नयाँ गभर्नरको ‘खेलोफड्को’मा मीनबहादुरको इन्ट्रि, फेरि तरंगित हुँदै ‘कर्पोरेट वार’ « Arthapath.com
२३ फाल्गुन २०८१, शुक्रबार

नयाँ गभर्नरको ‘खेलोफड्को’मा मीनबहादुरको इन्ट्रि, फेरि तरंगित हुँदै ‘कर्पोरेट वार’



काठमाडौँ । नेपाल राष्ट्र बैंकमा नेतृत्व परिवर्तन हुने मिति नजिकिँदै गर्दा दाबेदार पात्रहरुको सूची पनि क्रमशः थिग्रिँदै गएको देखिएको थियो । तर एकाएक परिस्थितिमा नयाँ ‘ट्वीस्ट’ देखिएको छ ।

केन्द्रिय बैंकको नेतृत्वमा आफ्नो निकटवर्तीलाई पुर्याउने यस ‘खेलोफड्को’मा अब नयाँ पात्रले इन्ट्री मारेका छन् ।

देशभर भाटभटेनी सुपरमार्केटको विकास गरेका व्यवसायी मीनबहादुर गुरुङ अब साम्ने आएका छन् । प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतका अनुसार गुरुङले नयाँ गभर्नरबारे चासोमात्रै राखेका छैनन्, उनले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी अघि बढाएका छन् ।

भर्खरैमात्र एमालेलाई ‘जग्गादान’ गरेर चर्चामा आएका व्यवसायी गुरुङलाई प्रधानमन्त्री ओलीले सहजै ‘अस्वीकार’ गर्न सक्दैनन् । यस्तो अवस्थामा गुरुङले अघि सारेको पात्र नयाँ गभर्नरको कुर्सिमा विराजमान हुनसक्ने संभावना बढेको छ ।

यद्यपि, उनले कसलाई त्यो पदमा पुर्याउन चाहेका छन् भन्ने स्पष्ट भइसकेको छैन । समाचार स्रोतहरुका अनुसार केही वर्षदेखि चल्दै आएको ‘कर्पोरेट वार’मा गुरुङ आईएमई ग्रुप र विशाल ग्रुपको ‘गठबन्धन’कै हिस्साका रुपमा अगाडी आएका छन् । यदि यो अनुमान सही रह्यो भने आईएमई समूहले अघि सार्ने पात्रलाई नै गुरुङले ‘सिफारिस’ गर्ने छन् ।

कर्पोरेट वारका दुई खेमा

‘विशाल–आईएमई’ गठबन्धनको नेतृत्व अहिले चन्द्र ढकालले गरिरहेका छन्, जो आईएमई ग्रुपका साथै नेपाल उद्योग बाणिज्य महासंघका पनि अध्यक्ष हुन् । यो समूहले एक ढिक्का भएर ‘पोलिसी लबिङ’ गर्दै आएको छ । उसको प्रतिद्वन्दीका रुपमा इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले नेतृत्व गरेको अर्को समूह छ, जहाँ शंकर समूह मुख्य साझेदारी भूमिका निभाउँछ ।

यी दुई व्यावसायिक समूहबीचको ‘लडाईँ’ कोभीडपछि चुलिएको छ । कोभीड अघिको एक समय आईएमई ग्रुप र विशाल ग्रुपले ‘एकछत्र’ चलाएको व्यावसायिक साम्राज्यमा अहिले टक्कर सिर्जना भएको छ ।

सरकारमा जुन दलको हालिमुहाली छ, त्यही दलसँग निकटता व्यावसायिक समूह ज्यादा शक्तिशाली देखिँदै आएका छन् । यस मानेमा चन्द्र ढकाल माओबादी नेता पुष्पकमल दाहालसँग निकट मानिन्छन् । विशाल ग्रुप भने एमालेको एक खेमासँग निकट रहँदै आएको छ ।

अर्का व्यवसायी दीपक भट्ट भने ज्यादातर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहँदै आएका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि ‘भेगीय’ नाताले उनको ठीकठाक सम्बन्ध बताइन्छ ।

त्यसैले पुष्पकमल दाहाल सत्ताबाट बाहिरिएसँगै ढकाल नेतृत्वको समूह ‘कमजोर’ देखिन थालेको थियो । पछिल्लो पल्ट नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्दादेखि वित्तीय क्षेत्रको नियामकहरुमा यी दुई समूहको प्रतिस्पर्धा रोमाञ्चक भएको छ ।

तर अब ढकालको नेतृत्ववाल समूहले गुरुङलाई अघि सारेर प्रधामन्त्री ओलीसम्म पुग्ने नयाँ ‘चाल’ चलेको बताइएको छ । गुरुङ चन्द्रागिरी हिल्सदेखि कयौँ कम्पनीहरुमा ढकालको साझेदार छन् । वित्तीय क्षेत्रमा पनि गुरुङको साझेदारी छ ।

बागलुङबाट आएका ढकाल र खोटाङबाट आएका गुरुङ दुबैले आफ्नो करिअरको सुरुआतमा सरकारी बैंकको जागिर छाडेर व्यवसायमा हात हालेका थिए । उनीहरुबीचको सम्बन्ध निकै घनिष्ट रहँदै आएको यी दुबैलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

पछिल्लो समय धितोपत्र बोर्डको अध्यक्ष दीपक भट्टको समूहले नियुक्त गराएको थियो भने नेपाल बीमा प्राधिकरणमा कांग्रेस सभापति देउवाको सिफारिस अनुसार नियुक्ति भयो । अब मूल नियामक राष्ट्र बैंकको नेतृत्वका लागि ‘कर्पोरेट भिडन्त’ सुरु भएको छ ।

गुरुङको पक्ष कस्तो होला ?

अहिलेसम्म गुरुङले को र कस्तो मान्छेका बारेमा प्रधानमन्त्रीसँग कुरा गरेका छन् वा गर्दै छन् भन्ने प्रस्ट विवरण बाहिर आएको छैन । तर अब गुरुङ चन्द्र ढकालमात्रै होइन, उमेश श्रेष्ठका पनि ब्यापार साझेदार हुन् । शिक्षा क्षेत्रको व्यवसायबाट उठेका श्रेष्ठलाई शेरबहादुर देउवाले हालैमात्र नेपाली कांग्रेसको कोषाध्यक्ष बनाएका छन् ।

उनै श्रेष्ठ अर्का चर्चित व्यवसायी विनोद चौधरीका पनि सघन साझेदार हुन् । श्रेष्ठ र गुरुङ मिलेर अहिले अन्नपूर्ण स्क्वायरको निर्माण गरिरहेका छन् भने चितवनमा भाटभटेनीमा पनि श्रेष्ठको साझेदारी छ । त्यसो हुँदा उनले कस्तो पात्रलाई अघि सार्छन् भन्ने अन्योल नै रहेको प्रधानमन्त्री कार्यालय निकट स्रोत बताउँछ ।

तर हामीले कुराकानी गरेका ज्यादातर व्यक्तिहरुको राय चाहीँ उनले ‘विशाल–आईएमई’ समूहले अघि बढाउने व्यक्तिलाई नै साथ देलान् भन्ने रहेको छ । अहिले ढकाल ‘सत्ताको राडार’भन्दा बाहिर परेका बेला गुरुङले त्यो ‘खालि ठाउँ’ भरिदिने अनुमान उनीहरुको छ ।


प्रतिक्रिया दिनुहोस्