छिमेकको तनावले नेपालमा डलर महँगो ! « Arthapath.com
२६ बैशाख २०८२, शुक्रबार

छिमेकको तनावले नेपालमा डलर महँगो !



काठमाडौँ । कश्मीरमा भएको आतङ्कवादी हमलाको बदला लिन भन्दै भारतले पाकिस्तानमा हमला गरेपछि नेपालमा पनि त्यस घटनाले थुप्रै प्रभाव पार्न थालेको छ ।

यसमध्येको एक असर हो– अमेरिकी डलरको भाउ महँगिनु ।

वैशाख लागेयता लगातार सस्तिँदै गएको डलरको भाउ पाकिस्तान हमलापछि पुनः उकालो लाग्न थालेको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले डलरको विनिमय (विक्री) दर १३७ रुपैयाँ ४४ पैसा तोकेको छ ।

गएको मंगलबार बुधबारको बीच रातमा भारतले पाकिस्तानका विभिन्न ९ स्थानलाई लक्षित गरेर मिसाइल हमला गरेको थियो । तर विहीबारसम्म आउँदा उक्त द्वन्द्व लम्बिँदै र विस्तार हुँदै जाने जोखिम बढेको छ ।

यसले पनि ती दुबै देशको मुद्रा सस्तिन थालेका छन् । भारतीय रुपये (भारु)सँग स्थिर विनिमयदरको अंकुश कसिएको नेपाली मुद्रा पनि भारु सस्तिएसँगै अझ सस्तो बन्दै गयो । यसले १ डलर किन्न हामीले तिर्नुपर्ने लागत बढ्दै गएको छ ।

गत मंगलबार १३५ रुपैयाँ ११ पैसामा पाइने १ अमेरिकी डलर किन्न शुक्रबार १३७ रुपैयाँ ४४ पैसा तिर्नुपर्ने भयो । अर्थात् तीन दिनको बीचमा डलरको भाउ २ रुपैयाँ ३३ पैसा (१.७३ प्रतिशत) महँगियो ।

त्यसो त, यो सर्वकालिन महँगो भने होइन । यही वैशाखको १ र २ गतेका लागि राष्ट्र बैंकले १ डलरको सटही दर १३७ रुपैयाँ ९७ पैसा तोकेको थियो । यसरी वैशाख सक्रान्तिको भाउसँग तुलना गर्ने हो भने त अहिले पनि डलरको मोल ५३ पैसा सस्तो छ ।

तर कश्मीरको पहलगाउँमा एक नेपालीसहित २६ जना पर्यटकको हत्या गर्ने गरी भएको आतङ्कवादी हमलाको बदला लिन थालेयता डलरको मूल्य पुनः महँगिएको छ ।

भलै यसरी डलर महँगिनुलाई केवल उक्त आक्रमणमात्रै कारण होइन भन्ने धेरै विश्लेषकको भनाइ देखिन्छ ।

भारतीय बजार नियाल्ने हो भने पनि त्यहाँ डलरको भाउले ८७ रुपयेको स्तर पार गरेको छ । द इण्डियन एक्सप्रेसले डलर महँगिदा ‘आयातित मुद्रास्फीतिमा बढोत्तरी हुनसक्ने चिन्ता बढेको’ बताएको छ ।

यसो हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा कर लगाएपछि उचालिएको डलर सूचकांकलाई कारण मानिएको छ ।

युरो, पाउण्ड, येन लगायत संसारका प्रमुख ६ विदेशी मुद्राको तुलनामा अमेरिकी डलरको मूल्यस्तर मापन गर्ने सूचकांक अर्थात् डलर इन्डेक्स अहिले १.२४ प्रतिशतले बढेर १०९.८४ विन्दुमा पुगेको छ ।

फलस्वरूप भारतीय मुद्राले ठूलो धक्का खानुपरेको र गत सोमबार एक डलरको सटही दर ८७.१९ रुपयेसम्म झरेको उक्त भारतीय समाचार संस्थाले लेखेको छ ।

यसरी आफ्नो देशको मुद्रा सस्तो हुने, डलर महँगो हुने प्रबृत्तीबाट भारतीय बजारमा दोहोरो प्रभाव पर्छ । कमजोर रुपैयाँले आयातको लागत बढाउँछ । विशेष गरी कच्चा तेल, जसले गर्दा उत्पादन लागत र मुद्रास्फीतिको दबाब बढ्छ। तर उनीहरुको निर्यातलाई यसले सघाउँछ ।

नेपालजस्तो आयातमुखि अर्थतन्त्रका लागि भने डलर महँगो हुनु अधिकतर घाटाकै कारोबार हो । यसले भारतबाट भारतीय रुपयेकै भुक्तानीमा हुने आयातलाई छाडेर बाँकी सबै आयातित वस्तु महँगो हुन्छ । नेपालले निर्यात ब्यापारमा खासै उपस्थिति जनाउन नसकेका कारण यसको लाभ हासिल हुँदैन ।

बरु, विदेशमा रहेका नेपालीले पैसा कमाएर स्वदेश पठाए भने उनीहरुले नेपाली मुद्रामा पहिलेभन्दा ज्यादा पैसा पाउन सक्छन् । तर नेपालबाट अध्ययन वा अन्य कुनै कारणले विदेश जाने नेपालीको खर्च बढ्छ । यसले हुण्डि लगायत विभिन्न विधीबाट विदेशमा पूँजी पलायन गर्नेहरुलाई पनि घाटा पर्छ ।


प्रतिक्रिया दिनुहोस्