बैंकको नाफा ‘चैतको चोट’ : एकै महिना २ अर्ब २४ करोड नाफा गायब, ५ वटाले मात्र बढाए !

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा सवा ५ प्रतिशत गिरावट देखिएको छ । पछिल्लो एक महिनामै बैंकहरुको नाफा २ अर्ब बढी घटेको छ ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चैतसम्ममा बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख बढी नाफा कमाएका छन् । यो गत फागुन मसान्तसम्मको तुलनामा भने ५.१६ प्रतिशत कमी हो । फागुन मसान्तसम्ममा बैंकहरुले ४३ अर्ब ४९ करोड ६० लाख बढी नाफा कमाएका थिए ।
चैत महिनामा मात्रै अधिकांश बैंकहरुको नाफा घटेको छ । कृषि विकाससहित पाँच वटाको मात्रै नाफा वृद्धि भएको छ । यी बाहेकका सबै बैंकको नाफामा गिरावट आएको हो ।
चैत सबैभन्दा धेरै नाफा कृषि विकास बैंकले कमाएको छ । बैंकले १ अर्ब १० करोड ६३ लाख रुपैयाँ नाफा कमाएको हो । गत फागुन मसान्तसम्ममा बैंकको नाफा ७३ करोड ८० लाख रुपैयाँ मात्रै थियो । तर, चैत मसान्तसम्म आइपुग्दा भने बढे १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ कायम भएको छ ।
दोस्रो स्थानमा भने सिद्धार्थ बैंक देखिएको छ । बैंकले ४५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । गत फागुन अन्तसम्म १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको सिद्धार्थले चैत मसान्तसम्म आइपुग्दा भने १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै, एभरेष्ट बैंकको नाफा पनि १४.९१ प्रतिशत वृद्धि भएको देखिन्छ । एकै महिना बैंकले ४४ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । एभरेष्टले गत फागुन मसान्तसम्म ३ अर्ब ८८ लाख रुपैयाँ नाफा गरेको थियो । तर, चैत मसान्तसम्म आइपुग्दा भने ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ कटाएको छ ।
यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा वृद्धिदर पनि ११.१२ प्रतिशत देखिन्छ । एक महिनामै बैंकले ४५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।
नाफा बढाउने पाँचौं बैंक भने नबिल बनेको छ । बैंकको नाफा एकै महिना ५.५० प्रतिशत बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ कायम भएको छ । चैतमा मात्रै नबिलले २६ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ ।
यी बाहेकका सबै बैंकको नाफामा गिरावट आएको छ । सबैभन्दा धेरै एनआइसी एशियाको ८०.८८ प्रतिशत घटेको छ । यस्तै, एनआइसी एशियाको ७०.५० प्रतिशत, हिमालयनको ७०.०५ पतिशत, राष्ट्रिय वाणिज्यको ३०.१४ प्रतिशत, सिटिजनको १७.१९, लक्ष्मी सनराइजको १७.०९, एनएमबिको १२.६४, प्रभूको ११.३, प्राइमको १०.९४ प्रतिशत घटेको छ ।
यता, नेपाल बैंकको पनि एक महिनामा ६.८४ प्रतिशत, माछापुच्छ्रेको ५.१३ प्रतिशत, ग्लोबल आइएमईको ४.१३ प्रतिशत, नेपाल एसबिआईको ३.६६ प्रतिशत, सानिमाको १.८२ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डको ०.०७ प्रतिशत घटेको छ ।
कसको ‘नाफा–घाटा’ कति ?
