बैंकिङ्ग प्रणालीमा एकैदिन भित्रियो १० अर्ब, कर्जा प्रवाह कस्तो ?

काठमाडौं । बैंकिङग प्रणालीमा निक्षेप थपिने क्रम जारी छ । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढेको बढ्यै छ ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एकदिनमै बैंकिङ्ग प्रणालीमा १० अर्ब निक्षेप थपिएका छन् । योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६८ खर्ब पुगेको छ । यो गत शुक्रबारसम्मको तथ्याङ्क हो । गत बिहीबार अर्थात् चैत २१ गते भने बैंकिङ्ग प्रणालीमा कुल ६७ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
वाणिज्य बैंकहरुमा मात्रै एकैदिन ८ अर्ब निक्षेप थपिएको छ । गत बिहीबारसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो । तर, त्यसको भोलिपल्टै अर्थात् शुक्रबारसम्म भने ६० खर्ब ७१ अर्ब पुगेको छ ।
निक्षेपसँगै कर्जा लगानी पनि बढ्न थालेको देखिन्छ । एकैदिन १० अर्ब निक्षेप भित्रिँदा बैंकिङ्ग प्रणालीबाट ५ अर्ब बाहिरिएको छ । गत बुधवार बैंक तथा वित्तीय संस्थाले ५४ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, एकदिनमै ५ अर्ब बढेर ५४ खर्ब ८० अर्ब पुगेको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले एकैदिन ४ अर्ब कर्जा प्रवाह गरेका छन् । योसँगै हाल बैंकहरुको कुल कर्जा लगानी ४८ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । एक साताअघि अर्थात् गत बुधवार भने ४८ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यता, वित्त कम्पनीहरुले भने थप एक अर्ब बढाएर कुल कर्जा लगानी ६ खर्ब १६ अर्ब पुर्याएका छन् । निक्षेपको तुलनामा कर्जा प्रवाह भने अलि सुस्त नै देखिन्छ । यद्यपि, विस्तारै बढ्न थालेको आँकडाले देखाउँछ ।
बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि घट्दै हो । बैंकहरुबीच आन्तरिक रुपमा हुने कारोबार अर्थात् अन्तर सापाटीको ब्याजदर ३ प्रतिशत नै कायम छ ।
यता, बैंकहरुको अधिक तरलता रहेसँग कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि निरन्तर घट्दै गएको छ । कर्जाको माग नभएपछि बैंकहरुको सीडी रेसियो पनि ८० प्रतिशत कम बिन्दुमा छ । हाल सीडी रेसियो ७९.३४ प्रतिशत कायम भएको छ । जबकि, गत बुधवार भने यस्तो रेसियो ७९.३८ प्रतिशत रहेको थियो ।