एलाइभ सहकारीले एकैपटक सम्पन्न गर्यो दुई आर्थिक वर्षको साधारण सभा

काठमाडौं । एलाइभ वचत तथा ऋण सहकारी संस्था लिमिटेडले एकैपटक दुई वर्षको साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाले १५औँ र १६औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । काठमाडौं महानगरपालिका–२७ अशनमा केन्द्रीय कार्यालयको सहकारीले शनिबार आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को वार्षिक साधारण सभा एकैसाथ सम्पन्न गरेको हो ।
संस्थाका उपाध्यक्ष दलबहादुर श्रेष्ठको सभापतित्वमा कार्यालय प्राङ्गणमै साधारण सभा सम्पन्न गरिएको संस्थाका प्रबन्ध निर्देशक उमेश खड्काले बताए ।
उनका अनुसार साधारण सभामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र संस्थाका प्रबन्ध निर्देशकका तर्फबाट विभिन्न प्रतिवेदनहरू पेश गरिएका थिए । ती सबै प्रतिवेदनहरू व्यापक छलफलपछि सर्वसम्मतरूपमा पारित गरिएको छ ।
संस्थाले आव २०७९–८० मा ७६ लाख ७४ हजार र आव २०८०–८१ म २ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हाल संस्थाको सेयरपुँजी चार करोड ४२ लाख ५१ हजार रुपैयाँ कायम भएको छ ।
संस्थाभित्रको केही आन्तरिक समस्याका कारण गत आर्थिक वर्षको साधारण सभा समयमै हुन नसकेकाले दुईवटै आर्थिक वर्षको साधारण सभा एकैपटक उपाध्यक्ष श्रेष्ठले बताए ।
‘केही वर्षयता सहकारीप्रति आमरूपमा देखिएको समस्याका कारण एलाइभ बचत तथा ऋण सहकारी संस्थामा पनि केही समस्या उत्पन्न हुनपुग्यो । त्यसकारण हामीले समयमै साधारण सभा गर्न सकेका थिएनौँ,’ उपाध्यक्ष श्रेष्ठले भने,‘यसबीचमा संस्थाभित्र जेजस्ता समस्या आए पनि अहिलेसम्म संस्थालाई निरन्तरता दिइँदै आएको र आगामी दिनमा थप सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता गर्छौ ।’