दुई भुक्तानी सेवा प्रदायकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । केन्द्रिय बैंकले पेवेल नेपाल प्रा.लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि. को लाइसेन्स खारेज गरिदिएको हो ।
राष्ट्र बैंकका अनुसार यी दुई कम्पनीले भुक्तानी तथा फस्र्योट ऐन, २०७५, भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न प्रावधानहरूको उल्लङ्घन गरेको पाइएको छ ।
केन्द्रिय बैंकको सञ्चालक समितिको असार ५ गतेको निर्णयानुसार भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) को व्यवस्थाअनुसार उक्त संस्थाहरूको अनुमतिपत्र खारेज गरिएको हो ।
भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्नेगरी पेवेल नेपालले २०७७ असोज ११ गते र सजिलो पे पेमेन्ट सर्भिसेजले २०७७ चैत १७ गते राष्ट्र बैंकबाट लाइसेन्स लिएका थिए ।