कुन बैंकका कर्मचारीको तलब र बोनस कति बढ्यो ?

काठमाडौं । वाणिज्य बैंकहरुका कर्मचारीहरुको तलब औसतमा साढे ५ प्रतिशत वृद्धि भएको छ । अधिकांश बैंकहरुले आफ्ना कर्मचारीको तलब, भत्ता लगायतका सुविधामा खर्चिने रकम वृद्धि भएको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासको वित्तीय विवरणलाई आधार मान्ने हो भने बैंकहरुका कर्मचारी खर्च ५.७६ प्रतिशत वृद्धि भएको छ । ९ महिनामा २० वटा बैंकहरुले कर्मचारीको सेवा तथा सुविधाका लागि ४३ अर्ब ४८ करोड ८२ लाख ९२ हजार रुपैयाँ खचिएका छन् । जबकि, गत आवको तेस्रो त्रैमासमा भने बैंकहरुले कुल ४१ अर्ब ११ करोड ९२ लाख ५९ हजार रुपैयाँ खर्चिएका थिए ।
यता, सो अवधिमा कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याई रकममा भने सामान्य बढोत्तरी देखिएको छ। गत आवको तेस्रो त्रैमासमा बैंकहरुले ६ अर्ब ६५ करोड ८९ लाख २६ हजार रुपैयाँ कर्मचार बोनसका लागि छुट्याएको थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ०.७९ प्रतिशत मात्रै वृद्धि गरि ६ अर्ब ७१ करोड १३ लाख रुपैयाँ पुर्याएका छन् ।
बैंकहरूले प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्मको मुनाफाको आधारमा कर्मचारीलाई बोनस वितरण गर्ने गर्छन् । कर्मचारी बोनस ऐनअनुसार, कुल नाफाको १० प्रतिशत बोनसका रूपमा वितरण गर्न सकिन्छ । अधिकतम छ महिनाको तलब बराबरको बोनस दिन सकिने व्यवस्था छ ।
बैंकहरूले चौथो त्रैमासमा आर्जन गरेको नाफालाई समेत समावेश गरेर आगामी आर्थिक वर्षमा वितरण गरिने बोनस रकम निर्धारण गर्ने गर्छन्, केही बैंक तथा वित्तीय संस्थाहरूले बोनस रकमलाई किस्ताबन्दी प्रणालीमा अर्थात् आर्थिक वर्षको अन्त्य, दशैं पर्व र वार्षिक साधारणसभाको अवसरमा पारेर वितरण गर्ने प्रचलन पनि छ ।
विवरणअनुसार एनएमबि बैंकका कर्मचारीहरुको खर्च ३६.१५ प्रतिशत वृद्धि भएको छ । यो वाणिज्य बैंकहरुमध्यकै सबैभन्दा धेरै हो । समिक्षा अवधिमा बैंकले आफ्ना कर्मचारीका लागि २ अर्ब २२ करोड ३१ लाख रुपैयाँ खर्चिएको छ । बोनस व्यवस्थाका लागि भने बैंकले ३८ करोड १० लाख रुपैयाँ छुट्याएको छ, बोनस भने ७.९४ प्रतिशत वृद्धि भएको देखिन्छ ।
कर्मचारीहरुको तलब लगायत सुविधामा खर्चिने रकम हिमालयन बैंकको पनि २४.६६ प्रतिशत वृद्धि भई २ अर्ब ३८ करोड १६ लाख रुपैयाँ पुगेको छ । बैंकले कर्मचारी बोनसका लागि भने ७ करोड ९२ लाख रुपैयाँ छुट्याएको छ । तलब सुविधामा खर्चिने रकम बढेपनि बोनस रकम भने घटेको छ ।
यता, प्राइम बैंकले पनि कर्मचारीहरुको तलब सुविधामा खर्चिने रकम २०.४० प्रतिशत बढाएको छ । ९ महिनामा बैंकले यस्तो शीर्षकमा १ अर्ब २९ करोड ४९ लाख रुपैयाँ खर्चिएको छ । यता, बोनस व्यवस्थाका लागि भने बैंकले ३५ करोड ४८ लाख रुपैयाँ छुट्याएको छ ।
यस्तै, एनआइसी एशियाको कर्मचारी खर्च १४.४९ प्रतिशत, लक्ष्मी सनराइजको १४.४५ प्रतिशत बढाएका छन् । यी दुई बैंकले क्रमशः २ अर्ब ८९ करोड ४१ लाख र २ अर्ब ८६ करोड ७७ लाख रुपैयाँ बराबरको रकम खर्चिएका छन् ।
समिक्षा अवधिमा कर्मचारीको तलब लगायतमा खर्चिने रकम नेपाल बैंकको ८.७९ प्रतिशत, सिद्धार्थको ६.६६ प्रतिशत, सानिमाको ५.२९ प्रतिशत, माछापुच्छ्रेको ७.१८ प्रतिशत, सिटिजनको ४.८९ प्रतिशत, एभरेष्टको ४.६१ प्रतिशत, ग्लोबल आइएमईको २.०५, कुमारीको १.६३ प्रतिशत नेपाल एसबिआईको ०.६५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड को ०.३२ प्रतिशत र कृषि विकासको ०.११ प्रतिशत वृद्धि भएको छ ।
विवरणअनुसार समिक्षा अवधिमा कृषि विकासले २ अर्ब ६० करोड, सिटिजनले १ अर्ब ३० करोड, एभरेष्टले १ अर्ब ३६ करोड २२ लाख, ग्लोबलले २ अर्ब ९४ करोड ७५ लाख, कुमारीले ३ अर्ब ५ करोड ४० लाख, सानिमाले १ अर्ब २४ करोड ५४ लाख, सिद्धार्थले २ अर्ब ६ करोड ४० लाख, एसबिआईले १ अर्ब १५ करोड २९ लाख र चार्टर्डले ७८ करोड ९७ लाख रुपैयाँ रकम कर्मचारी सुविधाका लागि खर्चिएका छन् ।
तर, नबिलसहित चार वटाको कर्मचारी खर्च घटेको छ । समिक्षा अवधिमा नबिल बैंकको यस्तो शीर्षकको खर्च ५.४२ प्रतिशत घटेर २ अर्ब ८५ करोड २७ लाख रुपैयाँ कायम भएको छ । यता, नेपाल बैंकको ५.४८ प्रतिशत घटेर २ अर्ब ५० करोड १३ लाख रुपैयाँ कायम भएको छ । यी दुई बैंकले कर्मचारी बोनस व्यवस्थाका लागि भने क्रमशः ७९ करोड २२ लाख ६० हजार र ४७ करोड ९४ लाख ९३ हजार रुपैयाँ छुट्याएको हुन् । बोनस व्यवस्थामा छुट्याउने रकम भने नेपाल बैंकको सर्वाधिक ६३३.३२ प्रतिशत बढेको छ ।
यता, प्रभू बैंकको कर्मचारी खर्च १.८४ प्रतिशत घटेर २ अर्ब ७९ करोड ३२ लाख र राष्ट्रिय वाणिज्य बैंकको १.१० प्रतिशत घटेर ३ अर्ब ४ करोड ५८ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा प्रभूले कर्मचारी बोनस व्यवस्थाका लागि ३८ करोड ४२ लाख १७ हजार र राष्ट्रिय वाणिज्य बैंकले १९ करोड ११ लाख ६९ हजार रुपैयाँ छुट्याएको छ ।