गभर्नर पौडेलले मागे बैकर्ससँग सहयोग, अर्थतन्त्र स्थायित्वप्रति प्रतिबद्ध रहेको जिकिर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालको बैंकिङ क्षेत्रलाई प्रभावकारी र समग्र अर्थतन्त्रमा स्थायित्वको लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।
पौडेलले नेपाल बैकर्स संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकको वर्तमान नीति र व्यवस्था जुन प्रभावकारी छन्, तिनीहरूमा कुनै ठूलो परिवर्तन नगरी निरन्तरता दिने र आवश्यक परेको ठाउँमा मात्रै आवश्यक सुधार गर्ने स्पष्ट धारणा राखे ।
गभर्नर पौडेलले आगामी दिनमा बैंकिङ क्षेत्रसँग समन्वय र परामर्शमा आधारित नीति निर्माण गर्ने र नेपाली बैंकिङ क्षेत्रलाई अझ सबल, समावेशी र दीर्घकालीन विकासको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे । त्यसको लागि सबैको साथ र सहयोगको लागि अनुरोध गरे ।
नेपाल बैंकर्स सङ्घले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई बिदाइ तथा नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई स्वागत गरेको छ ।
कार्यक्रममा बोल्दै निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । उनले कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयको स्मरण गर्दै, त्यस्तो कठिन अवस्थामा पनि बैंकहरूले देखाएको सफल नेतृत्वका लागि धन्यवाद व्यक्त गर्दै अर्थतन्त्रको स्थायित्वमा पु¥याएको सकारात्मक योगदानको प्रशंसा गरे ।
उनले कोरोना महामारीपछिको आर्थिक स्थायित्व राष्ट्र बैंकको मात्र उपलब्धि नभई, सम्पूर्ण बैंकिङ क्षेत्रको सहकार्य र साझा प्रयासको परिणाम भएको बताए । निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालको अनुभव र सिकाइ साट्दै विगतका केही निर्णयहरू कठिन भए तापनि, ती निर्णयहरू दीर्घकालीन सुधारका लागि आवश्यक भएको बताएका थिए ।
अधिकारीले नेपालको बैंकिङ क्षेत्रले विगत को गल्तीहरू बाट सिक्दै भविष्यमा त्यस्ता गल्तीहरू दोहोरिन नदिन तर्फ सतर्क रहनुपर्ने बताए ।
बैकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा वाणिज्य बैंकका सबै प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो । अध्यक्ष कोइरालाले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई प्रसंसापत्र सहित सम्मान गरेका थिए ।