बैंकिङ प्रणालीमा थुप्रियो पैसा, ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

बैंकिङ प्रणालीमा थुप्रियो पैसा, ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो।

अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको पुस १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यस अघि राष्ट्र बैंकले मंसिर २३ गते २१ दिनका लागि ७० अर्बको निक्षेप संकलन बोल गरेकोमा बैंकहरुले ९० अर्ब १० करोड राख्न चाहेकोमा राष्ट्र बैंकले प्रक्रिया पुगेको ७० अर्ब मात्र लिएको थियो । जसको औसत ब्याजदर २.९८ प्रतिशत कायम भएको थियो । त्यस्तै त्यसअघि मंसिर १९ गते २१ दिनका लागि ५० अर्बको बोल गरेकोमा बैंकहरुले २४ अर्ब ५ करोड बुझाएका थिए । जसको ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो।


प्रतिक्रिया दिनुहोस्