उमागौरी कृषि सहकारी ठगी प्रकरण : अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान गर्न अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह र सदस्यहरू जहदा–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी र धनपालथान–२ का जितमान ठाकुरविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सहकारीको लेखा समितिका संयोजक विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।
यो सहकारीको ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि जोडिएकी छन् । उनीविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छैन । २०६८ सालमा स्थापित उमा गौरी कृषि सहकारीमा अञ्जला दुई कार्यकाल सदस्य थिइन्। सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।