सहकारी दिवसमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना « Arthapath.com
२० चैत्र २०७६, बिहीबार

सहकारी दिवसमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना



काठमाडौं । बिहीबार ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा स्थापना भएको उक्त केन्द्रलाई बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुभारम्भ गरेकी छिन् ।

केन्द्रको शुभारम्भ गर्दै मन्त्री अर्यालले सहकारी सेवामूलक संस्था हो भन्ने पहिचान दिने अवसर भएको भन्दै सहकारी दिवसका दिन कोरोना उपचार केन्द्रको स्थापना गरिएको बताइन ।

विश्व नै संकटमा परेको बेला नेपालमा लगाइएको लकडाउनका कारण जोखिम कम गर्न सजिलो भएको भन्दै मन्त्री अर्यालले यसबाट जनतामा केही अप्ठ्यारो परेपनि यसले कालान्तरमा फाइदा पुग्ने भएकाले नआत्तिन आग्रह गरिन । सहकारी दिवसको अवसरमा शुभारम्भ गरिएको कोरोना नियन्त्रण सहकारी केन्द्रमा सेवा लिन र सहयोग गर्न समेत मन्त्री अर्यालले त्यस अवसरमा आग्रह गरिन ।

त्यस अवसरमा भेन्टिलेटर, पिपिई लगायतको सामग्री हस्तान्तरण गरिएको समेत गरिएको छ । कोरोनाको महामारीलाई नियन्त्रण गर्नका लागि सहकारी अभियानको ऐक्यबद्धतामा उक्त सेन्टरको स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी व्यवस्थापना समितिका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन ।


प्रतिक्रिया दिनुहोस्