महिनैपिच्छे घट्दै बैंकहरुको बेस रेट : ऋणीलाई व्यापक राहत, कुन बैंककाे कर्जा सस्तो ? « Arthapath.com
७ असार २०८२, शनिबार

महिनैपिच्छे घट्दै बैंकहरुको बेस रेट : ऋणीलाई व्यापक राहत, कुन बैंककाे कर्जा सस्तो ?



काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) घट्दो क्रममा छ । भदौ महिनामा २० वटै बैंकको बेस रेट घटेको छ ।

एक महिनाको अवधिमा नै बैंकको बेस रेट शून्य दशलव २५ प्रतिशत बिन्दुले घटेको छ । गत साउनमा बैंकहरुको बेस रेट औसत ८.१६ प्रतिशत रहेको थियो । तर, भदौमा आइपुग्दा भने घटेर ७.९२ प्रतिशत कायम भएको छ ।

बैंकहरुको बेस रेट साढे ६ प्रतिशत बिन्दुसम्म आइपुगेको छ । बेस रेट ब्याजदरसँग सम्वन्धित हुन्छ । बेस रेट बढेको खण्डमा कर्जाको ब्याजदर पनि बढ्छ, घटेको बेलामा कर्जाको ब्याजदर पनि घट्ने गर्छ । कर्जाको ब्याजदर घटेपछि ऋणीलाई राहत हुने गर्दछ । बैंकहरुको बेस रेट अनुसार नै ऋणको ब्याज महँगो अथवा सस्तो हुने संकेत गर्छ । यस्तो रेट कम भएका बैंकहरुले कम ब्याजदरमै कर्जा उपलब्ध गराउन सक्नेछन । ऋणीले बेस रेट हेरेरै कर्जा लिनका लागि बैंक छनोट गर्न सक्नेछन् । हाल बैंकहरुले कर्जाको प्रकृतिअनुसार बेस रेटमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिने गरेका छन् । त्यसमा पनि बैंक र कर्जाको प्रकृति अनुसार फरक पनि हुने गर्दछ ।

तर, पछिल्लो केही समयदेखि निरन्तर घटीरहेको बेस रेटकै कारण धेरै ऋणीलाई राहत मिलिरहेको देखिन्छ । सस्तो ब्याजमा ऋण लिएर व्यापार व्यवासाय संचालन गर्न पनि सहज हुने अवस्था छ । यद्यपि, कर्जाको माग भने न्युन नै छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएर बसेको अवस्था छ ।

लगानीयोग्य रकम बैंकमा निरन्तर थुप्रिएसँगै ब्याजदर पनि घट्दो क्रममा नै छ । बैंकहरुको निक्षेपको ब्याजदर घटेपछि लागत पनि घटेको छ। यसरी लागत घट्दा बेस रेट पनि निरन्तर घटेको हो । हाल सम्पूर्ण बैंकहरुले एकल अंकको ब्याजदर कर्जा दिन सक्ने अवस्थामा छन् । ती बैंकहरुको बेस रेट पनि १० प्रतिशत भन्दा कम नै छ ।

भदौ महिनाको बेस रेटका आधारमा सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिन सकिने देखिन्छ । हाल बैंकको आधार दर ६.६६ प्रतिशत छ ।

यस्तै, एभरेष्ट बैंकको बेस रेट पनि ७.२९ प्रतिशत, नबिलको ७.४२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ७.६४ प्रतिशत, ग्लोबल आइएमईको ७.७७, सानिमाको ७.८३, सिद्धार्थको ७.९३, प्रभुको ७.९५, कृषि विकासको ७.९६ र एनएमबिको ७.९८ प्रतिशत रहेको छ । यी बैंकहरुबाट कर्जा लिँदा ब्याज न्युन हुने देखिन्छ ।

बेस रेटकै तुलनामा महँगो ब्याज भने एनआइसी एशियाको हुने देखिन्छ । हाल बैंकको बेस रेट ९.२२ प्रतिशत छ ।


प्रतिक्रिया दिनुहोस्