बैंकहरुको नयाँ ब्याजदर: ९ वटाले घटाउँदा दुई सरकारी बैंकले मात्रै बढाए, कुनमा पैसा राख्दा कति ब्याज ? « Arthapath.com
६ असार २०८२, शुक्रबार

बैंकहरुको नयाँ ब्याजदर: ९ वटाले घटाउँदा दुई सरकारी बैंकले मात्रै बढाए, कुनमा पैसा राख्दा कति ब्याज ?



काठमाडौं । बैंकहरुले आगामी असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले भोलि अर्थात् असोज १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर प्रकाशन गरेका हुन् ।

असोजमा महिनाका लागि दुई वटा बैंकले मात्र ब्याजदर बढाएका छन् । प्रकाशित ब्याजदर अनुसार ९ वटा बैंकले भने घटाएका छन् । बाँकी ८ वटा बैंकले भने भदौ महिनाकै ब्याजदर नै निरन्तरता दिएका छन् ।

असोज महिनाका लागि बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ औसत ६.३९८ प्रतिशत र संस्थागत तर्फ ५.१०२ प्रतिशत ब्याजदर तोकेका छन् । व्यक्तिगत तर्फ औसतमा ०.१३० प्रतिशत र संस्थागत तर्फ ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन् ।

भदौ महिनाका लागि बैंकहरुको औसत ब्याजदर व्यक्तिगत तर्फ ६.५२८ प्रतिशत र संस्थागत तर्फ ५.२५८ प्रतिशत रहेको थियो।

सरकारी दुई बैंकले बढाए ब्याजदर

असोज महिनाका लागि सरकारी दुई बैंकले भने ब्याजदर बढाएका छन् । कृषि विकास र नेपाल बैंकले मात्रै बढाएका छन् । भदौको तुलनामा यी दुई बैंकले व्यक्तिगत तर्फ क्रमशः ०.००५ प्रतिशत र ०.७ प्रतिशत बिन्दु बढाएका छन् ।

असोजमा कृषि विकास बैंकले मुद्दति निक्षेपको व्यक्तिगततर्फ ६.०७ प्रतिशत र नेपाल बैंकले ५.९५ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् । भदौमा भने कृषि विकासले व्यक्तिगत तर्फ ६.०६५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज प्रदान गरेको थियो । यस्तै, नेपाल बैंकले पनि भदौमा व्यक्तिगत तर्फ ५.२५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिइएको थियो ।

९ वटा बैंकको ब्याजदर घट्यो

असोज महिनाका लागि एनएमबि, कुमारी, प्राइम, सानिमा, नेपाल एसबिआई , नबिल, एनआइसी एशिया, एभरेष्ट बैंकले ब्याजदर घटाएका छन् । असोज महिनाका लागि एनएमबि बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत ब्याज दिने भएको छ ।

यस्तै, कुमारीले व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत, प्राइमले व्यक्तिगत तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत, सानिमाले व्यक्तिगत तर्फ ५.९ प्रतिशत संस्थागत तर्फ ४.३ प्रतिशत, नेपाल एसबिआईले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएको छ ।

यता, नबिल बैंकले पनि व्यक्तिगत तर्फ ६.७५ प्रतिशत र संस्थागत तर्फ ५.७५ प्रतिशत, एनआइसी एशियाले व्यक्तिगत तर्फ ७.१८ प्रतिशत र संस्थागत तर्फ ६.१८ प्रतिशत र एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याजदर तोकेका छन् । यता, असोज महिनामा राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ। भदौमा भने बैंकले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६.०७ प्रतिशत र ५ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

९ बैंकको ब्याजदर यथावत, भदौ महिनाकै ब्याजदरलाई निरन्तरता

असोज महिनामा ९ वटा बैंकको ब्याजदर भने यथावत देखिएको छ । ती बैंकहरुले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । असोज महिनाका लागि प्रभु, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, सिटिजन्स, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

प्रकाशित विवरणअनुसार प्रभु बैंकले असोज महिनामा पनि व्यक्तिगत तर्फ ६.१ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगत तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेका छन् ।

यता, लक्ष्मी सनराइज सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट बैंकहरुले भने व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६.५ प्रतिशत र ५.५ प्रतिशत (बराबरी) ब्याजदर दिने भएका छन् ।

त्यसैगरि सिटिजन्स बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत, हिमालयनले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत र माछापुच्छ्रेले पनि व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्