शिथिल अर्थतन्त्रको असर : घर भाडा घटाउन बार्गेनिङ गर्दै बैंक « Arthapath.com
२४ मंसिर २०८१, सोमबार

शिथिल अर्थतन्त्रको असर : घर भाडा घटाउन बार्गेनिङ गर्दै बैंक



काठमाडौँ । कुमारी बैंकले कुनै बेला काठमाडौँको न्यूरोड शाखामा शाखा सञ्चालन गर्न घर भाडामात्रै मासिक १३ लाख रुपैयाँ तिर्दै आएको थियो । तर अब उसले अब विस्तारै खर्च कटौति गर्दै मासिक १० लाखमा झरेको छ । त्यो खर्च पनि धान्न मुस्किल भए पनि अब मासिक ३ लाख भाडा तिर्ने गरी नयाँ घरमा शाखा कार्यालय सार्दै छ ।

प्रभू बैंकले पनि भाडा घटाउनलाई अधिकांश शाखा कार्यालय रहेका घरधनिलाई आग्रह गरिरहेको छ । विद्यमान आर्थिक संकटलाई कारण देखाउँदै बैंकले घरधनिहरुसँग यस्तो आग्रह गरेको हो । त्यसमा कतिपय शाखा रहेका घरधनिले बैंकको प्रस्ताव स्वीकार गरेको बैंकका अधिकारीहरु बताउँछन् ।

जसले प्रस्ताव अस्वीकार गर्छ, त्यस्तो क्षेत्रमा नजिकै सस्तो भाडाको घर खोजि भइरहेको बैंकका एक बरिष्ठ अधिकारीले जानकारी दिए । ‘बैंकिङ कारोबार नै खुम्चिएको छ । निक्षेप राख्ने, कर्जा लगानी गर्न नसक्ने शाखाहरु धेरै भएका छन्’, उनले भने, ‘त्यस्ता शाखालाई महँगो भाडा तिरेर सञ्चालन गर्न कठीन हुन थालेको छ ।’

ग्लोबल आईएमई बैंकले पनि आफ्ना थुप्रै शाखाहरु स्थानान्तरण गर्ने प्रक्रियामा रहेको बताएको छ । ‘धेरै टाढा लान त मिल्दैन, तर महँगो भाडा भएका शाखाहरुलाई दुई–चार घर वरपर सार्न सक सञ्चालन खर्च कम हुन्छ भन्ने आँकलन छ’, बैंकका एक पदाधिकारीले भने ।

यी त केवल प्रतिनिधी उदाहरण हुन् । अहिले बैंकहरु घर भाडा घटाउने देखि सुरक्षा गार्डहरुको संख्या कटौति गर्नेसम्म उपाय लगाएर सञ्चालन खर्च कम गर्ने कोसिसमा लागेका छन् । एभरेष्ट बैंकले पनि आफ्ना कतिपय शाखामा कर्मचारी र सुरक्षा गार्डको संख्या घटाइरहेको बताएको छ ।

यसले बैंकहरु सञ्चालन खर्च कम गर्ने अभियानमा कुन हदसम्म अघि बढेका छन् भन्ने संकेत गर्छ । आर्थिक कारोबारमा आएको शिथिलताको असर बैंकहरुको यस प्रकारको कदमले पनि चरितार्थ गर्ने बैंकर बताउँछन् ।

चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणहरुले पनि २० मध्ये ५ बाणिज्य बैंकले सञ्चालन खर्च कटौति गरेको देखिन्छ । यो रफ्तारमा सबैभन्दा अगाडी कुमारी बैंक छ । कुमारीले गत आवको पहिलो त्रैमासको तुलनामा यो त्रैमासमा ५ करोड ५९ लाख रुपैयाँ खर्च घटाएको अपरिस्कृत वित्तीय विवरणमा देखिन्छ ।

त्यस्तै, हिमालयन बैंकले पनि ५ करोड ३५ लाखभन्दा धेरै खर्च घटाएको देखिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड ६४ लाख, कृषि विकास बैंकले १ करोड ११ लाख र सानिमा बैंकले १९ लाखभन्दा धेरै खर्च कटौति गरेको देखिन्छ । एनएमबी बैंकले खर्च घटाउन त सकेको छैन, तर उसले सञ्चालन खर्चलाई स्थिरप्रायः राखेको छ ।

पछिल्लो एक वर्षमा समग्र बाणिज्य बैंकको सञ्चालन खर्च तथा मूल्यह्रास (डिप्रिसियशन) औसत ७.४८ प्रतिशत बढेको छ । पछिल्ला वर्षहरुमा हेर्ने हो भने यो बृद्धि निकै न्यून हो । पहिलो त्रैमासको आँकडालाई हेर्दा अघिल्ला वर्षहरुमा बैंकको सञ्चालन खर्च योभन्दा धेरै बढेको देखिएको थियो ।

भलै गत आर्थिक वर्ष २०८०/८१ मा बाणिज्य बैंकहरुको सञ्चालन खर्च केवल १ प्रतिशतको साँघुरो बृद्धि देखिएको थियो । तर त्यसो हुनुमा ठूला बैंकहरुको मर्जर मुख्य कारण थियो । २०७९ असोजदेखि २०८० असोजका बीचमा ७ वटा बाणिज्य बैंकहरु मर्जरका कारण अस्तित्व विहिन भएका थिए ।

सनराइज, सिभिल, सेञ्चुरी, बैंक अफ काठमाण्डू, एनसीसी, मेगा र नेपाल बंगलादेश बैंक मर्जर तथा एक्वीजिशनको हिस्सेदार बने । यसरी ७ वटा बाणिज्य बैंक घटेपछि त्यसबाट ठूलो प्रशासनिक खर्च जोखिएको थियो । यसैको परिणाम स्वरुप गत आवमा सञ्चालन खर्चको बृद्धि कम देखिएको हो ।

त्यसअघिका ५ वर्षलाई हेर्ने हो भने बाणिज्य बैंकहरुको सञ्चालन खर्च वार्षिक औसत १८ प्रतिशतभन्दा फराकिलो रफ्तारमा बढेको देखिन्छ । २०७४/७५ मा यो बृद्धि ३६ प्रतिशतभन्दा माथि पुगेको थियो । तर अहिले बैंकहरुले शाखा विस्तारलाई धिमा गतिमै सही, अहिले पनि जारी राखेका छन् ।

तर कर्मचारी घटाएर र साजसज्जामा न्यून लगानी गरेर भए पनि बैंकहरु सञ्चालन खर्च कम गर्ने रणनीतिमा छन् । यसको एक औजार चाहीँ घरभाडा भएको बैंकर बताउँछन् । एक बैंकरले भने, ‘अहिले धेरै स्थानमा घर तथा सटर खालि हुन थालेको छ । भाडामा बिक्न छाडेको छ । त्यसैले हामीले बार्गेनिङ गरेर घटाउने कोसिस गरिरहेका छौँ ।’

तर कतिपय बैंकर भने घर भाडा घटाउनका लागि घर धनिलाई राजी गराउन अझै मुस्किल परिरहेको बताउँछन् । ‘अलि सोझो मान्छे भए त घटाइदेला । तर बैंकको शाखा सार्नु पर्यो भने कति खर्च हुन्छ भन्ने थाहा पाएको घर धनिले चाहीँ भाडा घटाउन मान्दैनन्’, अर्का बैंकरले भन्छन् ।


प्रतिक्रिया दिनुहोस्