बैंकरहरुको चार वटै संघले भन्यो,‘सम्पूर्ण निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित छ’

काठमाडौं । बैंकरहरुको चारै वटा छाता संगठनहरुले बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको बताएका छन् ।
सामाजिक संजालहरुमा विभिन्न भ्रामक र गलत टिप्पणी विरुद्ध ध्यानाकर्षण गराउँदै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै निक्षेपकर्ताहरुको रकम सुरक्षित रहेको बताए ।
बैंकिङ्ग क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्त लगायतको व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको स्पष्ट पारेका छन् ।
आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सूरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं ।’