ग्लोबल आइएमई बैंकको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । चालु आर्थिक वर्षको पुस मासन्तमसम्म ग्लोबल आइएमई बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ । यो अवधिसम्म बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको थियो।
बैंकले समीक्षा अवधिसम्म ८ अर्ब २९ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.०९ प्रतिशतले कम हो । बैंकको खुद सञ्चालन आम्दानी २१.६१ प्रतिशतले बढेर ८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५० करोड ६७ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङको आकार बढेर २ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा २३ अर्ब ८७ करोड रुपैयाँ सञ्चित छ । इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब २० करोड रुपैयाँ छुट्टाएको बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत रहेको छ ।
यस्तै बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड रुपैयाँले ऋणात्मक अवस्थामा थियो । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १२.४९ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १६.०२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६९.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.८६ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६७९.७४ र तरलता अनुपात ३३.४६ प्रतिशत कायम भएको छ ।