इमेज सहकारीका बचतकर्ताको १ करोड रकम फिर्ता

काठमाडौं । बाग्लुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको एक करोड रुपैयाँ फिर्ता गरेको छ। सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो।
ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख रुपैयाँ प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित संघर्ष समितिले जनाएको छ । दुई दिनमा बचतकर्ताको एक करोड रुपैयाँ फिर्ता गरिएको छ ।
गल्कोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको छ । सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मिना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्नेगरी सम्झौतासमेत गरिएको छ।
बचतकर्ताको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार तीन सय ४० बराबरको रकम घरसारमा मिलेर पाएको जनाउँदै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकमसमेत घटेको छ। सहकारीका अध्यक्ष नेपाली पुर्पक्षका लागि अहिले थुनामा छन्।