गलत व्यवस्थापनले नेपाल बैंक खस्कियो भन्ने सुन्न नपरोस् : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गलत व्यवस्थापनले बैंकको अवस्था नबिगार्न नेपाल बैंकका सञ्चालक र व्यवस्थापनलाई आग्रह गरेका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सबलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले नेपाल बैंक धेरै दुखले रिकभर भएको स्मरण गराउँदै व्यवस्थापनलाई बलियो बनाउन समेत आग्रह गरे । ‘यो बैंक धेरै दुख गरेर रिकभर भएको बैंक हो । कुनैसमय नेपालका पब्लिक सेक्टर बैंकको अवस्था झन्डै ६० प्रतिशत एनपिए पुगेको थियो । त्यसमा राज्यले, रेगुलेटरीले ठूलो लगानी गरेर, बाह्य ऋणसमेत लिएर यसलाई रिकभर गरेको हो । तत्पश्चात जतिपनि पोलिसी र गाइडलाइन्स बैंकभित्र बने, जेजति म्यानपावर सयन्त्र बने त्यसले यी बैंकलाई वास्तवमै नयाँ रुप दिएको छ । हिजोका प्राक्टिसहरू, हिजोका मिसम्यानेजमेन्टहरू हटेर नयाँ किसिमले अघि बढिसकेको छ’ उनले भने ।
बैंकले ग्राहक सन्तुष्टिलाई ध्यान दिनुपर्ने उनले बताए । ‘व्यवस्थापनले कर्मचारीलाई सन्तुष्ट बनाउन जरुरी छ । कर्मचारीलाई ग्राहकलाई सन्तुष्टि दिन सक्नुपर्छ । कर्मचारी समस्या जहाँबाट सुरु भएको छ । त्यही निमिट्यान्न पार्नुपर्छ। बैंकिङ सिस्टमभित्र यो रोग बढ्दै गइरहेको छ। यो सुधार्नु जरूरी छ’ उनले भने ।
लगानी उत्पादनशील क्षेत्रमा जाओस् भन्ने हो । यहाँहरूले गरिरहनुभएको पनि छ । प्रविधिको बढ्दो प्रयोगसँगै जोखिम पनि बढेको छ । यसतर्फ ध्यान दिनु आवश्यक छ।
गभर्नर अधिकारीले नेपाल बैंकको मुक्तकण्ठले प्रशंसा समेत गरे । ‘नेपालको बैंकिङ इतिहासमा पहिलो संस्थागत बैकिङ सुरुवात गर्ने बैंकले यो इतिहासलाई विभिन्न आरोह अवरोहका साथ निर्वाह गर्दै आइरहेको छ । यो बैंकले कति आर्थिक योगदान गर्यो होला ? नेपालको अर्थतन्त्रलाई कति योगदान गर्यो होला ? यो बैंकले कति उद्यमी जन्मायो होला ? कति उद्यमीलाई इन्करेज गर्यो होला ? त्यसको लेखाजोखा गरेर साध्य छैन’ उनले भने । यसका लागि नेपाल बैंक बधाईको पात्र रहेको समेत उनले बताए । ‘बैंकले जे गरेको छ सराहनीय प्रगति गरेको छ । यो प्रगतिलाई दिगोपन दिने भन्ने कुरा महत्वपूर्ण छ’ उनले थपे ।
नेपाल राष्ट्र बैंक नियामक भएकोले सबैलाई एउटै लेयरमा राख्ने उनले बताए । सबैले एकै खालको व्यवस्थाभित्र बसेर प्रतिस्पर्धात्मक सेवा प्रवाह गरोस् भन्ने नीति राष्ट्र बैंकले लिएको उनले बताए । ‘निजी बैंकभन्दा फरक गरिने छैन। प्रतिस्पर्धा गर्ने कुरामा कही पछि पर्न हुँदैन । कमर्सियल डिसिजन गर्नुपर्छ । अन्य १९ वटा बैंकसँग प्रतिस्पर्धा गर्नुपर्छ ‘ उनले भने।
गभर्नर अधिकारीले कर्मचारी युनियनले उठाएको विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले नेपाल बैंकलाई ८८औं वार्षिकोत्सबको अवसरमा प्रगतिसहित शुभकामना समेत दिएका छन् ।