रिटेल फाइनान्सिङ गर्ने बैंकहरुको नाफामा गम्भीर धक्का, ग्रामीण अर्थतन्त्र उठ्न नसकेको संकेत « Arthapath.com
७ कार्तिक २०८१, बुधबार

रिटेल फाइनान्सिङ गर्ने बैंकहरुको नाफामा गम्भीर धक्का, ग्रामीण अर्थतन्त्र उठ्न नसकेको संकेत



काठमाडौँ । नेपाल राष्ट्र बैंकले कयौँ नियामकीय छुट दिँदा पनि केही ठूला बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाउन सकेनन् । गत वर्षको तुनामा ती बैंकको नाफा उल्लेख्य घटेको देखिएको छ । यसरी प्रहार खेप्नेमध्ये सबैभन्दा अग्र स्थानमा एनआईसी एसिया बैंक परेको छ ।

विगतमा ज्यादै आक्रामक विस्तार रणनीति अपनाएको यो बैंकले ‘कर्पोरेट’ कर्जालाई शीघ्र रफ्तारमा घटाएर ‘रिटेल’ पोर्टफोलियोमा रुपान्तरण गरेको थियो । ठूला घरानाहरुले कुनै पनि बेला वित्तीय प्रणालीमा जोखिम ल्याइदिन सक्ने भन्दै उसले वित्तीय परिचालन सामथ्र्यका आधारमा साना साना उद्यमी, व्यवसायी र उपभोक्तालाई कर्जा दिन थाल्यो ।

यो रणनीतिले विगतका वर्षमा देखिएका कयौँ समस्यासँग जुध्न उसलाई बल दिएको थियो । तर अहिले साना साना ऋणी नै बढी मर्कामा परेर कर्जा चुक्ता गर्न नसक्ने परिस्थिति बनेपछि एनआईसी समस्यामा परेको हो ।

एनआईसी एसियासँगै राष्ट्रिय बाणिज्य बैंक पनि यस्तै नराम्रोसँग फसेको देखिन्छ । सरकारी स्वामित्वको यो बैंकले पनि साना ऋणीहरुलाई ज्यादा प्राथमिकता दिँदै आइरहेको छ । वितेको साउनदेखि असोजसम्मको वित्तीय प्रतिवेदन हुेर्ने हो भने एनआईसी एसियाको नाफा ८९ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकको ८२ प्रतिशत खुम्चिएको छ ।

साना कर्जामा ज्यादा निर्भर भएको अर्को सरकारी बैंक हो, कृषि विकास । यो बैंकले चालू आर्थिक वर्षको ३ महिनामा १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत साल यही अवधिमा बैंक ८८ करोड ८० लाखभन्दा धेरै खुद नोक्सानमा थियो । यही कारण उसको यो सालको कारोबार त नाफामा देखिन्छ, तर यो नाफा औसत आँकडाभन्दा ज्यादै कम छ ।

वितेको ३ महिनामा २० करोड पनि नाफा आर्जन गर्न नसक्ने बैंकको सूचीमा यी तीन बैंक पर्छन् ।

यो तथ्यांकले नेपालको आन्तरिक अर्थतन्त्र, त्यो पनि ज्यादै ठूलो र छरिएर रहेको खुद्रा बजारको अर्थव्यवस्था अझै भयावह संकटबाटै गुज्रिरहेको संकेत गर्छ । मोटामोटी अर्बपतिहरुको वित्तीय विवरणमा धेरै दुर्दान्त समस्या नदेखिए पनि साना ऋणीहरु अझै गम्भीर चपेटाबाट गुज्रिरहेको देखिएको छ ।

यसले ती साना ऋणीहरुलाई कसरी यो संकटबाट बाहिर ल्याउने भन्ने चुनौती राज्य र केन्द्रिय बैंकमाथि भएको बैंकर बताउँछन् ।

त्यसबाहेक हिमालयन बैंकले पनि नाफा बढाउन सकेको छैन, बरु घटेको छ । विवेकशील नियमनमा ज्यादा सतर्क रहनुपर्ने धारणा राख्ने गरेको अशोक राणाको यो बैंकले गतसालभन्दा ३१ प्रतिशतले नाफा घटेको विवरण प्रकाशित गरेको छ ।

सानिमा, सिटिजन्स र माछापुच्छ्रे जस्ता मर्जरमा नगएका र तुलनात्मक रुपमले सानो आकारमा समेटिएका बैंकले पनि खुद नाफा अघिल्लो सालभन्दा घटेको विवरण प्रकाशित गरेका छन् । सिभिललाई गाभेको हिमालयन जस्तै मेगा बैंक गाभेको नेपाल इन्भेष्टमेण्टले पनि नाफा पोहोरभन्दा बढाउन सकेन ।

तर नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा लगभग पोहोरकै दाँजोमा पुगेको छ । उसको वित्तीय विवरण अनुसार ३.८२ प्रतिशतमात्रै नाफा घटेको देखिन्छ ।

यी वित्तीय विवरणहरु लेखापरीक्षण हुन बाँकी भएकाले लेखापरीक्षणपछि केही अंकहरु फेरबदल हुने संभावना भने कायमै छ ।


प्रतिक्रिया दिनुहोस्