अबको मौद्रिक नीति जिम्मेवार र यथार्थमा आधारित हुनुपर्छः पूर्व अर्थमन्त्री महत « Arthapath.com
७ असार २०८३, आइतबार

अबको मौद्रिक नीति जिम्मेवार र यथार्थमा आधारित हुनुपर्छः पूर्व अर्थमन्त्री महत



काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अब आउने मौद्रिक नीतिले अघिल्ला अनुभवबाट पाठ सिक्न जरुरी भएको बताएका छन्।

संघीय संसदको अर्थसमितिमा बोल्दै उनले विगतमा ‘हर्ड मेन्टालिटी’मा गइएका, कहिले अत्यधिक रेगुलेसन, कहिले अत्यधिक कर्जा प्रवाह गरिएको उल्लेख गर्दै यस्तो ‘रोलर कोस्टर’ शैली अन्त्य गर्नुपर्नेमा जोड दिए।

‘अब उच्च व्यावसायिकता, दीर्घकालीन सोच र जिम्मेवारीपूर्ण दृष्टिकोणका साथ मौद्रिक नीति ल्याइनुपर्छ,’ उनले भने।

साना कर्जाका ग्राहक झन्झटमा

डा. महतले बैंकहरूले साना कर्जा लिनेहरूलाई झन्झटमा पारिरहेको र ठूला कर्जालाई प्राथमिकता दिएकोप्रति आपत्ति जनाए। ‘यो मानसिकता उल्ट्याउनुपर्छ,’ उनले भने।

कृषि विकास बैंकको उद्देश्य नै अहिले विग्रिएको उनले बताए। ‘हामीले कृषि प्रवर्द्धनका लागि स्थापना गरेका बैंक अहिले हाइड्रोपावरमा पैसा लगाइरहेका छन्,’ उनले आलोचना गरे।

युवालाई प्राथमिकता

उनका अनुसार कृषि क्षेत्रमा कर्जा प्रवाह ७ प्रतिशतभन्दा तल झरेको छ र त्यो पनि वास्तविक कृषि उत्पादनमा प्रयोग भएको छैन। वैदेशिक अनुभव लिएर फर्किएका युवाहरू, प्रविधि प्रयोग गर्ने किसानहरूलाई प्राथमिकता दिने मौद्रिक र वित्तीय नीति ल्याउनुपर्ने उनको तर्क थियो।

‘बैंकहरू र व्यवसायीबीच हित संघर्ष देखिएको छ,’ महतले भने, ‘लगानीकर्ता आफैं व्यवसायी छन्, यस्तो अवस्थामा पारदर्शिता र नियमनमा सन्तुलन जरुरी छ।’

उनले राष्ट्र बैंकले कुनै व्यक्तिलाई पूरै कर्जा तिर्न निर्देशन दिएकोप्रति आपत्ति जनाउँदै भने, ‘बैंकलाई कुनै समस्या छैन भने राष्ट्र बैंकले यस्तो निर्देशन दिनु अस्वाभाविक हो।’

घरजग्गा र सेयर बजार

‘रियल स्टेट (घरजग्गा) क्षेत्रमा अनावश्यक लगानी हुँदा मूल्य घट्नु स्वाभाविक हो,’ महतले भने, ‘तर लगानीकर्ताहरू घाटा मान्न तयार छैनन्। नीति बनाउँदा यथार्थ स्वीकार्न सक्नुपर्छ।’

सेयर बजारको नियमन कमजोर रहेको र कमजोर कम्पनीका सेयर मूल्य बढिरहेकोप्रति उनले चिन्ता व्यक्त गरे। ‘अब उत्पादन क्षेत्रमा काम गर्ने, वास्तविक लगानीकर्तालाई सहुलियत दिने नीति आवश्यक छ,’ महतले स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस्