बैंकको ब्याज निरन्तर ओरालो : कर्जाको लागत घट्दा पनि अर्थतन्त्रमा सुस्तता, किन चलायमान छैन बजार ? « Arthapath.com
२९ बैशाख २०८२, सोमबार

बैंकको ब्याज निरन्तर ओरालो : कर्जाको लागत घट्दा पनि अर्थतन्त्रमा सुस्तता, किन चलायमान छैन बजार ?



काठमाडौं । वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर निरन्तर घटिरहेको छ । पछिल्लो एक वर्षको अवधिमा मात्रै बैंकहरूको कर्जाको औसत ब्याजदर २.३३ प्रतिशत बिन्दुले घटेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत चैत महिनामा वाणिज्य बैंकहरूको औसत कर्जाको ब्याजदर ८.२२ प्रतिशतमा झरेको छ । जुन गत वर्षको सोही महिनामा १०.५५ प्रतिशत थियो ।

ब्याजदर महिनैपिच्छे घटिरहेको देखिन्छ । बैंकिङ प्रणालीमा हाल लगानीयोग्य रकम प्रशस्त मात्रामा उपलब्ध छ । तर, कर्जाको माग अपेक्षाकृत कम देखिएको छ । जसका कारण बैंकहरूले निक्षेपमा दिँदै आएको ब्याजदर पनि घटाइरहेका छन् । त्यसको प्रत्यक्ष असर कर्जाको ब्याजदरमा देखिएको छ ।

राष्ट्र बैंकका अनुसार कर्जाको औसत ब्याजदर गत फागुनमा ८.४० प्रतिशत, माघमा ८.५५ प्रतिशत, पुसमा ८.६९ प्रतिशत, मंसिरमा ८.९० प्रतिशत, कात्तिकमा ९.०७ प्रतिशत, असोजमा ९.३३ प्रतिशत, भदौमा ९.५२ प्रतिशत र साउनमा ९.६८ प्रतिशत थियो ।

बैंकिङ क्षेत्रमा तरलता प्रशस्त भए पनि कर्जाको माग सुस्त हुँदा ब्याजदरमा निरन्तर गिरावट आएको केन्द्रिय बैंकले जनाएको छ । तिरन्तर ब्याजदर घट्दा लगानीकर्तालाई कर्जा लिन सहज बनाएको छ । यद्यपि, कर्जाको माग भने ज्यादै न्यून छ ।

कर्जाको लागत घट्नु भनेको सामान्यतः व्यापार, उद्योग तथा लगानीकर्तालाई ऋण लिन प्रोत्साहित गर्ने सकारात्मक संकेत मानिन्छ । बैंकहरूसँग लगानीयोग्य रकम प्रशस्त मात्रामा भए पनि कर्जाको माग न्युन छ । कर्जाको माग कमजोर हुँदा व्यापार व्यवसायमा नयाँ लगानी बढ्न सकिरहेको छैन ।

उपभोक्ताको खर्च क्षमतामा अपेक्षित सुधार नभएसम्म उत्पादन विस्तार, रोजगारी सिर्जना र उद्योग क्षेत्रको पुनरुत्थान चुनौतीपूर्ण नै रहने देखिन्छ । आर्थिक गतिविधि चलमायन हुन आवश्यक छ । अर्थतन्त्रमा गति ल्याउन ब्याजदर घटाउनु मात्रै पर्याप्त भने हुँदैन । निजी क्षेत्रको मनोबल, सरकारी नीति स्थायित्व, र आम उपभोक्ताको क्रयशक्ति पुनर्स्थपना भएसँगै बल्ल कर्जाको माग व्यापाक रुपमा बढ्ने जानकारहरु बताउँछन् ।

राष्ट्र बैंकका निक्षेपको औसत ब्याजदर एक वर्षको अवधिमा २.०८ प्रतिशत बिन्दुले घटेर ४.४५ प्रतिशतमा झरेको छ । गत वर्ष चैतमा यो ६.५३ प्रतिशत थियो । यस वर्ष फागुनमा ४.५४ प्रतिशत, माघमा ४.६२ प्रतिशत, पुसमा ४.७५ प्रतिशत, मंसिरमा ४.७८ प्रतिशत, कात्तिकमा ५.०१ प्रतिशत, असोजमा ५.२४ प्रतिशत, भदौमा ५.५३ प्रतिशत र साउनमा ५.६६ प्रतिशत थियो ।

निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको लागत पनि कम भएको छ, जसका कारण बैंकहरूको आधार दर (बेस रेट) समेत घट्दो क्रममा छ । राष्ट्र बैंकको तथ्यांक अनुसार, गत चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.२९ प्रतिशतमा झरेको छ । एक वर्षअघि अर्थात् गत वर्षको सोही महिनामा यो ८.५१ प्रतिशत थियो् ।

बेस रेट क्रमशः फागुनमा ६.३४, माघमा ६.४६, पुसमा ६.६५, मंसिरमा ६.८२, कात्तिकमा ७.०२, असोजमा ७.२९, भदौमा ७.४९ र साउनमा ७.६१ प्रतिशत थियो । यो आधार दर वाणिज्य बैंकहरूको कर्जा मूल्य निर्धारणको मुख्य आधार हो । यसमा घट्दो प्रवृत्तिले व्यवसायिक कर्जाको लागत पनि घटाएको छ ।

त्यस्तै, विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर पनि उल्लेख्यरूपमा घटेको छ । विकास बैंकहरूको औसत कर्जाको ब्याजदर ९.५९ प्रतिशत कायम भएको छ, जुन गत वर्षको चैतमा १२.१७ प्रतिशत थियो । यस्तै, वित्त कम्पनीहरूको कर्जाको औसत ब्याजदर २.९६ प्रतिशत बिन्दुले घटेर हाल १०.४० प्रतिशतमा झरेको छ ।

विकास बैंकहरूको औसत निक्षेप ब्याजदर हाल ५.२२ प्रतिशत छ भने वित्त कम्पनीहरूको ६.२४ प्रतिशत रहेको छ । यीनहरुको आधार दर क्रमशः ८.३४ र ९.१७ प्रतिशत कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको औसत ब्याजदर पनि अघिल्लो वर्षको तुलनामा सामान्यरूपमा घटेको देखिन्छ । गत वर्षको चैतमा यो दर ३.१० प्रतिशत थियो । तर, यसवर्षको सोही अवधिमा ३ प्रतिशतमा झरेको छ ।
यस्तै, सरकारी ऋणपत्र (९१ दिने ट्रेजरी बिल) को भारित औसत ब्याजदर गत चैतमा ३.०६ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही समयमा ३.०० प्रतिशत थियो ।


प्रतिक्रिया दिनुहोस्