नयाँ गभर्नर छान्ने समिति बन्ने वित्तिकै आकांक्षिहरुको धमाधम राजिनामा « Arthapath.com
१३ चैत्र २०८१, बुधबार

नयाँ गभर्नर छान्ने समिति बन्ने वित्तिकै आकांक्षिहरुको धमाधम राजिनामा



प्रकाश श्रेष्ठले पनि दिए राजिनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छान्ने प्रक्रिया सुरु भएसँगै आकांक्षिहरुले भटाभट राजिनामा दिन थालेका छन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले गत फागुन १८ गतेनै राजिनामा बुझाएर बसेका छन् । उनकाे राजिनामा बारे बुधवार मात्र सार्वजनिक भएकाे छ । श्रेष्ठले आफ्नो कार्यकाल बाँकी छँदै पदबाट राजिनामा दिएका छन् ।

यसअघि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले मंगलवार साँझ नै राजिनामा दिइसकेका थिए ।

अहिले चर्चामा आएका नाममध्ये प्रभू बैंककमा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने राजिनामा दिइसकेको समाचार प्राप्त भएको छैन ।

केन्द्रिय बैंकका दुई डेपुटी गभर्नरमध्ये कम्तिमा एक जनालाई गभर्नरका निम्ति सिफारिस गर्नै पर्ने कानूनी व्यवस्था छ ।

तर डेपुटी गभर्नर सिफारिसमा पर्ने भएपछि बहालवाला कार्यकारी निर्देशकहरुलाई सिफारिस गर्न अप्ठेरो पर्ने भनेर आवाज उठेको थियो । यद्यपि, राष्ट्र बैंक ऐनले त्यस्तो प्रतिबन्धात्मक व्यवस्था गरेको छैन ।

यसअघि डा. युवराज खतिवडा कार्यकारी निर्देशक नै भएर राष्ट्रिय योजना आयोगको सदस्य बन्न गएका बेला राष्ट्र बैंकको गभर्नर सिफारिसमा परेका थिए ।

तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले खतिवडालाई गभर्नर बनाउन जोडबल गरे पनि सरकारले ‘तल्लो तहको कर्मचारी’ भन्दै सिफारिसमा परेका डेपुटी गभर्नर विजयनाथ भट्टराईलाई गभर्नर नियुक्त गरेको थियो ।

यो घटनालाई स्मरण गर्दै डा. श्रेष्ठले राजिनामा बुझाएका हुन् ।

राष्ट्र बैंकमा जेठ १० गतेसम्म पदावधि बाँकी भएका श्रेष्ठले अहिले राजिनामा दिँदा उनको सेवासुविधामा भने असर पर्ने छ ।

तर राष्ट्र बैंकले नयाँ गभर्नरको सिफारिस पश्चात् मात्रै राजिनामा स्वीकृत गर्ने गरी ‘होल्ड’ गरिदिएको अवस्थामा भने उनले कार्यकाल पुरा गर्ने संभावना बाँकी नै रहन्छ ।

श्रेष्ठ एमाले महासचिव शंकर पाेखरेल निकट हुन् भने ज्ञानेन्द्र ढुङ्गाना कांग्रेस सांसद विनाेेद चाैधरी पक्षधर हुन् ।


प्रतिक्रिया दिनुहोस्