‘एनबीए’ निर्वाचनः अशोक शेरचन पछि हटेसँगै सन्तोष कोइराला बने ‘निर्विरोध’
काठमाडौं । नेपाल बैंकर्स संघको भावि अध्यक्षमा सहमति जुटेको छ । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको क्लब बैंकर्स संघमा लामो समयपछि मतदान हुने संभावना देखिएको थियो । तर यो संभावना अब टरेको छ । सोमबार भएको घनिभूत छलफलपछि प्रभू बैंकका सीईओ अशोक शेरचन अहिलेलाई अध्यक्षको दाबी छाड्न तयार भएका छन् ।
यसअघि वर्तमान उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र शेरचनले संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । शेरचनलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे, कुमारी बैंकका सीईओ रामचन्द्र खनाल लगायतको समर्थन रहेको बताइएको थियो ।
उता नबिल बैंकका सीईओ एवम् संघकै पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कोइरालालाई समर्थन गर्दै आएको चर्चा थियो । संघका अध्यक्ष एवम् एनएमबी बैंकका सीईओ सुनिल केसी पनि उपाध्यक्षलाई नै नेतृत्व हस्तान्तरण गर्ने सोचमा देखिएका थिए ।
तर अन्ततः चुनाव हुने स्थिति आएपछि उनी ढुंगाना र केसीको पहलमा सोमबारको छलफल आयोजना गरिएको स्रोतले बतायो । संघका पूर्व अध्यक्ष एवम् हिमालयन बैंकका सीईओ अशोक राणा तथा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ पनि छलफलमा सहभागि थिए । यस छलफलले निर्वाचन हुने स्थिति आउन नदिने गरी नतिजा निकालेको छ ।
संघको अध्यक्ष पदका लागि १३ वर्षपछि दुईजनाको उम्मेदवारी परेको हो । विधानले अध्यक्षको चयन निर्वाचन प्रक्रियाबाट हुने भने पनि उपाध्यक्ष नै अध्यक्ष बन्ने ‘परम्परा’ तयार हुँदै गएको थियो । जसअनुसार सन्तोष कोइराला भावी अध्यक्ष चयन हुनुपर्ने थियो ।
तर, मनोनयन दर्ताका क्रममा शेरचनले पनि दाबी पेश गरेपछि झण्डै डेढ दशकपछि संघको नेतृत्वका निम्ति मतदानमा जाने अवस्था बन्न लागेको थियो। तर अहिलेको विषम परिस्थितिमा बैंकर्स संघले सहमतिमै नेतृत्व चयन गरेर अघि बढ्नुपर्ने भन्दै बैंकरहरुले आग्रह गरेपछि शेरचन आफ्नो दाबीबाट पछि हट्न तयार भएका हुन् ।
‘सहमति’को प्रचलनलाई कायम राख्नुपर्ने पूर्वअध्यक्षहरुको प्रस्तावमा शेरचन सहमत भएसँगै अब उनले उम्मेदवारी फिर्ता लिन सहमति जुटेको छ ।
संघको ३८औं साधारण सभा आगामी बुधबार अर्थात् पुस ३ मा बोलाइएको छ । उक्त साधारणसभाबाट आगामी नेतृत्व चयन हुनेछ ।
आजभन्दा १३ वर्षअघि शशिन जोशी र अशोक राणाबीच चुनाव भएयता संघमा सहमतिमै उपाध्यक्षलाई अध्यक्ष बनाइँदै आएको छ ।
मिलेमतोको यही अभ्यासबाट विगतमा राजनसिंह भण्डारी, उपेन्द्रप्रसाद पौड्याल, अनिल केशरी शाह, ज्ञानेन्द्र प्रसाद ढुंगाना, भुवन कुमार दहाल, अनिल उपाध्याय र सुनिल केसी अध्यक्ष बनिसकेका छन्। अब भने सन्तोष कोइरालाको पालो आएको छ ।
उपाध्यक्षमा रेग्मीको ‘इन्ट्रि’
संघमा सबै पदाधिकारीको एकसाथ निर्वाचन हुँदैन । रिक्त पदमा मात्रै निर्वाचन वा चयन हुने अवस्था छ । बैंकको सीईओ पदमा विराजमान रहँदासम्म मात्रै यस संघको सदस्य बन्न पाइने विधानको व्यवस्थाका कारण संघका पदाधिकारीको कार्यावधि निश्चित नहुने अवस्था छ ।
कार्यकाल पुरा गरेरै पनि संघको कार्यसमितिबाट बाहिर बस्ने वा दोहोरिने चलन पनि छ ।
अहिले उपाध्यक्ष रहेका सन्तोष अध्यक्ष हुने भएपछि उनको ठाउँमा ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्र रेग्मी नयाँ उपाध्यक्ष बन्ने छन् । सम्भवतः यसपछिको अध्यक्षको ‘रोलक्रम’मा उनी खडा भएका छन् ।
यससँगै कार्यसमितिमा ३ जना सदस्याको पनि पद रिक्त भएको छ । कार्यसमिति सदस्यका रुपमा एक कार्यकाल पुरा गरेका सुदेश खालिङ पुनः यही पदमा दोहोरिने भएका छन् ।
बाँकी रिक्त दुई सदस्यमा कुमारी बैंकको सीईओ रामचन्द्र खनाल र नेपाल बैंकका सीईओ तिलकराज पाण्डे कार्यसमिति सदस्य बन्ने भएका छन् ।