घर बनाउन चाहनेको लागि नबिल बैंकको आकर्षक योजना : सस्तो ब्याजमै ६० प्रतिशतसम्म ऋण

काठमाडौं । सबैको सपना हुन्छ, सानै भएपनि एउटा आफ्नै घर होस् । तर आफ्नो सीमित कमाइले गर्दा हुने पुँजी अपर्याप्तताले गर्दा कतिपयले आफ्नो सपना पूरा गर्न सक्दैनन् ।
सामान्य व्यवसाय गर्ने वा जागिर खाने मानिसले आफ्नो जीवनभरको कमाइ वचत गरेर पनि घर बनाउन कठिन छ । आफूसँग भएको केही रकमले घर बनाउन सम्भव पनि हुँदैन । बढ्दो महंगीले बचत गर्ने हम्मेहम्मे पर्ने अवस्थामा थोरै थोरै रकम जम्मा गरेर घर बनाउन कठिन हुन सक्छ । तपाईं पनि यस्तै समस्याबाट गुज्रिनु भएको छ भने अब तपाईंको घर बनाउने सपना नबिल बैंकले पूरा गर्नेछ ।
घर बनाउन चाहनेहरूलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल अफोर्डेबल हाउजिङ लोन’ योजना ल्याएको छ । यो एक विशेष ऋण सुविधा हो, जसको उद्देश्य कम र मध्यम आय भएका व्यक्तिहरूलाई घर खरीद र निर्माण गर्न सहयोग पुर्याउनु ।
जुन कर्जा सस्तो र लचकदार छ । यस कर्जाले घरको सपना पूरा गर्न चाहने व्यक्तिहरूलाई वित्तीय सहायता पुर्याउँछ। तपाईसँग जग्गा छ, केही रकम पनि छ । तर त्यति रकमले घर बनाउन सम्भव नभएर आफ्नो घर बनाउने सपनालाई यतिकै थन्क्याएर राख्नुभएको छ भने तपाईंको घर बनाउने सपना नबिल बैंकले पूरा गरिदिन्छ । त्यो पनि सस्तो अनि किफायती । आफूसँग भएको पैसामा बैंकको ऋण थपेर घर बनाउन सकिन्छ ।
घर/अपार्टमेन्ट खरिद गर्न, भवनको मर्मत/विस्तार गर्न पनि ऋण प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यो ऋण नबिल बैंकका सबै शाखाहरूमा उपलब्ध छ।
के हो ‘नबिल अफोर्डेबल हाउजिङ लोन’ ?
यो कर्जा बैंकले घर बनाउन चाहनेहरूको लागि प्रदान गर्छ । घडेरी भएका तर पुँजी अभावले घर बनाउन नसकेकाहरूका लागि यो कर्जा उपयुक्त छ । घर बनाउनको लागि नबिलले ५० लाख रुपैयाँसम्म कर्जा दिनेछ । यो रकम जग्गाको मूल्य र आवश्यक कर्जाको आधारमा निर्धारण गरिन्छ ।
धितो मूल्यांकन अनुपात (लोन टु भ्यालु रेसियो) ६० प्रतिशतसम्म रहने बैंकले जनाएको छ । अर्थात् घरको मूल्यको ६० प्रतिशतसम्म कर्जा बैंकले प्रदान गर्नेछ । बाँकी ४० प्रतिशत भने आफैले जुटाउनुपर्नेछ । ऋण स्वीकृत गर्दा लाग्ने प्रशासनिक सेवा शुल्क ०.५ प्रतिशत लाग्ने बैंकले जनाएको छ ।
‘नबिल अफोर्डेबल हाउजिङ लोन’ को ब्याजदर अन्य कर्जाको तुलनामा सस्तो रहेको छ । बैंकका अनुसार आधार दरमा ०.७५ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर तोकिएको छ । अग्रिम भुक्तानी गर्न चाहेको खण्डमा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ । ऋणीले चाहेको खण्डमा अग्रिम भुक्तानी समेत गर्न सक्नेछन् ।
यसको अर्को फाइदा भनेको ऋणीले आजीवन २ लाखसम्मको निशुल्क क्रेडिट कार्ड पाउनेछन् ।जसले गर्दा घरायसी उपकरणहरू, फर्निचर वा अन्य सम्पत्तिहरू सजिलै खरिद गर्न सकिन्छ।
मासिक किस्ताबन्दीका आधारमा ऋण तिर्न सकिन्छ । जसले ऋण लिने व्यक्तिलाई सजिलै व्यवस्थापन गर्नको लागि सुविधा पुर्याउँछ । ऋणीले आय र कर्जा आकार अनुसार लचिलो किस्ताबन्दी छनोट गर्न सक्नेछन् ।
यस कर्जाको अवधि ३५ वर्षसम्मको रहेको छ । यसले कर्जा फिर्ता गर्नको लागि लामो समय उपलब्ध गराउँछ । जसले एकैपटक धेरै मासिक तिर्नबाट राहत प्रदान गर्छ र मासिक भुक्तानीलाई सहज बनाउँछ।
कस्तो छ प्रक्रिया ?
यदि तपाईंसँग घर बनाउनका निम्ति जग्गा छ, तर पुँजी अभावले घर बनाउन सकिरहनु भएको छैन भने तपाईं यो कर्जाको लागि योग्य पात्र हुनुहुन्छ । ऋणीले बैंकमा ऋणको लागि आवेदन दिएपश्चात बैंकले कर्जा आवेदन र कागजातहरूको मूल्याङ्कन गर्दछ।
बैंकले ऋण दिनुअघि तपाईंको आम्दानी कति छ भन्ने हेर्छ । तपाईको आम्दानीको स्रोत, ऋणको मासिक किस्ता तिर्न सक्ने क्षमता हिसाब गरेर मात्र बैंकले कर्जा उपलब्ध गराउँछ । बैंकले कतिसम्म ऋण दिनसक्छ भन्ने एउटा आधार ऋणीको आम्दानीलाई समेत मान्ने गरेको छ ।
यी आधारमा कर्जा आवेदन स्वीकृत गर्ने कि अस्वीकृत गर्ने बैंकले निर्णय गर्छ । आवेदन स्वीकृत भएको खण्डमा बैंकले ६० प्रतिशतसम्म घर कर्जा उपलब्ध गराउँछ । अर्थात् तपाईंको एकाघरका सदस्यको मासिक कमाइ एक लाख रुपैयाँ छ भने मासिक ६० हजार रुपैयाँ किस्ता पर्नेसम्म मात्र ऋण बैंकहरुले दिनेछन् । १८ वर्ष पुगेका र ७० वर्षभन्दा कम उमेरकालाई बैंकले यो कर्जा दिन्छ । यस कर्जाले मध्यम र कम आय भएका व्यक्तिहरूलाई सहजता प्रदान गर्ने विश्वास बैंकको छ ।