राष्ट्रिय वाणिज्य बैंकको ६ दशकको यात्रा : संकटदेखि सबलसम्म, डिजिटल बैंकिङमा छलाङ

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको ५९औं वर्ष पूरा भइ ६० औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०२२ साल माघ १० गते सरकारको पूर्ण स्वामित्वमा स्थापित यस बैंकले विभिन्न आरोह अवरोहहरु पार गर्दै जनतालाई बैंकिङ सेवा पुर्याउने एवं वित्तीय पहुँचका साथै वित्तीय शिक्षा वृद्धि गर्ने कार्य जग्र भागमा रहेर गरिरहेको छ।
कुनै समय अस्तित्वमा नै संकट आएको यस बैंकले अहिले आम जनतामा विश्वास मात्र दिलाएको छैन दिनप्रतिदिन समृद्ध बन्दै गइरहेको छ । ६ दशकको अवधिमा यस बैक नविन सोच र संकल्पका साथ आजको प्रतिस्पर्धी बजारमा पनि आफुलाई अब्बल साबित गर्न सफल भएको छ।
खराब कर्जाको व्यवस्थापन, मानव संशाधन, ग्राहक सेवा, कर्जाको गुणस्तर, सस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, नियामकीय निर्देशनको पालना, सूचना प्रविधिको प्रयोग, डिजिटल बैंकिङ सेवा लगायतका क्षेत्रको सुधारमा बैंकले निरन्तर कार्य गर्दै आइरहेको छ। काजगी (ढड्डा) युगबाट सुरु भएको यस बैंक अहिले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड हुँदै अहिले क्यासलेस कारोबारमा पुगेको छ । बैंकले प्रविधिमा छलाङ नै मारेको छ ।
बैंकले यो आर्थिक वर्ष भित्र कुल शाखा संख्या ३३० पुर्याउने लक्ष्य राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बताए । सोही अनुरुप हाल बैंकले देशैभर २९४ वटा शाखाहरुबाट सेवा प्रवाह गरिरहेको छ । बैंकले तत्काल थप ९ वटा शाखाहरु सञ्चालनमा ल्याउँदै छ । त्यसैगरि थप ११ वटा शाखाहरु यहि चैत्र भित्र सञ्चालनमा आउन सक्ने गरि तयारी गरिएको उनले बताए । बाँकी शाखाहरु समयमा नै खोल्ने गरि काम भइरहेको उनको भनाइ छ ।
आजका दिनसम्म आईपुग्दा बैंकले ७१ विस्तारित काउण्टर, ३ सय १२ ए.टि.एम., २ हजार १२६ क्रेडिट कार्ड, १ हजार ९७४ पीओएस मेशिन, ७७ हजार ७६२ क्यूआर मर्चेन्ट र ९९ शाखा रहित बैकिङ सञ्जालमार्फत देशका ७ वटै प्रदेश र ७७ वटै जिल्लाका ४६ लाखभन्दा बढी ग्राहकहरुलाई बैकिङ सेवा प्रवाह गरिरहेका छन् ।
२०८१ पुस मसान्तसम्ममा बैंकको कुल निक्षेप ४ खर्ब ५० अर्ब रुपैयाँ, कुल कर्जा सापट रु.२ खर्ब ८४ अर्ब, चुक्ता पुँजी १५ अर्व ६३ करोड, कुल सम्पत्ती ५ खर्ब २६ अर्व तथा नेटवर्थ १२ अर्ब पुगेको छ। आर्थिक वर्ष २०८०/८१ को आषाढ मसान्तमा बैंकले २ अर्ब ५५ करोड नाफा आर्जन गर्न सफल रहेको यस बैंकले यस आर्थिक वर्षको पौष मसान्तमा ७६ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षमा बैंक २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो। २०८१ पौष मसान्तमा बैंकको निष्कृय कर्जा ४.९६ प्रतिशत, कोषको लागत ३.८१ प्रतिशत तथा औषत आधारदर ५.४४ प्रतिशत रहेको छ।
गत वर्ष बैंकले खुद नाफा आर्जन गर्न सके तापनि विगत समयदेखिको निवृत्त कर्मचारीहरुका लागि भविष्यमा भुक्तान गर्नु पर्ने पेन्सन व्यवस्थाका लागि छुट्याउनु पर्ने रकम १% बाट ३% तथा तलबको वृद्धिदर ५% बाट ६% बनाउने ‘एक्चुरियल भ्यालुएटर’को सुझाव बमोजिम तीन अर्ब चार करोड ६५ लाख थप हुन गएकाले वितरणयोग्य नाफा ऋणात्मक हुन गएको कारण गत आर्थिक वर्षमा लाभांश वितरण गर्न नसकिएको बैंकले जनाएको छ ।
यदपि अर्थतन्त्रमा आएको शिथिलता, उद्योगी व्यवसायीमा बढ्न नसकेको मनोबलका कारण कर्जा प्रवाहमा विस्तार हुन नसकेको सीईओ पौडेलले बताए । ‘नेपालको बैंक तथा वित्तीय क्षेत्रमा निरन्तर रुपमा बढी रहेको निष्क्रय कर्जाको आकारबाट हामी सबै चिन्तित भएका छौ।’ वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तव्य राख्दै सीईओ पौडेलले भने, ‘ बैंकिङ्ग क्षेत्रको विकासका लागि वित्तीय सहजताका साथ साथै वित्तीय अनुशासनको पनि आवश्यकता पर्दछ।’ राष्ट्रिय वाणिज्य बैंकमा हाल स्थायी र करार गरि २ हजार ७१६ जना कर्मचारी कार्यरत छन् । बैंकमा औषत उमेर ३२ वर्षका कर्मचारी छन् ।
यस बैंकले सरकारले प्राथमिकतामा राखेका क्षेत्रहरुमा लगानी बढाउने अभियान अगाडि सारेको छ । बैंकले यसै आर्थिक वर्षबाट साना किसान कर्जा, वैदेशिक रोजगारी कर्जा जस्ता नयाँ कर्जाहरुमार्फत सेवा विस्तार गर्ने र उत्पादन एवं स्वरोजगारलाई जोड दिई आय आर्जन वृद्धि गर्ने कार्यक्रमहरु ल्याएको छ ।
बैंकले विगतदेखि सञ्चालन गर्दै आएका एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत कोशी प्रदेशमा अलैंची, मधेस प्रदेशमा माछा, वाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफुल, लुम्बिनी प्रदेशमा पशुपालन, कणर्णाली प्रदेशमा जडिबुटी तथा सुदुरपश्चिम प्रदेशमा केरा खेतीमा विशेष लगानी गर्ने कार्यक्रम अगाडि बढाएको छ । जसले युवा, महिला एवम् उद्यम गर्न चाहने उद्यमीहरुको उत्साह बढाउने र रोजगारी तथा स्वरोजगारीका अवसर बढाउने विश्वास बैंकले लिएको छ।
यसका साथै बैंकले “ग्रामिण जीवनमा सुधार एसएमई कर्जाको विस्तार” कार्यक्रम अन्तर्गत आरबीबी एसएमई कर्जा, वैदेशिक रोजगारीमा जाने यूवाहरुलाई लक्षित गरेर वैदेशिक रोजगारी कर्जा तथा आवासिय एवं व्यावसायिक घर निर्माणका लागि ‘माइ होम लोन’ कर्जा प्रवाह गर्न शुरु गरेको छ। साथै नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागद्वारा प्रदान गरिने रु २५ लाख सम्मको स्टार्ट अप कर्जा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा प्रदान गरिएको बैंकले जनाएको छ।
धितोपत्र खरिद, बिक्री तथा दलाली सम्बन्धी कार्य गर्न बैंकको सहायक कम्पनीका रुपमा स्थापना भएको आरबीबी सेक्युरिटीज कम्पनी सञ्चालनमा ल्याएको छ । बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ सेवालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ। बैंकले प्राकृतिक प्रकोप, बाताबरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा खेलकुद जस्ता क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने गरेको छ । बैंकले सुनको खरिद विक्री कारोबारको सुरुवात गरेको छ ।
आगामी दिन सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बैंकले गरेको छ ।