‘कर्मचारी, सेयर धनी र ग्राहकको विश्वास जितेर सेवा दिइरहेका छौँ’ सञ्जीव मानन्धरसँगको अन्तरवार्ता
सञ्जीव मानन्धर, सीईओ, प्राइम कमर्शियल बैंक
२०६४ असोज ७ गते देशको २१ औँ वाणिज्य बैंकको रूपमा प्राइम कमर्शियल बैंकले नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको थियो । त्यसयता विराटलक्ष्मी विकास बैंक, कन्ट्री डेभेलपमेण्ट बैंक, कनकाई विकास बैंक र कैलाश विकास बैंक गाभेर अहिलेको प्राइम कमर्शियल बैंक बनेको हो । आज बैंकसँग १९४ शाखा, १९ अर्बभन्दा बढी चुक्ता पुँजी सहित ३१ अर्बभन्दा धेरै पूँजीकोष, २ खर्ब १३ अर्बभन्दा बढी निक्षेप र १ खर्ब ९५ अर्बभन्दा धेरै कर्जा तथा सापटी परिचालन गरेरिरहेको छ । १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको विगत, वर्तमान र भविष्यबारे अर्थपथले प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरसँग गरेको छोटो कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
प्राइम बैंक खोल्नुको उद्देश्य के थियो ? जुन खालको सम्भावना देखेर बैंक खोलिएको थियो, त्यो पूरा भएको छ ?
आजभन्दा १७ वर्ष अघि बैंकहरू त थिए, तर धेरै जनताको पहुँचमा पुग्न सकेको थिएन । सबै वर्गको पहुँचमा बैंकिङ सेवा पुग्न सकेको थिएन । सबै ठाउँमा पहुँच पुर्याउनका लागि हामीले प्राइम कमर्शियल बैंक खोलेका थियौँ । त्यसमा धेरै हदसम्म बैंक सफल पनि भयो ।
त्यही समयमा अरू पनि बैंकहरू खुले । ती बैंकहरू पनि सोही उद्देश्यका साथ खुलेको हुनुपर्छ । त्यसैले पनि अहिले हरेक वर्गका मान्छेले बैंकिङ सेवा पाइरहेका छन् । हाम्रो उद्देश्य नै सबै वर्गमा बैंकिङ पहुँच पुर्याउनु थियो ।
कस्ता खालका मान्छेलाई सेवा दिने योजना थियो ?
सबै वर्गका व्यक्तिहरूलाई समेट्ने नै हाम्रो प्रमुख लक्ष्य थियो । उद्योगी, साना तथा मझौला उद्यमी, साना कृषकदेखि उपभोक्तासम्मले बैंकमा पहुँच पाउनुपर्छ । यसले नै सबै व्यक्तिको जीवनस्तर उकास्ने हो । बैंकको साथ भएपछि मात्र सबैको जीवनस्तर उकास्न सकिन्छ भन्ने बुझेर हामीले सुरु गरेका हौँ ।
त्यही अनुसार हामीले सिमेन्ट फ्याक्ट्रीमा लगानी गरेका छौँ । हाइड्रोपावरमा लगानी गरेका छौँ । सबैभन्दा पहिला र सबैभन्दा बढी हाइड्रोपावरमा लगानी गर्ने हाम्रै बैंक हो । मलाई जहाँसम्म लाग्छ, हाम्रो बैंक हाइड्रोपावर लगानी गर्नेको उच्च श्रेणीमै पर्छ । प्राइम बैंकले कुल कर्जाको १२ प्रतिशत लगानी हाइड्रोपावर गरेको छ ।
घरजग्गामा लगानी गरिरहेका बैंकलाई खोलानालामा लगानी गर्नुपर्दा गाह्रो थियो । तर प्राइम बैंकले हाइड्रोपावरको महत्त्व बुझेर खोलानालामा लगानी सुरु गर्यौँ । आजसम्म हामीले धेरै हाइड्रोपावरमा लगानी गरिसकेका छौँ । उद्योग, साना तथा मझौला उद्यम व्यवसाय, उपभोक्ता, सुन, घर कर्जा लगायत क्षेत्रमा ऋण प्रवाह गरिरहेका छौँ । हामीले सानादेखि ठुलासम्म सबैलाई समेटेका छौँ ।
उद्योगमा कति लगानी छ ? तथ्याङ्कगत हिसाबमा के छ ?
तथ्याङ्क हेर्ने हो भने हाइड्रोपावरमा १२ प्रतिशत लगानी गरेका छौँ । अरू बैंक भन्दा बढी छौँ यसमा । अरू उद्योगहरूमा, सिमेन्टमा हामीले राम्रै गरेका छौँ । पोल्ट्री सेक्टरमा पनि राम्रै काम गरेका छौँ । विभिन्न क्षेत्रमा हाम्रो लगानी छ ।
हाम्रो कुल कर्जा १ खर्ब ९३ अर्बमध्ये २१ अर्ब ६८ करोड रुपैयाँ जलविद्युत् क्षेत्रमा मात्रै प्रवाह गरिएको छ । २० अर्ब २३ करोड रुपैयाँ कृषि क्षेत्रमा प्रवाह भएको छ । हामी अर्थतन्त्रका आधारभूत क्षेत्रहरुको उत्थानमा लगानी गरिरहेका छौँ । यो हाम्रो बैंकको संकल्प पनि हो ।
प्राइम बैंकको फोकस कुन स्तरका व्यक्ति अथवा संस्था हो ?
हामीले सबै वर्ग र स्तरका व्यवसायीलाई समेटेका छौँ । प्रत्येक जिल्ला, प्रत्येक वर्गका किसानदेखि लिएर सबै ठाउँमा पुगेका छौँ । किसान कर्जा, सुन कर्जा, सबै प्रकारका उद्योग वर्ग र नेपाल भरिका जनतालाई सेवा प्रदान गरिरहेका छौँ । हामीले सबैलाई समेट्नु पर्छ । बैंक भनेको सबैको साथी हो । त्यसरी सबै व्यक्तिको जीवनस्तर उकास्ने हो नि त ।
प्राइम बैंक स्थापना कालदेखि हेर्दा सेयर धनी र आफ्ना कर्मचारीका लागि अब्बल बैंकको रूपमा रहँदै आएको छ । यो कसरी सम्भव भयो ?
कर्मचारीप्रति हामी सचेत छौँ । ती बाहेक पनि हामीले काम गर्ने वातावरण कसरी निर्माण गर्ने भन्ने बारेमा बढी जोड दिएका छौँ । भर्ती र अवकाशको तीव्रता हाम्रो बैंकमा धेरै कम छ । माथिल्लो तहका कर्मचारी नगन्या मात्र कर्मचारीहरू जागिर छाड्ने र नयाँ भर्ती हुने अवस्था छ । मुख्य कुरा भनेको वातावरण हो । कर्मचारीको सुख दुःख हामीले बुझ्नुपर्छ ।
व्यवस्थापनमा बस्ने व्यक्तिले कर्मचारीको दृष्टिकोणबाट पनि हेर्नुपर्यो । बैंकभित्र काम गर्ने वातावरण कस्तो छ भन्ने नै हो । उनीहरूले सुरक्षित महसुस गर्नुपर्यो । प्राइम बैंकले भीआरएसको स्किम ल्याउँदैन । कर्मचारीमैत्री नीतिहरू बनाउँछौँ । दीर्घकालीन नीति निर्माण गर्ने हो । कर्मचारीको सुरक्षामा हामीले ध्यान दिइरहेका छौँ ।
सेयर धनीलाई राम्रो र स्थिर प्रतिफल दिनमा कसरी सफल हुनुहुन्छ ?
बैंक चलाउँदा कहाँ केन्द्रित भएर जाने भन्ने कुरा भयो । कुनै सेयर धनीले लगानी गरेको छ भने प्रतिफलको पनि आशा राखेको हुन्छ । त्यस कारण उहाँहरूलाई केही न केही प्रतिफल दिनुपर्छ भन्नेमा हामी केन्द्रित छौँ । प्रत्येक वर्ष कसरी बढीभन्दा बढी प्रतिफल प्रदान गर्ने भन्नेमा हामी सजक छौँ ।
त्यसको लागि बैंकभित्र व्यापार चाहियो । त्यो व्यापारलाई कसरी छिटो बढाउने भन्नेमा हामी प्रत्येक वर्ष नीति निर्माण गर्छौँ । बैंकलाई कसरी अगाडि बढाउने, नेपालको बैंकिङ क्षेत्रमा, अर्थतन्त्रमा के–के मौकाहरू छन् ? त्यसलाई हामीले पच्छ्याउँछौँ । नतिजामा लैजान्छौँ । व्यवसाय कसरी गर्ने भन्ने नीति छ । ग्रोथमा ध्यान दिन्छौँ । बिजनेसको ग्रोथलाई एकदम ध्यान दिन्छौँ ।
त्यो बाहेक मुख्य कुरा भनेको हाम्रो कर्मचारी हो । कर्मचारीलाई हामीले कसरी प्रेरित गर्ने ? कसरी स्किल बनाउने ? भन्ने कुरामा ध्यान दिन्छौँ । टर्न ओभर कम भएकोले पनि हामीलाई काम गर्न सजिलो छ । कर्मचारी, सेयर धनी र ग्राहकको विश्वास राम्रो छ । ग्राहकलाई परिवारको सदस्य झैँ व्यवहार गरेर काम गर्छौँ । ऋणीलाई खराब समयमा पनि साथ दिएर अगाडि बढेका छौँ ।
यी सबै कारणले गर्दा बैंकले राम्रो नाफा आर्जन गर्न सकेको छ । त्यही अनुसार हामीले प्रतिफल बढाइरहेका छौँ । उहाँहरू सन्तुष्ट हुनुहुन्छ । प्रत्येक वर्ष लाभांश पाउनु भएको छ । गत वर्ष समस्याले गर्दा हामीले दिन सकेनौँ । बाँकी सम्पूर्ण वर्षमा हामीले राम्रै प्रतिफल बारिडहेका छौँ ।
बैंक १८ वर्षमा प्रवेश गर्दै छ । जवान भइसकेको बैंकका आगामी चुनौतीहरू के के देख्नुभएको छ ?
कोभिड–१९ पछि जुन स्थिति सिर्जना भयो, त्यसबाट हामीले २ वर्षमा जस्तो खालको सङ्कट देखिइरहेको छ, बैंकिङ क्षेत्र पनि त्यो सङ्कटबाट हामी बाहिर निस्किसकेको अवस्था छैन । त्यो सङ्कटलाई सन्तुलन गरिराखेको अवस्था मात्र छ । बाहिर आएजस्तै त्यो सङ्कट समाधान भयो भन्ने कुरा पक्कै पनि होइन ।
निष्क्रिय सम्पत्ति (एनपिए) घटिसकेको अवस्था छैन । यसलाई थप बढ्न नदिने अवस्था चाहिँ तयार भएको छ । चुनौती भनेको पहिलाको एनपीएलाई कसरी तल झर्ने भन्ने नै हो । व्यापार व्यवसाय अझै पनि चलायमान भएको अवस्था छैन । उद्योगहरू कम क्षमतामा चलिरहेका छन् । अहिले नै अर्थतन्त्र राम्रो भइसकेको छैन ।
पहिलो कुरा भनेको अहिलेको अर्थतन्त्रलाई कसरी राम्रो बनाउने, उद्योगहरूलाई कसरी चलायमान बनाउने र बैंकिङ क्षेत्रको एनपीएलाई कसरी घटाउने भन्ने नै चुनौती हो । प्राइम बैंक त्यसैमा लागिरहेको छ । कर्जा असुलीमा विशेष ध्यान दिइरहेका छौँ ।
ती बाहेक कुनै पनि संस्थालाई ग्रोथ बढाउनु पर्ने चुनौती हुन्छ । त्यहाँ पनि हामी ध्यान दिइरहेका छौँ । गत आर्थिक वर्षमा पनि हामीले सोही कुरालाई ध्यान दिएका थियौँ । कर्जा १९ प्रतिशतले ग्रोथ गर्न सक्यौँ । अन्य आम्दानी पनि ३० प्रतिशतले बढायौँ । व्यवसाय विस्तार भनेको कुनै पनि संस्थाका लागि अक्सिजन जस्तै हो । यही कुरालाई मनन गरेर हामी अघि बढिरहेका छौँ ।
हामीले केही विकास बैंकमात्र मर्ज गरेका छौँ । ठुलो बैंक मर्ज गरेका छैनौँ । त्यो अवस्थामा पनि हामीले राम्रो भोल्यूममा व्यापार गरेर अगाडि बढेका छ