डिजिटल कारोबारमा ‘भ्याट हट्यो, शुल्क घट्यो’

काठमाडौं । सरकारले डिजिटल भुक्तानीमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज भएसँगै शुक्रबारबाटै डिजिटल भुक्तानी गर्ने ग्राहकको खर्च घटेको छ ।
भुक्तानी प्रदायक संस्थाहरुले लिने राफसाफ शुल्क (सेटदमेन्ट फी)मा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था निवर्तमान अर्थमन्त्री वर्षमान पुनले गरेका थिए ।
सोही बमोजिम २०८१ साउन १ देखि डिजिटल कारोबारमा भ्याट लाग्दै आएको थियो । तर विहीबार संसदमा प्रस्तुत भएको नयाँ बजेटले उक्त भ्याट खारेज गरेको छ । उक्त व्यवस्था आजैबाट लागू भएपछि कारोबार शुल्क घटेको हो ।
शुक्रबारदेखि नै भुक्तानी सेवा प्रदायक संस्थाहरुले डिजिटल भुक्तानीमा सेवा शुल्क घटाएका छन् । भ्याट कटौति हुने वित्तिकै भुक्तानी शुल्क सस्तो भइसकेको हो ।
हिजोसम्म ११ रुपैयाँ ३० पैसा लाग्दै आएको मोबाइल बैंकिङ तथा फोनपेको शुल्क अब १० रुपैयाँमा झरेको छ । त्यस्तै ९ रुपैयाँ ४ पैसा लाग्दै आएको कनेक्ट आईपीएसको शुल्क ८ रुपैयाँमा झरेको छ ।