले ४५ खर्ब ६९ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा १३.१२ प्रतिशत, हाइड्रोपावर अर्थात् ऊर्जा क्षेत्रमा ८.०८ प्रतिशत र लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा ८.७६ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।
यी क्षेत्रमा कृषि विकास बैंकले बाहेक अन्य कुनै बैंकले ४० प्रतिशतको लक्ष्य हासिल गरेका छैनन् । कृषि विकास बैंकले भने ६३ प्रतिशत कर्जा यी ३ क्षेत्रमा प्रवाह गरेको छ ।
कुन बैंकको कर्जा लगानी कति ?
गत आर्थिक वर्षको अन्त्यसम्म ग्लोबल आईएमई बैंक सर्वाधिक कर्जा लगानी गरेको छ । बैंकले झन्डै ४ खर्ब रुपैयाँ बराबरको कुल कर्जा लगानी गरेको छ । यो अवधिसम्म ग्लोबलले ३ खर्ब ९० अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको हो ।
त्यस्तै, नबिल बैंकले सर्वाधिक पनि पौने ४ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । बैंकले असार मसान्तसम्म कुल ३ खर्ब ८८ अर्ब ३६ करोड रुपैयाँ कुल कर्जा प्रवाह गरेको हो ।
त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ खर्ब २८ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
कुमारीले २ खर्ब ९३ अर्ब ४१ करोड, एनआईसी एशियाले २ खर्ब ८५ अर्ब ३३ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ६१ अर्ब ७९ करोड, लक्ष्मी सनराइजले २ खर्ब ५८ अर्ब ५० करोड, हिमालयनले २ खर्ब ४७ अर्ब १० करोड, प्रभुले २ खर्ब ३४ अर्ब ४९ करोड, नेपाल बैंकले २ खर्ब ७ अर्ब ९६ करोड, कृषि विकास बैंकले २ खर्ब ६ अर्ब ६७ करोड, एनएमबिले २ खर्ब ४ अर्ब ६० करोड र सिद्धार्थ बैंकले २ खर्ब ३ अर्ब ५६ करोड रुपैयाँ कुल कर्जा लगानी गरेको छ ।
अन्य बैंकको लगानी दुई खर्बभन्दा तल छ । प्राइम कमर्सियलले१ खर्ब ९३ अर्ब ९२ करोड, एभरेष्टले १ खर्ब ८६ अर्ब ५० करोड, सानिमाले १ खर्ब ६५ अर्ब ७८ करोड, सिटिजन्सले १ खर्ब ५७ खर्ब ५८ करोड, नेपाल एसबिआईले १ खर्ब ३२ अर्ब ९६ लाख र माछापुच्छ्रे बैंकले १ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
सबैभन्दा कम कर्जा लगानी स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको छ । बैंकले ८९ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कृषिमा छैन प्राथमिकता
वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा बैंकहरूले कुल कर्जामध्ये १३.१२ प्रतिशत मात्र कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकको व्यवस्था अनुसार यो क्षेत्रमा कुल प्रवाह हुनेमध्ये १५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने थियो । यो क्षेत्रमा कृषि विकास बैंकले सर्वाधिक ३२.५९ प्रतिशत कर्जा लगानी गरेको छ । कृषि क्षेत्रमा नेपाल एसबिआईले १९.८१ प्रतिशत र हिमालयन बैंकले १७.१२ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।
यी बाहेक अन्य कुनै बैंकले १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्न सकेका छैनन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १३.६१ प्रतिशत, सिद्धार्थले १२.८३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले १२.३०, नबिल बैंकले १२.१०, एभरेष्ट बैंकले १२.०२ प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गरेको छ । यी बाहेक अन्य बैंकले ११ प्रतिशत हाराहारी मात्र कर्जा लगानी गरेका छन् ।
प्रभु बैंकले भने सबैभन्दा कम अर्थात् ९.८१ प्रतिशत कर्जा मात्र कृषि क्षेत्रमा लगाएको छ ।
हाइड्रोमा ५ बैंकको लगानी आक्रामक
वाणिज्य बैंक हरूले जलविद्युत तथा नवीकरणीय उर्जा क्षेत्रमा ८.०८ प्रतिशत लगानी गरेका छन् । यो क्षेत्रमा ५ बैंकले राष्ट्र बैंकले तोकेको १० प्रतिशतको लक्ष्य पूरा गरेको छ । यो क्षेत्रमा सानिमा बैंकले सर्वाधिक १२.४८ प्रतिशत कर्जा लगानी गरेको छ । त्यसैगरी एनएमबिले १२.२३, कुमारीले ११.९४ प्रतिशत, प्राइमले ११.८५ र सिटिजन्सले १०.४५ प्रतिशत कर्जा लगानी गरेका छन् ।
माछापुच्छ्रेले ९.२९, नेपाल इन्भेष्टमेन्ट ८.८३ प्रतिशत, नबिलले ८.६७, सिद्धार्थले ८.६४ प्रतिशत, एभरेष्टले ८.२४ प्रतिशत, नेपाल एसबिआईले ८.०७ प्रतिशत, लक्ष्मी सनराइजले ८.९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले हाइड्रोमा ७.९३ प्रतिशत, प्रभुले ७.३१ प्रतिशत, ग्लोबल आईएमईले ६.३५, हिमालयनले ६.३३ प्रतिशत, नेपाल बैंकले ६.६४ प्रतिशत, कृषिले ५.२८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ३.६१ प्रतिशत कर्जा जलविद्युत तथा ऊर्जा क्षेत्रमा लगानी गरेको छ । एनआईसी एशियाले सबैभन्दा कम १.४२ प्रतिशत कर्जा हरित तथा ऊर्जा क्षेत्रमा लगानी गरेको छ ।
उद्यम क्षेत्रमा कर्जा दिनै आनाकानी
साना एवम् मझौला उद्यमका क्षेत्रमा २० वाणिज्य बैंकले प्रवाह गरेको कुल कर्जाको ८.७६ प्रतिशत कर्जा प्रवाह गरेका छन् । उद्यम उत्पादनशीलताले अर्थतन्त्रलाई चलायमान बनाउन अहम भूमिका खेल्छ । तर यो क्षेत्रमा प्रवाह हुने कर्जा भने न्यून छ ।
सो क्षेत्रमा कृषि विकास बैंकले २५.१३ प्रतिशत र नेपाल बैंकले १९.७५ प्रतिशत कर्जा साना एवम् मझौला उद्यमका क्षेत्रमा गरेका छन् । त्यसैगरी, अर्को सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले १३.५७ प्रतिशत कर्जा प्रवाह देखिन्छ ।
यता, नबिल बैंकले ६.६७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले ४.९७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले २.४१ प्रतिशत, हिमालयन बैंक, ३.१५ प्रतिशत, नेपाल एसबिआईले ५.४७ प्रतिशत, एभरेष्ट बैंकले ७.६० प्रतिशत, एनआईसी एशियाले ११.०९, माछापुच्छ्रेले ७.८७ प्रतिशत, कुमारी १०.६८ प्रतिशत, लक्ष्मी सनराइजले ७.१३ प्रतिशत, सिद्धार्थले ७.५५ प्रतिशत, ग्लोबल आईएमईले ८.०३ प्रतिशत, सिटिजन्सले १०.१३ प्रतिशत, प्राइम कमर्सियलले ७.३६ प्रतिशत, एनएमबिले ४.६८ प्रतिशत, प्रभु बैंकले ५.४६ प्रतिशत र सानिमाले ६.३८ प्रतिशत कर्जा साना तथा मझौला उद्यममा लगानी गरेका छन् ।
ठूला उद्योग तथा व्यवसायमा जाने कर्जाको तुलनामा साना क्षेत्रमा कर्जा प्रवाह गर्दा लागत बढ्ने भएकाले पनि बैंकहरू यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्न आनाकानी गरेको देखिन्छ ।