स्ट्याण्डर्ड चार्टर्डमा पहिलो पल्ट नेपाली सीईओ, गोरख राणाले जनवरीबाट नेतृत्व सम्हाल्ने
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पहिलो पल्ट नेपालीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । स्थापनाको ३७ वर्ष पछि बैंकले कुनै नेपाली नागरिकलाई शीर्ष व्यवस्थापनमा नियुक्ति दिएर नयाँ इतिहास रचेको छ ।
यस अघि बैंकले विदेशी नागरिकलाई मात्रै सीईओ नियुक्त गर्दै आएको थियो । गोरख शम्शेर राणा बैंकको नयाँ सीईओ नियुक्त भएको नेपाल स्टकएक्सचेञ्जले जानकारी दिएको छ । यस घटनाले नेपाली बैंकिङ क्षेत्रमा लामो इतिहास चिर्न सफल भएको बैंकिङ क्षेत्रका केही जानकार बताउँछन् ।
नेपाली बैंकिङ क्षेत्रमा थुप्रै त्यस्ता पात्र छन्, जो स्ट्याण्डर्ड चार्टर्डमै हुर्किएर बैंकिङ क्षेत्रको नेतृत्व गरेका छन् । शशिन जोशी, अनिल शाह, परशुराम कुँवर क्षेत्री, उपेन्द्र पौड्याल, अनुपमा खुञ्जेली, अजय श्रेष्ठ, सुनिल केसी, सुदेश खालिङ, लक्ष्मण रिसालजस्ता विद्यमान एवम् पूर्व सीईओहरु स्ट्याडर्ड चार्टर्डकै ‘उत्पादन’ हुन् ।
तर चार्टर्ड आफैँले भने नेपाली मूलको वा नेपाली नागरिकलाई सीईओ बनाएको थिएन । यो दौडमा पहिलो पल्ट बाजि मार्ने व्यक्ति राणा भएका छन् । उनी ३ वर्ष अघि सन् २०२२ को जनवरी १ मा बैंकको डेपुटी सीईओ नियुक्त भएका थिए ।
आजभन्दा ३० वर्षअघि सन् १९९४ मा बैंकको ‘रिटेल एण्ड प्राइभेट बैंकिङ विभाग’बाट ‘करियर’ सुरु गरेका राणा तीन दशकको कठीन मिहेनत पछि ब्रिटिश बहुराष्ट्रिय बैंकको नेपाल ईकाईमा शीर्ष स्थानमा पुग्न सफल भएका हुन् ।
सम्पत्तीका हिसाबले ब्रिटेनको पाँचौँ ठूलो र संसारको ४४ औँ ठूलो बैंक हो स्ट्याण्डर्ड चार्टर्ड । नेपालमा यो बैंकले खुद्रा लगानी भन्दा पनि अन्तरराष्ट्रिय भुक्तानी राफसाफमा ‘बैंकहरुको पनि बैंक’को भूमिका खेलिरहेको छ । यही कारण यस बैंकलाई केन्द्रिय बैंकले कयौँ नियामकीय छुटहरु दिएको छ ।
नवनियुक्त सीईओ राणाले यसअघि बैंकका कयौँ महत्वपूर्ण विभागको नेतृत्व गरिसकेका छन् । उनले रिलेशनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लायन्ट कभरेज हुँदै पछिल्लो समय ‘हेड अफ ग्लोबल बैंकिङ एण्ड कमर्शियल बैंकिङ’ को भूमिकामा थिए ।
अब आगामी १७ पुस अर्थात् जनवरी १ मा उनले औपचारिक रुपमा बैंकको नेतृत्व सम्हाल्ने छन् । बैंकको वर्तमान सीईओ अनिर्वाण घोष दस्तिदार दुबईमा सरुवा भएपछि राणा नयाँ सीईओ बन्ने भएका हुन् ।
स्ट्याण्डर्ड चार्टर्ड नेपाल ब्रिटिश बैंककै एक अंग हो । यसमा ७०.२१ प्रतिशत स्वामित्व स्ट्याण्डर्ड चार्टर्ड समूहकै छ । बाँकी २९.७९ प्रतिशत स्वामित्व भने नेपाली नागरिकको हातमा छ । यो बैंकलाई ईक्रा नेपालले ‘ट्रिपल ए’ रेटिङ दिएको छ, जुन असाध्यै बलियो आर्थिक हालतलाई जनाउँछ ।