‘असहज’ परिस्थितिमा पनि २० मध्ये १४ बैंकले कसरी बढाए सञ्चालन नाफा ? « Arthapath.com
१२ कार्तिक २०८१, सोमबार

‘असहज’ परिस्थितिमा पनि २० मध्ये १४ बैंकले कसरी बढाए सञ्चालन नाफा ?



काठमाडौँ । घरेलु अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा पनि अधिकांश बैंकहरुको सञ्चालन नाफा भने बढेको छ । उनीहरुले प्रकाशित गरेको प्रथम तीन महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार यस्तो देखिएको हो ।

ऋणीहरुले ब्याज तथा किस्ता तिर्न गाह्रो भइरहेको र नयाँ कर्जा प्रवाह हुन पनि बाधा परिरहेको अवस्थामा समेत बहुसंख्यक बैंकको मुनाफा बढेको हो । यसले निष्कृय कर्जा उठ्न सकेको खण्डमा अहिले बैंक बैंकहरुको वित्तीय स्वास्थ्य नाजुक नरहेको देखाएको छ ।

भलै, केही बैंकहरुको सञ्चालन नाफा समेत यो साल भारी मात्रामा घटेको देखिएको छ । पोहोर साल साउनदेखि असोजसम्म बैंकहरुले कुल २० अर्ब २८ करोड सञ्चालन नाफा कमाएका थिए भने यो साल २४ अर्ब ६ करोड पुगेको छ ।

यस अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने नबिल बैंक हो । ऊ एक्लैले ३ महिनामा २ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको छ । ग्लाबल आईएमईले २ अर्ब १५ करोड नाफा गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगाले पनि २ अर्ब ९ करोड नाफा कमाएको छ ।

तर गत साल यही अवधिमा सर्वाधिक सञ्चालन मुनाफा कमाउने इन्भेष्टमेन्ट मेगा यस पल्ट तेस्रो स्थानमा झरेको छ । उसले पोहोरको ३ महिनामा २ अर्ब ६१ करोड नाफा आर्जन गरेर सर्वाधिक सञ्चालन मुनाफा कमाएको थियो । यो साल ५१ अर्बले यस्तो नाफा खुम्चिएपछि उसको स्थिति कमजोर पर्न गएको छ ।

‘बीग मर्जर’ नगरेरै पनि प्राइम कमर्शियल बैंकले १ अर्ब ८३ करोड सञ्चालन नाफा कमाएको छ । यो चौँथो ठूलो नाफा कमाउने बैंक बनेको छ । त्यसपछि हिमालयन, एनएमबी, एभरेष्ट, कुमारी बैंकले पनि नाफा बढाएका छन् । गतसाल जम्मा ४४ करोड नाफा कमाएको कुमारीले यो वर्ष १ अर्ब ५५ करोड पुर्याएको छ ।

सञ्चालन नाफा घट्ने बैंकहरुको सूचीमा दोस्रो नम्बरमा प्रभू बैंक पर्छ । इन्भेष्टमेन्ट र प्रभू दुबै ‘बीग मर्जर’बाट आएका बैंक हुन् । प्रभूले गत साल १ अर्ब ५४ करोड कमाएकोमा यो साल १ अर्ब ४० करोडमा झरेको छ । स्ट्याण्डर्ड चार्टर्डको कारोबार ज्यादै सानो भए पनि सञ्चालन नाफाका हिसाबले यो देशकै मध्येम स्तरको बैंक हो ।

शीर्ष १० मा रहन सफल चार्टर्डले यो साल १ अर्ब २३ करोड र नेपाल एसबीआईले १ अर्ब २१ करोड नाफा कमाएका छन् । यस बाहेकका बैंकहरुभने १ अर्बभन्दा कमैमात्र सञ्चालन नाफामा देखिएका छन् । माछापुच्छ्रे, लक्ष्मी सनराइज, नेपाल बैंक, सानिमा र सिद्धार्थ बैंकले ५० करोडभन्दा बढी नै नाफा कमाएका छन् ।

गत वर्ष ९१ करोड सञ्चालन घाटामा देखिएको कृषि विकास बैंकले यो तीन महिनामा ३० करोड नाफा कमाएको छ । सिटिजन्सले २८ करोड, राष्ट्रिय बाणिज्य बैंकले २१ करोड र एनआईसी एसिया बैंकले १७ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएका छन् । एनआईसी एसिया र राष्ट्रिय बाणिज्यको सञ्चालन नाफा पोहोरको तुलनामा ब्यापक मात्रामा घटेको छ ।

बैंकिङ प्रणालीमा सञ्चालन नाफाले वित्तीय क्षेत्रको परिदृष्य देखाउँछ । यो साल ६ ओटा बैंकको सञ्चालन नाफा घटेको देखिए पनि एनआईसी एसिया, राष्ट्रिय बाणिज्य र सिटिजन्सबाहेक अरु बैंकहरुको अवस्था ज्यादै दयनीय छैन । यसले आगामी दिनमा वित्तीय प्रणालीका सूचकहरु सकारात्मक आउनसक्ने संभावनालाई बलियो बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्