१९ वटा वाणिज्य बैंकको लाभांश घोषणा हुन् बाँकी, कसले कति दिन सक्छन् ? « Arthapath.com
६ आश्विन २०८१, आईतवार

१९ वटा वाणिज्य बैंकको लाभांश घोषणा हुन् बाँकी, कसले कति दिन सक्छन् ?



काठमाडौं । यो वर्षका लागि लाभांश सिजन सुरु भईसकेको छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट तीन दर्जन बढी कम्पनीहरुको लाभांश घोषणा भइसेको छ ।

लाभांश घोषणा गरेका मध्ये अधिकांश म्युचुअल फन्डहरु छन् । त्यस बाहेकका केही हाइड्रोपावर, लघुवित्त लगायतका कम्पनीले पनि लाभांश घोषणा गरिसकेका छन् ।

तर, वाणिज्य बैंक तर्फ भने एभरेष्ट बैंक नै यो वर्षको पहिलो लाभांश घोषणा गर्ने बैंक बनेको छ । गत आवको मुनाफाबाट एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । यो वर्षका लागि बैंकले १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश (बोनस र नगदमा लाग्ने कर समेत) दिने भएको छ। यद्यपि, गत आवमा बैंकले २९.८६ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको थियो ।

एभरेष्ट बाहेकका अब १० वटा बैंकहरुले लाभांश घोषणा गर्न बाँकी छ । ती मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, कुमारी र एनआइसी एशिया बैंकले भने लाभांश दिन सक्ने अवस्थामा छैनन् । गत आवमा यी बैंकहरुको वितरणयोग्य नाफा क्रमशः ३ अर्ब ४३ करोड ९ लाख, ५ अर्ब ७८ करोड ४६ लाख, ३ अर्ब ७८ करोड ८९ लाख र २ अर्ब ३० करोड ४० लाख रुपैयाँ ऋणात्मक छ । गत वर्ष ३०.५३ प्रतिशत लाभांश बाँडेको एनआइसी एशिया पनि यो वर्ष भने बाँडन् नसक्ने अवस्थामा देखिएको छ ।

एभरेष्टपछि सबैभन्दा उच्च लाभांश क्षमता भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको २६.५ प्रतिशत छ । बैंकले गत आवमा आफ्ना सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश मात्रै दिएको थियो ।

यस्तै, यो वर्षका लागि कृषि विकास बैंकले पनि १७.३७ प्रतिशत लाभांश दिन सक्ने हैसियतमा छ । अघिल्लो आवमा बैंकको लाभांश क्षमता ९.२४ प्रतिशत हुँदा पनि सेयरधनीको हात रित्तो बनाएको थियो । तर, यो वर्ष भने लाभांश क्षमता वृद्धि गरेको छ । यता, नबिल बैंकले पनि यो वर्ष १४.२६ प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य बनाएको छ । सर्वाधिक खुद नाफा आर्जन गरेको यो बैंकले गत आवमा पनि आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दिएको थियो ।

यता, नेपाल एसबिआई बैंकले पनि यो वर्षका लागि १०.७६ प्रतिशत र सानिमा बै.कले १०.४ प्रतिशत लाभांश दिन सक्ने मुनाफा कमाएका छन् । नेपाल एसबिआईको अघिल्लो आवमा पनि १०.५८ प्रतिशत लाभांश क्षमता हुँदा आफ्ना सेयरधनीलाई १०.५५ प्रतिशत बाँडेको थियो । यता, सानिमाले पनि गत वर्ष १४.७० प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको थियो । यद्यपि, उसको लाभांश क्षमता १७.७८ प्रतिशत रहेको थियो ।

यो वर्ष एभरेष्ट, स्टयण्डर्ड चार्टर्ड, कृषि विकास र नबिल, नेपाल एसबिआई र सानिमा बाहेकका अन्य बैंकको लाभांश क्षमता १० प्रतिशत भन्दा कम छ । गत आवमा मुनाफाबाट यो वर्षका लागि प्राइम बैंकले पनि ६.१८ प्रतिशत लाभांश दिन सक्ने हैसियत बनाएको छ ।

यस्तै, लक्ष्मी सनराइजले ५.५० प्रतिशत, नेपाल बैंकले ५.२४ प्रतिशत, प्रभुले ५.२ प्रतिशत, सिटिजन्सले ४.३४ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.०१ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएका छन् । यी मध्ये गत आवमा भने नेपाल बैंक र प्रभु बैंकले लाभांश दिएनन् ।

यस्तै, सबैभन्दा अब्बल मानिने ग्लोबल आइएमई बैंकले यो वर्षका लागि ३.०६ प्रतिशत लाभांश बाँडन् सक्ने सामार्थ्य बनाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो क्षमता ९.०७ प्रतिशत रहेको थियो । गत वर्ष आफ्ना सेयरधनीलाई ग्लोबल आइएमईले ९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यता, सिद्धार्थ र एनएमबि बैंकको लाभांश क्षमता पनि क्रमशः २.६ प्रतिशत र १.३ प्रतिशत रहेको छ । अघिल्लो आवको मुनाफाबाट गत वर्ष यी दुई बैंकले क्रमशः ४.२१ प्रतिशत र ८.२५ प्रतिशत लाभांश बाँडेका थिए ।


प्रतिक्रिया दिनुहोस्