दशैँमा करीब १ खर्ब अतिरिक्त नगद बाहिरियो, कहिले आउला फिर्ता ? « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

दशैँमा करीब १ खर्ब अतिरिक्त नगद बाहिरियो, कहिले आउला फिर्ता ?



काठमाडौँ । यो दशैँमा नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्ने सुविधालाई स्थगित गरिदियो । वर्षौंदेखिको चलनलाई स्थगित गरेर केन्द्रिय बैंकले पुरानै तर नच्यातिएका नोटको सटही सुविधा दियो ।

एकातिर बाढी पहिरोका कारण मानिसहरु सामान्य अवस्थाको तुलनामा कमैमात्र गाउँ वा आफ्नो थातथलो फर्किए । त्यसमाथि नयाँ नोटको मोह पनि भंग भयो । यसले मानिसहरु नोट सटहीमा खासै आकर्षित भएको देखिएन ।

विगतमा वर्षमा रू. ५ देखि रू. १०० सम्मका हरेक नोट सय–सय ओटा भएको बण्डल नै बोकेर घरमा लगेर राख्ने प्रबृत्ति यसपालि धेरै हदसम्म निरुत्साहित भयो । बरु बजारबाटै खुद्रा पैसा साट्ने र आवस्यक भएको मात्रामा मात्रै नोट सटही गर्ने गरियो ।

यसले दशैँमा नयाँ नोट बजारमा जाने क्रम ज्यादै कम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हरेक साल दशैँमा २० देखि २५ अर्बको यस्तै खुद्रा नयाँ नोट साट्ने गरिएको देखिएको थियो । यो साल नोट सटही कम भए पनि बजारमा छरिएर रहने नगद पैसाको प्रवाह भने ह्वात्तै बढेको छ ।

दशैँको बेलामा करीब १ खर्ब रुपैयाँ बराबरको थप नगद नेपाल राष्ट्र बैंकबाट बाहिरिएको देखिएको छ । केन्द्रिय बैंकको आँकडा अनुसार भदौ ३१ मा चलनचल्तिमा रहेको नोटको रकम ६ खर्ब ६५ अर्ब ३३ करोड १० लाख हाराहारी थियो ।

तर असोज २३ गते अर्थात् फूलपातीको अघिल्लो दिनसम्म आउँदा यो रकम बढेर ७ खर्ब ६४ अर्ब ४१ करोड ४९ लाख पुग्यो । यसरी तीन सातामा ९९ अर्ब ८ करोड ३९ लाख रुपैयाँ थप नगद पैसा केन्द्रिय बैंकबाट बाहिर निस्किएको थियो ।

यो भनेको चलनचल्तिमा रहेको नगदको मूल्य करीब १५ प्रतिशतले विस्तार हुनु हो । दशैँले नगद पैसाको चलनचल्तिलाई यही १५ प्रतिशत प्रभाव पारेको देखिएको छ ।

दशैँ सकिएपछि भने केन्द्रिय बैंकको ढुकुटीमै नगद फर्किने क्रम सुरु भइसकेको छ । असोज ३० सम्म यस प्रकारको चलनचल्तिको मुद्रा केही कम भएर ७ खर्ब ६१ अर्ब ३१ करोड १३ लाखमा झरेको छ । तर यो भनेको ३ अर्ब १० करोडमात्रै फिर्ता आएको हो । १ खर्ब पैसा बाहिरिँदा करीब ३ प्रतिशतमात्रै केन्द्रिय बैंकमा फिर्ता भएको छ ।

बाँकी पैसा विस्तारै राष्ट्र बैंकमा फर्किन्छ कि केही पैसा बोरामा प्याक हुन्छ भन्ने अझै सुनिश्चित भएको छैन ।


प्रतिक्रिया दिनुहोस्